२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

अस्पतालबाट भागेका तीन जनामा हैजा पुष्टि

र्‍यापिड परीक्षणमा हैजा देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पतालमा उपचाररत् रहँदा भागेका तीनजनामा कल्चर परीक्षणमा पनि हैजा पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तीनैजना बिरामीमा हैजा पुष्टि भएको जनाएको छ। उनीहरूको कल्चर परीक्षणको रिपोर्ट बिहीबार आएको हो। 

यस्तै,परीक्षण गरिएका अर्का एकजनामा भने हैजा पुष्टि नभएको महाशाखाको महामारी शाखाका प्रमुख डा. मुकेश पौडेलले जानकारी दिए। ललितपुरको ठैबस्थित नशारहित समाज पुनःस्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर) मा साउनको १ गते एकजना बिरामीमा झाडावान्ताको लक्षण देखिएको थियो । परीक्षण गर्दा उनमा हैजा देखियो। त्यसपछि उनलाई टेकु अस्पताल ल्याएर आइसोलेसनमा राखी उपचाररत् छन्। 

उनी अहिले सञ्चो हुँदैगएका छन् । उनी डिस्चार्ज हुने अवस्थामा रहेको अस्पतालले जनाएको छ। त्यसपछि सोही पुनःस्थापना केन्द्रमा पालैपालो थप छ जनामा पनि यस्तै लक्षण देखिएको थियो। उनीहरूमा र्‍यापिड परीक्षण गर्दा चारजनामा हैजाको संकेत भेटिएको थियो। त्यसपछि चारै जनालाई पनि टेकु अस्पताल ल्याइएको थियो। तीमध्येका तीनजना मंगलबार राति भागेका थिए। भागेकाहरूको अवस्था पत्ता लागिसकेको महाशाखाले जनाएको छ। 

तीनजना मध्येका एक जना केएमसी अस्पतालमा उपचार गरी फर्केका छन्, भने थप एक जना घरमा गई उपचाररत् छन्। अर्को एकजना सामान्य भइसकेका छन्। ५० वर्षीय एक पुरुषलाई भने गम्भिर समस्या देखिएपछि पाटन अस्पताल रेफर गरिएको थियो। उता पुनःस्थापना केन्द्रमा प्र्रयोेग हुने पानीमा समेत दिसाजन्य कीटाणु भेटिएपछि वरिपरिको वातावरण निर्मलीकरण गरिएको जिल्ला स्वास्थ्य ललितपुरले जनाएको छ।

 यो काममा कार्यालयले गोदावरी नगरपालिकासँग पनि समन्वय गरेको छ। सचेत रहन आग्रह वर्षात्को मौसम कायम रहेको र गर्मी महिनामा कीटाणुजन्य रोगकोे संक्रमण सजिलैै हुने भएकोले थप सचेत हुन महामारी शाखाका प्रमुख डा. पौडेलले अपील समेत गरेका छन। ‘वर्षामा बाढीको कारण पानीको मुहानमा दिसा मिसिन सक्छ, यस्तो पानीकोे प्रयोगले पानीजन्य बिभिन्न रोग लाग्छ’, उनले भने। 

यो अवधिभर पानीजन्य रोगवबाट बच्नुपर्ने उनको सुझाव छ। जसका लागि उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने, शौचालय गइसकेपछि, खाना खानु र खाना खाइसकेपछि साबुनपानीले हात धुने, घर वरपरको वातवरण सफा राख्ने, बासी तथा सडेगलेका खाना नखाने उनले सुझाए।

प्रकाशित: १० श्रावण २०८१ १३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App