१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

स्कोलियोसिस अर्थात् मेरुदण्ड बाङ्गो हुने समस्या र यसको उपचार विधि

स्कोलियोसिस अर्थात् मेरुदण्ड बाङ्गो हुने समस्या के हो ? 

प्रत्येक वर्षको जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा अन्तर्राष्ट्रिय रुपमा नै मनाउने गरिएको छ। स्कोलियोसिस भनेको मेरुदण्ड बाङ्गो हुने समस्या हो।

स्कोलियोसिस अर्थात् मेरुदण्ड बाङ्गो हुने समस्या धेरै कारणले हुने गर्दछ। स्कोलियोसिसको समस्या धेरै जसो यो सानो बालबालिकाहरूमा देखिन्छ। यो जन्मदेखि नै पनि हुन सक्छ तर धेरैजसो १० वर्ष उमेर नाघिसकेको बालबालिकाहरूमा देखिन्छ। जन्मजात बाहेक नशासम्बन्धी समस्याको कारण पनि देखिन्छ। यो समस्या हामीले बढी मात्रामा १० देखि २० वर्षसम्मका बालबालिकामा देखिने गरेको पाइन्छ।  

जसलाई हामीले (Idiopathic Adolescent Scoliosis) भन्छौँ। यसको अर्थ इडियोप्याथिक भनेको अहिलेसम्म कारण के हो भनेर पत्ता लागेको छैन, एडोलोसेन्ट भनेको १० वर्ष पुरा भएका बालबालिकालाई भनिन्छ  र स्कोलियोसिस भनेको मेरुदण्ड बाङ्गो हुने समस्या हो।

यसको रेसियो छोराहरूको तुलनामा छोरीहरूमा बढी मात्रामा देखिन्छ। एक जना छोरामा देखियो भने सात जना छोरीहरूमा यो समस्या देखिन्छ।  

स्कोलियोसिस कसरी थाहा पाउने ? 

यो घरमा बाबुआमाले अथवा स्कुलमा शिक्षक तथा साथीहरूले पत्ता लगाउँछन्। कसरी पत्ता लगाउँछन् भन्दा लुगा लगाउँदा नमिल्नु, एउटा कुम माथि अर्को तल देखिनु, एकातिरको ढाडको भाग माथि उठ्नु लगायत यसका लक्षणहरू पर्दछन्। स्कोलियोसिस सजिलै पत्ता लगाउने उपाय भनेको बच्चालाई अगाडि निहुरिन लगाउने र पछाडिबाट हेर्दा एकातिरको ढाड माथि अर्कोतिर तल गएको देखिन्छ। यो छोराहरूमा भन्दा छोरीहरूमा ७ गुणा बढी देखिने गरेको पाइन्छ।

यसरी स्कोलियोसिसको समस्या देखिएको छ भने अस्पतालमा गएर चिकित्सकको सल्लाह लिन जरुरी छ। यदि मेरुदण्डको भाग बाङ्गो हुँदै गएको अवस्थामा यसले बच्चाहरूको फोक्सोको विकासलाई असर पुर्याउछ  र एउटा स्टेजमा पुगेपछि फोक्सो र मुटुको कामलाई असर पुर्‍याउने भएकाले यसलाई समयमै पत्ता लगाएर उपचार गर्नु एकदमै जरुरी छ। 

यसको उपचार कसरी गरिन्छ ? 

यसको उपचार कति डिग्री बाङ्गो भएको छ त्यसमा भर पर्छ। हामीले ढाड कति डिग्री बाङ्गो छ भनेर एक्स (रे गरेर हेछौँ। ढाड बाङ्गो हुने सबै समस्याको शल्यक्रिया मात्र गर्नुपर्छ भन्ने हुँदैन। २५ डिग्रीभन्दा सानो छ भने यसलाई हामीले निरीक्षणमा राख्छौँ। यस्तो केश आएमा हामीले फलोअपमा राखेर उपचार गछौँ।

यदि ढाड बाङ्गो हुने समस्या बढ्दै गएको अवस्था छ र २५ देखि ४० डिग्रीसम्म भएमा हामीले पेटी लगाउन सुझाव दिन्छौँ। जसलाई हामीले स्पाईरल ब्रेस भन्छौँ। स्पाइरल ब्रेसले बाङ्गोपन हुनबाट रोक्छ। यदि बाङ्गोपना ५० डिग्रीभन्दा माथि गएको छ भने कुनै पनि उमेरमा शल्यक्रिया (अप्रेसन) गर्नु जरुरी छ।

अथवा बाङ्गोपनालाई अझै बढ्नबाट रोक्न जरुरी छ। यदि रोकिएन भने पछि गएर यसले फोक्सोको विकास र मुटुको कामलाई असर गर्ने गर्छ। स्कोलियोसिसको कारण के हो भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै क्रममा छ। नेपाल सहित विश्वभर यो समस्या देखिएको छ।

यसैले, स्कोलियोसिस अर्थात् मेरुदण्ड बाङ्गो हुने समस्यालाइ समयमै पहिचान गरौँ र समयमै यसको उपचार गरौँ।

(डा विनोद विजुक्छे, चिफ कन्सल्टेन्ट,अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् साथै उनी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका मेडिकल डाइरेक्टर समेत हुन्।) 

प्रकाशित: ४ असार २०८१ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App