४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

के हो हैजा संक्रमण ? डा. पुन भन्छन्, नियन्त्रणका लागि जीवनजल अमृत समान

पछिल्लो समय हैजा सङ्क्रमितको संख्या दैनिक रुपमा बढीरहेको छ। देशभरि शुक्रबारसम्ममा २६ जनामा हैजा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये सबैभन्दा बढी संक्रमित ललितपुरमा रहेका छन्। ललितपुरमा मात्रै हैजा सङ्क्रमितको संख्या १४ पुगेको छ। यस्तै धनगढीमा ८, प्युठानमा ३ र काठमाडौंमा एक जनामा हैजा देखिएको छ। शुक्रबारमात्रै ४ जनामा संक्रमण देखिएको हो।  

सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन नेपालमा बाढी, पहिरो र डुबानका घटनाहरु भइरहँदा हैजा लगायतका रोगहरु देखिएको बताउँछन्। अब पनि पानी धेरै परेर यी घटनाहरु भएमा हैजा संक्रमण बढ्ने उनको भनाइ छ।

पुनले भने, ‘अहिलेको अवस्थामा बाढी, पहिरो र डुबानका घटनाहरु बढीरहेका छन्। त्यसमा पनि घरघरमा पानीहरु पस्ने भइरहेको छ। अझै यो क्रम बढ्यो भने हैजा लाग्नेको संख्या पनि बढ्न सक्दछ र हैजा लाग्ने जोखिम लम्बिदै जान्छ।’

शहरी क्षेत्रमा जोखिम झन बढी रहेको पुन बताउँछन्। शहरी क्षेत्रमा बाहिरका खानेकुराहरु धेरै खाने हुँदा डुबानले पानीसँगै खानेकुरामा पनि प्रभाव पार्ने उनको भनाइ छ।

‘शहरी क्षेत्रमा यसको प्रभाव अझै बढी भएको देख्छु मैले। यहाँ खानेकुराहरु हामीले धेरै बाहिरको खाइरहेका हुन्छौं। पानीसँगै हुने डुबानले खानेपनिसँगै खानेकुरालाई पनि प्रभाव परिरहेको हुन्छ। शहरमा झरी पर्दा पानी ओभर फ्लो भएर घरघरमा पस्ने हुन्छ। यसले हैजा लगायतका रोगहरु लाग्ने वातावरण देखिएको छ। यो क्रम लम्बिने हो भने हैजा संक्रमणको जोखिम पनि लम्बिने देखेको छु, उनले भने।  

के हो हैजा ?

हैजा भिब्रियो कलेरा नामको ब्याक्टेरियाबाट लाग्ने गर्दछ। यो सामान्यदेखि कडा खालको सम्म हुन सक्ने पुन बताउँछन्। हैजा प्रायः भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने गर्दछ।

सरसफाईको अभाव, सफा पिउने पानीको अभाव तथा गरीबीले यसको जोखिमलाई बढाउने गर्दछ।

हैजा हुँदा मुख्यतयाः पखाला हुने गर्छ। हैजा लागेको केही दिनसम्म निरन्तर तथा ठूलो मात्रामा पातलो दिसा लाग्ने गर्दछ। हैजाका कारणले लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ।

यसका कारण आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने पनि हुन सक्छ। शरीरमा भएको जलवियोजनका कारण छाला निलो भएर जान सक्छ।  

हैजाका लक्षणहरु  

हैजाको कीटाणु शरीरमा प्रवेश गरेको केही घण्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखिने पुन बताउँछन्। त्यसपछि एक दुई हप्तासम्म गाह्रो बनाउने बताउँदै उनले कतिपयलाई लक्षण नै नदेखिने पनि हुन सक्ने उल्लेख गरे।

कतिपयलाई कडा लक्षण पनि देखिने गर्छ। कडा लक्षण देखिएमा भने अस्पताल जानुपर्ने पुनको सुझाव छ। कडा लक्षण देखिएमा केही समयकै अन्तरालमा बान्ता हुने गरेको पनि उनले बताए।

