विश्वका हरेक आठ जनामध्ये एक जनामा मोटोपन रहेको एक अध्ययनले देखाएको छ। पछिल्लो समय विश्वमा मोटोपन लगातार बढेको मानिए पनि अध्ययनको नजिताले तीव्र गतिमा यसको बढोत्तरी भएको देखाएको छ।
प्रसिद्ध वैज्ञानिक जर्नल द लान्सेटमा हालै प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार सन् २०१६ मा मोटोपनबाट ८० करोड मानिस प्रभावित रहेकामा सन् २०२२ मा एक अर्ब पुगेको अध्ययनको निष्कर्ष छ।
मानव शरीरलाई नोक्सानी गर्ने हिसाबमा शरीरमा बोसो हुनुलाई मोटोपन भनिने क्यानडास्थित इडमन्टन विश्वविद्यालयका मोटोपन विशेषज्ञ आर्य शर्माले बताए।
विज्ञका अनुसार यो रोगका कारण मुटुरोग तथा टाइप २ डायबिटिजको उच्च जोखिम रहन्छ भने कोभिड–१९ जस्ता सरुवा रोग लाग्ने, हिँडडुलमा बाधा पुग्ने तथा मानसिक स्वास्थ्यमा समेत प्रतिकूल असर पार्दछ।
पछिल्ला केही दशकमा प्रकाशित भएका जनसंख्यामा आधारित ३६ सयभन्दा बढी अध्ययनहरूको समीक्षा गरिएको थियो।
विश्वमा दुई सय देशका २२ करोड २० लाख मानिस सहभागी रहेका यी अध्ययनहरूलाई शोधकर्ताले समीक्षात्मक अध्ययन गरेका थिए। अध्ययनमा हरेक मानिसको शरीरको तौल र उचाइको आधारमा निर्धारण गरिने बडी मास इन्डेक्स (बिएमआई)लाई आधार मानिएको थियो।
मोटोपनका प्रकृतिको समीक्षा गर्ने क्रममा शोधकर्ताले सन् २०२२ मा विश्वका ९० करोडभन्दा बढी मानिसको बिएमआई ३० र त्योभन्दा बढी रहेको पत्ता लगाएका थिए। सामान्यतया २५ भन्दा बढी बिमएआई भएकालाई मोटोपन भएको मानिन्छ।
अध्ययनले पाँचदेखि १९ वर्षका विश्वका कुल १६ करोड बालबालिका तथा किशोरकिशोरी मोटोपनको सिकार भएका देखाएको छ। निश्चित उमेर र लिगको आधारमा विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार यो उमेर समूहमा मोटोपन देखिएको हो।
लैंगिक हिसाबले अध्ययनले देखाएको नतिजा झन् चाखलाग्दो छ। सन् १९९० देखि २०२२ सम्ममा मोटोपनबाट ग्रसित महिलाको संख्या दोब्बर बढेको छ भने पुरुषमा यो तीन गुनाले बढेको छ। यसैगरी बालबालिका र किशोरकिशोरीमा यो चार गुनाले बढेको पाइएको छ। यो अवधिमा विश्वमा कम तौल भएका मानिसको संख्या घटेको देखिएको छ।
‘एउटा अवस्थाबाट अर्काे अवस्थामा रूपान्तरण हुने गति भएकाले हामीले कम तौल हुनु र मोटोपन हुनुलाई दुई छुट्टाछुट्टै कुरा मान्न हुँदैन,’ इम्पेरियल कलेज लन्डनका जनस्वास्थ्य विषयका प्राध्यापक मजिद इजाती भन्छन्। इजातीका अनुसार मोटोपनको पछिल्लो तथ्यांक चिन्ताको विषय हो। ‘सरकार र समाजले यो विषयलाई सम्बोधन गर्नुपर्छ,’ उनने भने।
मोटोपन रोकथामका लागि नयाँ विगोभी लगायतका औषधी प्रभावकारी देखिएका छन्। तर, ती औषधीको चर्काे मूल्य तथा विश्वव्यापी रूपमा यसको प्रयोगका लागि निर्देशिकाको अभावका कारण औषधीको प्रयोगबाट विश्वको ठूलो जनसंख्या वञ्चित रहेको इजातीको तर्क छ।
स्वस्थ खानाका लागि विश्वको ठूलो जनसंख्याको सीमित पहुँच हुनु तथा औषधी महँगो हुनुले यो समस्या झन् चर्किएको जनस्वास्थ्यविद इजाती ठान्छन्। ‘खानपिन र रहनसहनमा आएको परिवर्तन, अल्पनिद्रा, अत्यधिक तनाव, घरमा कम समय रहँदा बाहिरको खानामा अत्यधिक निर्भर रहनु यो समस्याको कारक हुन्,’ उनी थप्छन्।
‘खाना खाने इच्छालाई हामीले हेर्यौं भने यसको जटिल जीवविज्ञान रहेको देखिन्छ। यो जीवविज्ञानलाई वातावरणीय परिवर्तनले प्रभावित गरेको हुन्छ,’ उनले साइन्स न्यूजलाई भनेका छन्।
(द लान्सेट जर्नलबाट साभार)
प्रकाशित: २२ फाल्गुन २०८० ०७:५७ मंगलबार