१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

निःशुल्क स्वास्थ्य सेवाको माग गर्दै जुम्ला पुगे साइकलयात्री माधवप्रसाद

माधवप्रसाद कुइँकेल नेपाल साइकलयात्री हुन्। उनी चैत २७ गते दिउँसो साढे ३ बजे जुम्ला आइपुगेका छन्। सिन्धुपाल्चोक इन्द्रावती– ४ नवलपुरका ५९ वर्षका कुइँकेल साइकल र नेपाली झन्डासहित खलंगामा भेटिए।

२०८० फागुन २७ देखि साइकल यात्रा सुरु गरेका उनी २२ जिल्ला पुगिसकेका छन्। उनले आफ्नै गृह जिल्लाबाट साइकल यात्रा सुरु गरेका हुन्। देशका आम जनतालाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्ने तथा बिरामीले निःशुल्क एम्बुलेन्स सेवा पाउनुपर्ने माग गर्दै देशभर साइकल यात्रा गर्न निस्किएको उनले बताए।

डोल्पा र मुगु हुँदै तीन दिनमा जुम्ला आइपुगेको उनले बताए। उनी भन्छन्, ‘देशका विकट बस्तीमा मानिसले सुलभ स्वास्थ्य सेवा पाउन सकेका छैनन्। निःशुल्क एम्बुलेन्स सेवा पाउन सकेका छैनन्। उपचार नपाएर दैनिक सयौंको मृत्यु हुने गरेको छ। यस अवस्थामा स्वास्थ्य सेवालाई निःशुल्क नबनाएसम्म यो समस्याको समाधान नहुने भएकाले यसका लागि पनि यो अभियान अगाडि बढाएको हुँ।’

यात्रा क्रममा उनले जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई भेटेर यात्राको उद्देश्यका बारेमा स्पष्ट पारे। इन्द्रावती सामुदायिक सेवा सञ्जाल नामक संस्थामार्फत अनाथ, असहाय, गरिब, हिंसापीडित महिला, बालबालिका, दलित तथा आकस्मिक विपद्का घटनामा परेकालाई तत्काल एम्बुलेन्स सेवा उपलब्ध गराउने अभियान लिई देशभर साइकल यात्रा गरेको उनले बताए।

सबै जिल्लाका जनप्रतिनिधि, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई भेटेर साइकल यात्रा गर्नुको उद्देश्यका बारेमा जानकारी गराउँदै आएको कुइँकेलले बताए। उनले सबै जिल्लाका सदरमुकाम पुग्ने र जिल्लाका प्रबुद्ध व्यक्तिलाई भेटेर स्वास्थ्य समस्याबारे छलफल गरेको बताए। त्यससँगै उनले स्थानीय प्रशासनसँग आफू जिल्ला सदरमुकाम पुगेको सिफारिससमेत लिने गरेका छन्।

साइकल यात्रा सम्पन्न भएपश्चात् एक ज्ञापन पत्र तयार पारी स्वास्थ्यमन्त्री र गृहमन्त्रीसमक्ष बुझाउने आफ्नो तयारी रहेको उनले बताए।

प्रकाशित: २८ चैत्र २०८० १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App