१२ मंसिर २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरले लिन्छ दैनिक ६ जना महिलाको ज्यान

एचपीभि खोप आगामी आर्थिक वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिने

महिलाको मृत्यु गराउनेमध्येको प्रमुख कारणमध्येको एक हो, पाठेघरको मुखको क्यान्सर। ग्लोबल क्यानको तथ्याङ्क अनुसार नेपालमा प्रत्येक दिन कम्तिमा ६ जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारण हुने गर्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक १ लाख महिलामध्ये १६ जना पाठेघरको मुखको क्यान्सरबाट प्रभावित हुन्छन् र प्रत्येक १ लाख महिलामध्ये ११ जना महिलाको यसकै कारण मृत्यु हुन्छ। यसलाई न्यूनिकरण गर्न सरकारले गत भदौ २७ मा देशभर रहेका ९ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगायो।

सरकारको तथ्याङ्क अनुसार नेपालमा ९ देखि १४ वर्ष उमेर समूहका झन्डै १७ लाख किशोरीहरू छन्। ती सबैलाई खोप लगाउन सरकारले तयारी गरिरहेको छ।

परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमले आर्थिक वर्ष २०८१/०८२ मा एचपीभि खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्नेगरी तयारी भइरहेको बताए।

उनले सरकारले आफैले खरिद गरेर ल्याउनुपर्ने भएकाले केही समय लाग्ने र आगामी आर्थिक वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्नेगरी तयारी भइरहेको बताए।

उनले भने, ‘सरकारले गत भदौमा लगाएको एचपीभि खोप परीक्षणको रुपमा मात्रै लगाइएको हो। जसको दोस्रो डोज चैत्रमा लगाइने छ। र, सरकारले महिलाहरूको मृत्यु हुने कारणमध्येको प्रमुख पाठेघरको मुखको क्यान्सरलाई न्यूनिकरण गर्न राष्ट्रिय खोप कार्यक्रममा नै यो खोप समावेश गर्ने तयारी गरिरहेको छ।’

एचपीभि खोप किन?

वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.अरुण शाहीका अनुसार ह्युमन प्यापिलोमा भाइरसबाट लाग्ने पाठेघरको मुखको क्यान्सरबाट जोगिन एचपीभिको भ्याक्सिन लगाउनु राम्रो हो। यसले पाठेघरको मुखको क्यान्सरबाट ८० देखि ९० प्रतिशतसम्म जोगाउन मद्दत पुग्छ।

पाठेघरको मुखका कोषिकाको अनियन्त्रित, असामान्य, अनावश्यक रुपले वृद्धि हुनुलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ।

डा.शाहीका अनुसार विभिन्न अध्ययनका अनुसार ९९.९ प्रतिशत पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा भाइरस’ कै सङ्क्रमणले गर्दा हुन्छ।

त्यसैगरी, १ प्रतिशत सानो उमेरमा विवाह गरे, असुरक्षित यौनसम्पर्क, सानै उमेरमा धेरै बच्चा जन्माउने, सरसफाइको कम, धूमपान गर्ने महिलाहरू पाठेघरको मुखको क्यान्सरको जोखिममा बढी हुने डा.शाहीको भनाइ छ।

फोहोर गनाउने पानी आउने, योनी वरिपरि घाउखटिरा आउने, यौनसम्पर्कपछि रगत देखिने, महिनावारीको बीचबीचमा रगत देखिनु, ढाड, कम्मर, तल्लो पेट दुख्नु, हातखुट्टा सुन्निने जस्ता लक्षण देखिए तुरुन्त चिकित्सककोमा जान उनको सुझाव छ।

डा.शाहीले ह्युमन प्यापिलोमा भाइरस ६, ११, १६, १८, ३१, ३३, ४५, ५२ र ५८ नम्बरमा गरी विभाजन गरिएको भन्दै १६ र १८ नम्बरको भाइरस सबैभन्दा बढी खतरनाक हुने गरेको बताए। उनका अनुसार १६ र १८ नम्बरको भाइरसले ७० देखि ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर गराउँछ। यस्तै ३१ र ३३ नम्बरको भाइरसले ८ देखि १० प्रतिशत क्यान्सर गराउने गर्छ।

क्यान्सर लाग्नुभन्दा लाग्नै नदिनका लागि एचपीभि खोप सुरक्षित रहेको र खोप लगाउनु मात्रै पाठेघरको मुखको क्यान्सरबाट जोगिने राम्रो विकल्प रहेको उनले बताए। डा.शाहीले एकजनाले यसको कम्तिमा २ मात्रा लगाउन पनि ८ देखि १० हजार खर्च गर्नुपर्ने तथा सबैको पहुँचमा खोप नहुने भएकाले सरकारले यसलाई निःशुल्क लगाउन सुरु गरेको हुँदा सबैलाई अनिवार्य खोप लगाउन पनि आग्रह गरे।

डा.शाहीका अनुसार हाल नेपाल सरकारले लगाइरहेको खोपले १६ र १८ अनि ३१ र ३३ नम्बरको भाइरसविरुद्ध मात्रै काम गर्ने भएकाले उमेर पुगेका सबैलाई खोप लगाउन आग्रह गरे।

उनले चौथो चरणसम्मको पाठेघरको मुखको क्यान्सर निको हुन सक्ने भएकाले समयमै यसको परीक्षण र उपचार गराउन पनि सल्लाह दिए।

खोप सुरक्षित भएकाले खोप सबैले लगाउनुपर्नेमा उनको जोड छ। तर, जसको उमेर नाघिसकेको छ उनीहरूले बेलाबेलामा स्क्रिनिङ गराउनुपर्ने, क्यान्सर पत्ता लाग्नासाथ उपचार गराइहाल्नुपर्ने उनको भनाइ छ।

सन् २०३० सम्म संसारबाट निर्मुल गर्ने लक्ष्य

विश्व स्वास्थ्य सङ्गठनले अबको ६ वर्षमा संसारबाटै पाठेघरको मुखको क्यान्सरलाई निर्मुल गर्ने लक्ष्य राखेको छ।

सङ्गठनले गुरु योजना तयार पारेर सन् २०३० सम्म ९ देखि १४ वर्ष उमेर समूहका ९० प्रतिशत किशोरीहरूलाई एचपीभि खोप लगाइसक्ने लक्ष्य राखेको छ। यस्तै सो उमेर समूहभन्दा माथिकाले बेलाबेलामा स्क्रिनिङ गर्नुपर्ने र उपचार गर्नुपर्ने गुरु योजनामा समावेश गरिएको छ।

साथै सङ्गठनले हालसम्म सर्भिक्स, सिकोलिन, गार्डासिल र गार्डासिल–९ भ्याक्सिनलाई मान्यता दिएको छ। जसमध्ये नेपालमा सिकोलिन नामक पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइएको थियो।

प्रकाशित: ३ माघ २०८० ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App