हैजा भएका व्यक्तिलाई मुख्यतयाः यी लक्षणहरु देखिने गर्छन् ।  

–चौलानी पानी जस्तो दिशा लाग्ने।

–वकवाक लाग्ने  

–बान्ता हुने  

–मांशपेशी बाउँडिने  

–बारम्बार झाडापखाला गराउने  

कसरी फैलन्छ हैजा  

मुख्यतयाः सरसफाइको अभावका कारण हैजा लागेको मानिसको दिसा मिसिएर प्रदुषित भएको खाना वा पानीबाट मानिसमा सर्ने गर्दछ।

हैजा साधारणतयाः कीटाणुयुक्त खाना वा पानीबाट मानिसमा सर्ने गर्दछ। विकसित मुलुकहरूमा हैजा प्रदुषित खानाका कारणले लाग्ने गर्दछ भने विकासोन्मुख देशहरूमा प्राय जसो पानीका कारणले यो रोग सर्ने गरेको पाइन्छ।

हैजा लागेका मानिसहरूलाई प्राय पखाला लाग्ने गर्दछ। पानी जतिकै पातलो दिसा यदि अरूले प्रयोग गर्ने पानीमा मिसियो भने यो रोग सर्ने सम्भावना हुन्छ।

साधारणतयाः यो रोगको स्रोत हैजा लागेका बिरामी नै हुने गर्दछन्। यदि रोगीको दिसा सिधै जमिनमुनिको पानी वा खानेपानीको स्रोतमा मिसियो भने हैजा फैलिन सक्छ।

हैजा लागेको व्यक्तिले कसरी गर्ने उपचार ?  

हैजा लागेको कतिपयले घरमै पनि उपचार गर्न सक्दछन्। तर यो भने हैजाका सामान्य लक्षण भएकाहरुले गर्न सक्ने डा. पुन बताउँछन्। तर कडा लक्षण भएकाहरुलाई भने अस्पतालमै उपचार गर्न उनको सुझाव छ।

हैजा लागेका बिरामीले घरमा बस्दा धेरै मात्रामा जीवनजल खानुपर्ने उनको सुझाव छ। अन्य एन्टिबाइटिक खानुभन्दा पनि जीवनजल खादा राम्रो हुने पुन बताउँछन्। हैजाका लागि जीवनजल अमृतजल हुने उनको भनाइ छ।

त्योसँगै अन्य झोलयुक्त खानेकुराहरु पनि धेरै मात्रामा खानुपर्ने पुन बताउँछन्। तर धेरै मसालेदार, चिल्लो खानेकुरा भने खान नहुने उनको भनाइ छ। पखालाले गर्दा शरीर कमजोर भइराखेको हुनाले त्यस्तो खाना नखान उनको सुझाव छ। पेट खाली हुने र पचाउन पनि गाह्रो हुँदा त्यस्तो खाना नखान उनको सुझाव छ।

हैजाबाट बच्न के गर्ने  

हैजाबाट बच्न मुख्यतयाः तीन कुरामा ध्यान दिनुपर्ने डा पुन बताउँछन्। खानेपानी, खानेकुरा र त्यसमा गरिने अनुगमनलाई ध्यान दिन सके हैजा नियन्त्रण गर्न सक्ने उनको बुझाइ छ।

पानी पिउदा विभिन्न विधिहरु अपनाएर जस्तै उमाल्ने, पीयुसको प्रयोग, फिल्टर गरेर खानुपर्ने उनको सुझाव छ। त्यस्तै अहिले जारको पानी कस्तो छ त्यसमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।

हैजाबाट बच्न व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनुपर्ने पर्छ। शौचालय व्यवस्थित बनाउने, शौचालय गएर आएपछि राम्रोसँग हात धुने गर्नुपर्ने पुनले बताए।

उनले भने, ‘कतिपयलाई लक्षण नदेखिएको हुन्छ। तर हैजाको जीवाणु भने शरीरमा भइरहेको हुन्छ। उसले गर्दा अन्यलाई पनि हैजा सर्न सक्छ। त्यसैले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ।’

अनुगमनका कुरामा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। सम्बन्धित निकायहरुले खानेपानिको, खानेकुराको अनुगमन गरेमा हैजाबाट बच्न सक्ने उनले बताए।  

प्रकाशित: १८ श्रावण २०८१ १६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App