१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

निर्माणाधीन अस्पतालमा ठेकेदार हराएकाे सूचना

बेनी अस्पतालको ५० शय्याको निर्माणाधीन भवनमा अहिले काम गर्ने जम्मा पाँचजना मजदुर छन्। दुईजनाले लुगा धुँदै थिए, एकजना आराम र दुईजनाले फोहोर संकलन गर्दै थिए। पाँचजना कामदारलाई पर्याप्त काम गर्ने गरी ठेकेदारले निर्माण सामग्री नदिँदा उनीहरूलाई दिन कटाउन गाह्रो परेको छ।

नेपालको शक्तिशाली ठेकेदारले अटेर गर्दा अलपत्र परेको भवन अहिले झट्ट हेर्दा ‘भूत बंगला’ जस्तै देखिने अस्पतालको हालत हेर्दा केही वर्ष बन्ने छाँटकाँट देखिँदैन।

निर्माण व्यवसायी हराएको सूचनासहितको तस्बिर सार्वजनिक स्थानमा टाँसेर विरोध प्रदर्शन, प्रधानमन्त्रीसहित विभागीय मन्त्रीलाई ध्यानाकर्षण, ठेकेदारलाई पटकपटक लिखित ताकेता, गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद, जनप्रतिनिधि, सरकारी निकायका उच्चपदस्थ कर्मचारीलगायतले चौतर्फी दबाब दिँदासमेत नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष एवम् ठेकेदार रवीसिंहल श्रेष्ठले अटेर गरेपछि भवनले गति लिएको छैन।

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनलाई समेत अटेर गर्ने निर्माण व्यवसायीको दम्भ र सरकारी लाचारीपनका कारण बेनी अस्पतालका बिरामीले सास्ती खेप्नुपरेको छ।

काममा फर्किएको सन्देश दिएर छुटको खेती गरेका निर्माण व्यवसायीसँगको सम्झौता रद्द गर्नसमेत सरकारी निकायलाई फलामको चिउरा चपाएजस्तै भएको छ।

तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँग २१ पुस २०७३ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले १८ करोड ८४ लाख ८ हजार ८९ रूपैयाँमा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरेको थियो।

२० मंसिर २०७६ भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ। निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको तीन वर्ष बितिसक्दा समेत अस्पतालको भवन निर्माण योजनाको काम करिब ६५ देखि ७० प्रतिशत मात्रै सकिएको बेनी अस्पताल विकास समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए। ‘ठेक्का रद्द गरी नयाँ प्रक्रियामा नजाँदासम्म भवन बन्दैन, एउटा ब्लक भए पनि हस्तान्तरण गर्न गरिएको अनुरोधलाई ठेकेदारले बेवास्ता गरेका छन्,’ अध्यक्ष सुवेदीले भने।

भवनलाई पूर्णता दिन अहिलेसम्म गरिएका सबै प्रयास असफल जस्तै देखिन्छ। निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीका कारण जोन अस्पतालसहितका धेरै अवसर गुमेको अध्यक्ष सुवेदीले बताए। अस्पतालको भवन समयमै नसकिँदा अस्थायी संरचनाबाटै बिरामीलाई सेवा दिनुपर्ने बाध्यता रहेको बेनी अस्पतालका चिकित्सकको भनाइ छ।

‘ठेकेदारले आँखामा पट्टी र कानमा तेल हालेर सुतेजस्तै गरेका छन्, बालुकाको घर बन्न सजिलो हुन्थ्यो होला, अस्पतालको भवन बनाउन सकिएन,’ एक चिकित्सकले भने। भवन अलपत्र पर्दा अनुवभी र दरबन्दी अनुसारका चिकित्सकसमेत बेनी अस्पतालमा आउन आनाकानी गर्ने गरेका छन्।

भवनका कारण सेवासमेत सहज रूपमा दिन र थप सेवा विस्तारमा अस्पताललाई समस्या भइरहेको छ। बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्रलगायत गरी वार्षिक ६० हजारभन्दा बढीले सेवा लिन्छन्।

प्रकाशित: २५ पुस २०८० ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App