२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

क्यान्सर भएका ५० प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर

चितवनस्थित बिपी कोइराला मोमोरियल क्यान्सर अस्पतालमा कार्यरत बाल क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर पौडेलले नेपालमा क्यान्सर भएका बालबालिका मध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँचभन्दा बाहिर रहेका जानकारी दिएका छन्।

उनले भने, ‘नेपालमा बर्सेनि करिब एक हजार पाँच सयजना बालबालिकालाई क्यान्सर हुने गरेको अनुमान छ। यसमध्ये अस्पतालको पहुँचमा आधा मात्र आउँछन्। अस्पताल आउनेमध्ये बिपी कोइराला क्यान्सर अस्पतालमा चार सयको हाराहारीमा मात्र छन्।’

अस्पतालद्वारा क्यान्सर भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गर्न बिहीवार आयोजित कार्यक्रममा उनले भरतपुर क्यान्सर अस्पताल आएका ६० प्रतिशत बालबालिकालाई क्यान्सर निको हुने गरेको जानकारी दिए। उनका अनुसार समग्र नेपालमा निको हुने दर ३० प्रतिशत मात्रै रहेको छ। तर निको हुने दर बढाएर ८० प्रतिशत पु¥याउन सकिने उनको भनाइ छ।

‘अहिले अभिभावकमा चेतनाको कमी छ। आधा बिरामी त अस्पताल नै आउँदैनन्। आएका पनि उपचार प्रक्रिया पूरा नगरी बीचमै छोड्छन्’, उनले भने, ‘अस्पतालमा शय्याको सङ्ख्या थप गर्ने र उपचार सर्वसुलभ बनाउने हो भने बाल अर्बुदलाई न्यूनीकरण गर्न सकिन्छ।’

विश्व बाल क्यान्सर दिवसका अवसरमा आयोजित सो कार्यक्रममा अभिभावकबीच जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको थियो। नेपालमा बालबालिकाको क्यान्सर रोगको उपचार बिपी कोइराला मेमोरियल क्यासन्र अस्पताल भरतपुरसँगै भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल, कान्ति बाल अस्पताललगायत उपचार हुन्छ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बाल क्यान्सरसम्बन्धी विश्वव्यापी अभियानको ‘फोकस’ राष्ट्रका रुपमा समेत सूचीकृत गरेको छ। सरकारले बालबालिकाको क्यान्सर उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ।

सरकारले एक लाखसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ। डा. पौडेलका अनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावका कारणले उपचार नगरीकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन्।

नेपालमा बर्सेनि २५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेकामा तीमध्ये एक हजार पाँच सय बालबालिका रहने गरेका छन्।  

कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्तपालका कार्यकारी निर्देशक डा. शिव पौडेल, उपनिर्देशक डा. उमेश नेपाल, अभिभावक तथा बिरामीहरूको उपस्थिति रहेको थियो। रासस

प्रकाशित: ४ फाल्गुन २०८० ०६:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App