७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

लैंगिक र यौनिक अल्पसंख्यकमा एचआइभी र यौनरोग बढी

नेपालगन्जका ५० वर्षीय सनक चौधरी  (परिचय परिवर्तन) लैंगिक तथा यौनिक अल्पसंख्यक हुन्। उनी पाँच वर्षअघिसम्म रिक्सा चलाएर जीविका चलाउँथे। पाँच वर्षअघि उनमा एचआइभी र एड्स संक्रमण पुष्टि भयोे। पाँच वर्षदेखि उनी यसको औषधि सेवन गरिरहेका छन्।

एचआइभी संक्रमण भएपछि उनको जीवनमा धेरै परिवर्तन भए। पहिलाको ठेलागाडा चलाउने काम छोडे। उनको जीवनसाथीले पनि चार वर्षअघि नै छोडेर गइन। अहिले उनी झुपडीमा बस्छन्। अहिले उनी खाना पकाउँछन्। उनीसँगै बस्ने एचाआइभी संक्रमित साथीले ज्याला मजदुरी गरेर सामान जुटाउँछन्।

उनी भन्छन्, ‘मलाई यस्तो रोग लागेको छ भन्ने थाहा नै थिएन, संस्थाले जाँच गरेपछि मात्र थाहा भएको हो’।

बर्दियाका ६० वर्षीय मिलन चौधरी (परिचप परिर्तन) उनी पनि यौनिक अल्प्संख्यक हुन्। उनी पनि पाँच वर्षअघि नै एचआइभी संक्रमण पुष्टि भएको हो। एचआइभी संक्रमणमा भाइरस लोड बढी भएपछि उनमा अरू अवसरवादी रोगहरूले पनि सतायो।

उनी भन्छन्, ‘बाँच्छु जस्तो लागेको थिएन।’ उनलाई एलर्जी हुने, ज्वरो आउनेजस्ता धेरै समस्या भए। औषधि उपचारपछि उनी अहिले केही सुधार भएको छ। उनी अहिले एचआइभी भाइरसको नियमित औषधि सेवन गरिररहेका छन्। एचआइभी संक्रमति भएपछि उनलाई पनि जीवनसाथीले छोडेर गएकी हुन्। उनी अहिले आफूजस्तै साथीसँग बस्छन्। कहिलेकाहीँ घरमा जान्छन् र दुईचार दिन बसेर फर्किन्छन्। एचआइभीका कारण स्वास्थ्यमा समस्या भएपछि सनक र मिलन दुवै कमजोर बनेका छन्। खानाको लागि पर्याप्त खर्च छैन।

‘आफैं कमाएर खानुपर्छ, प्रशस्त खानाको लागि हामीसँग पैसा हुँदैन,’ उनले भने, ‘स्वास्थ्य गुमेपछि जीवनको अर्थ नहुँदो रहेछ,’ चौधरीले भने।

महोत्तरीका लैगिक तथा यौनिक अल्पसंख्यक प्रमिला काफर र मनोज मण्डलले महोत्तरीको कुनै बजारमा यौन पेसा गर्दै जीवीका चलाउँछन्। उनीहरूलाई लैङ्गिक तथा यौनिक अल्पसंख्यक भएको थाहा पाएपछि घरगाउँमा बस्न नसक्ने भएपछि गाउँ छोडेका हुन्। सहरमा दैनिकी चलाउने उपाय नभएपछि यौन पेसा अपनाएका छन्। तर यो पेसा स्वास्थ्यको लागि सुरक्षित छैन। तर योबाहेक अरू उपाय छैन।

‘गाउँमा बसौ, हामी यौनिक अल्पसंख्यक भन्ने थाहा पाएपछि बसिखान दिँदैनन्, नबसाैं अन्त दैनिकी चलाउन गारो छ,’ महोत्तरीका मनोज मण्डलले भने। यो पेसा अपनाउँदा आफूहरू हरेक दिन एचआइभीको जोखिममा परेको उनले बताए।

आउने ग्राहकहरू सबैले भनेको मान्दैनन्।‘ कतिले एक पैसा पनि नदिइकन जान्छन, कतिले सुरक्षाको साधन प्रयोग गर्न मान्दैन,’ उनले भने। बजारमा बस्ने क्रममा यौन पेशा अपनाएका ६ जना साथीहरूलाई पहिल्यै एचआइभी लागिसेको छ। यो थाहा पाए पनि विकल्प नभएपछि यौन पेसा नै गरेर खानुपरेको उनीहरूले सुनाए। ‘जागिर खानलाई पढेको छैन, अरू काममा छक्का भन्छन्,’ काफरले भनिन्।

