२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

टीकापुर अस्पतालको सेवा सुचारु

टीकापुर अस्पतालको सेवा सुचारु भएको छ। अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै हिजोदेखि ठप्प रहेको आकस्मिक सेवाबाहेकको सेवा सुचारु भएको जानकारी दिएको छ।

अस्पताल हातामा प्रवेश गरेर गालीगलौज र डर धम्की दिएको भनिएका व्यक्तिहरुले कमी कमजोरी भएको स्विकारे पछि दुई पक्षबिच सहमति जुटेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिए। आगामी दिनमा अस्पतालको सेवामा असर पर्ने खालका कुनै गतिविधि नगर्ने गरी दुई पक्षबिच लिखित सहमति समेत भएको छ।

अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भनिएका टीकापुर नगरपालिका वडा नम्बर १ नयाँ टीकापुरका ४५ वर्षका पदमबहादुर बोहोराका आफन्त विगतमा भएको सहमतिका कार्यान्वयन माग गर्दै अस्पताल पुगेका थिए।

बोहोराको असार १ गते राति उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो। उनी बिरामी परेपछि सोही राति करिब सवा १० बजे उपचारकालागि टीकापुर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए।

उनको आकस्मिक कक्षमा उपचार भएको थियो। उनी मधुमेह र उच्च रक्तचापको दीर्घ बिरामी रहेको अस्पतालको विज्ञप्तिमै भनिएको छ। उपचारकै क्रममा बोहोराको स्वास्थ्य अवस्था थप जटिल बन्दै गयो। उनलाई अस्पतालले थप उपचारका लागि अन्यत्र रेफर गरेको थियो।

अस्पतालमा कार्यरत चिकित्सकले गलत औषधी प्रयोग गरेका कारण मृतक बोहोराको स्वास्थ्य अवस्था झन जटिल बनेर ज्यान गएको आफन्तको आरोप छ। उनीहरुका अनुसार मृतक बोहोराले आकस्मिक कक्षमा उपचार भइरहेको बेला आफ्नो स्वास्थ्य समस्याका बारे चिकित्सकलाई आफै जानकारी दिएका थिए।

मृतकका आफन्त नवराज ठकुल्लाले अस्पतालको सेवा प्रभावित नहोस् भन्नका लागि आफूहरू सहमति गर्न तयार भएको बताए। उनले आफ्ना कुरा राख्न गएको बेला उल्टै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट बहादुर सोडारीले अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेको बताए।

‘हामी सामान्य रुपमा कुरा राख्न मात्रै गएकाथियौं’ उनले भने–‘अध्यक्षले अपशब्द प्रयोग गरेर माहौल उत्तेजित बनाए।’

उनका अनुसार अध्यक्षले अपशब्द प्रयोग गरेपछि आफूहरूसँगै रहेका मृतकका आफन्त उत्तेजित भएका हुन।

बोहोराको निधन भएपछि केही रकम क्षतिपूर्ति दिने र उनका आफन्तलाई रोजगारी दिने मौखिक सहमति भएको बताइएको छ। तर अध्यक्ष सोडारीले भने यस्तो कुनै सहमति नभएको बताएका छन्।

यो कैलालीको पूर्वी भेगमा अवस्थित बिरामीको अत्याधिक चाप हुने अस्पताल हो। यहाँ कैलालीका मात्रै नभएर छिमेकी बर्दियाका बिरामीहरू समेत उपचारका लागि आउने गर्छन्। 

प्रकाशित: ८ श्रावण २०८१ १४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App