४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ललितपुरमै भेटियो पाँच जनामा हैजा, कारण–इनारको दूषित पानी

ललितपुरको ठैबस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन) सेन्टरमा हैजा देखिएको छ।

गोदावरी नगरपालिका–१४, ठैवमा रहेको नशारहित समाज पुनर्स्थापना केन्द्रका पाँच जनामा हैजा पुष्टि भएको वडाध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए।

वडाध्यक्ष बज्राचार्यका अनुसार केन्द्रमा बसिरहेका एक जना युवामा पखाला लाग्ने, बान्ता हुने, वाकवाकी लाग्ने लक्षण देखिएपछि साउन १ गते अस्पताल लगिएको थियो। उनमा हैजाको जीवाणु रहेको पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

त्यसपछि थप छ जनामा त्यस्तै प्रकारको लक्षण देखिएपछि उनीहरूको पनि परीक्षण गर्दा चार जनामा हैजाको जीवाणु रहेको पुष्टि भएको बज्राचार्यले बताए। उनले भने, ‘उहाँहरूलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगिएको छ।’

उक्त पुनर्स्थापना केन्द्रमा हैजा फैलनुको कारण दूषित पानी रहेको उनले बताए। ‘त्यहाँ इनारको पानी प्रयोग हुने रहेछ। पिउनेदेखि खाना पकाउने र तरकारी पखाल्नेसम्म त्यहीँ पानी प्रयोग हुने देखियो,’ वडाध्यक्ष बज्राचार्यले भने।

अहिले उक्त केन्द्रबाट पानी, शौचालय, सुत्ने कोठा सबै ठाउँबाट नमुना लगेर परीक्षण थालिएको वडाध्यक्ष बज्राचार्यले बताए।

प्रकाशित: ८ श्रावण २०८१ १८:१८ मंगलबार

#cholera Disease #lalitpur