स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको हो।
मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन्। अस्पतालमा खेर गइरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिन अघि पुनसँग आग्रह गरेका थिए। त्यस लगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो।
अब केन्द्रले हाल मन्त्रालय अन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ। त्यसपश्चात् मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरूले मर्मत गर्नेछन्।
हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरे।
'देशको सीप प्रयोग गरेर स्वदेशमै केही गर्न खोजिरहेका वैज्ञानिकहरूको योगदानलाई यो राज्यका तर्फबाट कदर हो', मन्त्री पौडेलले भने, 'स्वदेशी सीपमा कम खर्चमा उपकरणको मर्मत हुने आशा लिएको छु।'
'केन्द्र प्रमुख पुनले राज्यले आफूहरूलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुसी प्रकट गरे। राज्यले हामीलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको छ', उनले भने, 'अब हामी हाम्रै श्रोत साधन र प्राविधिकको उपयोग गरेर मर्मत गर्नेछौँ।'
उनले यसले आफूहरूलाई हौसला दिएको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिए।
प्रकाशित: ५ भाद्र २०८१ १४:१४ बुधबार