यी प्रतिनिधिपात्र वाहेक लैंगिक तथा यौनिक अल्पसंंख्यक समुदायमा एचआइभी संक्रमित धेरै छन्। नेपाल ब्लु डायमण्ड सोसाइटीका अनुसार लैंगिक तथा यौनिक अल्पसंख्यकमध्ये ६.८ प्रतिशत जनसंख्यामा एचआइभी संक्रमण छ। 

नेपालमा कुल जनसंख्याको ०.०२ प्रतिशत एचआइभी संक्रमित छन्। लैंगिक तथा यौनिक अल्पसंख्यकहरूमा रहेको एचआइभी संक्रमण राष्ट्रिय तथ्यांकको तुलनामा धेरै देखिन्छ।

मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानका अनुसार एचआइभीबाहेक गोनोरिया जस्ता यौन रोग, नसर्ने रोगहरू उच्चरक्तचाप, मधुमेहलगायत रोग यौनिक तथा लैगिंक अल्पसंख्यकहरूमा छन्। पुरुष महिला बन्ने र महिला पुरुष बन्ने क्रममा चिकित्सकको सिफारिसविना जथाभावी हर्मोनको प्रयोग गरेका कारण लैंगिक तथा यौनिक अल्पसंख्यकमा जटिल खालको रोग लाग्ने गरेको छ।

नेपालमा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले आफ्नो शरिर यौनअंगहरू परिवर्तन गर्न चाहे पनि नेपालमा अत्याधुनिक उपचार सुविधा नहुनु र बहुसंख्यकमा आर्थिक क्षमता नहुँदा यी उपचारबाट वञ्चित हुन्छन्। यस्तो अवस्थामा उनीहरू विशेषज्ञविनै हर्मोन प्रयोग गर्ने क्रममा जटिल समस्यामा परेका छन्।

ब्लु डायमण्ड सोसाइटीका स्वास्थ्य विभाग शाखा प्रमुख प्रकाश निरौलाका अनुसार लैगिंक अल्पसंख्यकहरूमा एचआइभी र यौन रोग लाग्ने दर उच्च छ।  

घर छोडेपछि आफ्नो पहिचानको लागि सहरमा स्वतन्त्र अनुभूति गर्छन् तर उनीहरूको लागि दैनिकी चलाउने उपाय हुँदैन। पढाइ नभएकोले राम्रो जागिर पाउँदैनन्, सामाजिक लान्छनाको कारण अहिले पनि समलिंगी विवाह खुलेर एकाध वाहेक अरू हुन सकेको छैन। यो कारण उनीहरूले जीवनकै भर नदेखोपछि बिन्दास रूपमा जिउने क्रममा पनि यौन पेसामा धेकेलिन्छन्। यही क्रममा उनीहरू उच्च रूपमा एचआइभीको जोखिममा हुन्छन्।

‘नेपालमा अरू यौनकर्मीको तुलनामा लैंगिक तथा यौनिक अल्पसंख्यकमा एचआइभी लाग्ने दर उच्च छ,’ निरौलाले भने। उनका अनुसार अरू यौनकर्मीमा सुरक्षित यौन सम्वन्धको स्थितिमा सुधार भएको छ भने यो समूहमा अहिले पनि असुरक्षित सम्बन्ध उच्चदरमा छ। असुरक्षित किसिमका यौन सम्बन्ध राख्ने कारण पनि उनीहरूमा एचआइभी छिटो सर्ने निरौला बताउँछन्। एचआइभी साथै भिरिंगी, गनोरियाजस्ता कडा खालका यौनरोग पनि यही समूहमा बढी छ।

स्वास्थ्य संस्थामै विभे

लैगिक तथा यौनिक अल्पसंख्यकहरूलाई उपचारको क्रममा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाबाट लान्छनाको बोली व्यवहार गर्ने कारण पनि सेवा लिन कम जाने गरेको मितेनी नेपालकी अध्यक्ष लक्ष्मी घलान बताउँँछिन्।

बिशेष गरी ट्रान्समेनहरूको पाठेघर निकाल्नुपर्ने उपचारमा पुग्दा स्वास्थ्य संस्थाले श्रीमान अविभावक खोज्छन्। जीवनसाथीको हकमा ट्रान्समेन आफै अभिभावक बनिरहेका हुन्छन्।

‘आफैं बुढा बनेका हुन्छन्, कुन बुढा लिएर जाने?,’ अस्पतालले बुढा खोजेको बेलामा पाठेघर फाल्नै सक्तैनन्,’ घलानले भने। यो समूहले आफ्नो यौनिकता झल्काउनको लागि स्तन फाल्न चाहन्छन्। तर यस्तो अपरेसनमा पनि अभिभावक नै खोजिदिँदा समस्या पर्छ।

यौनकर्मी लैगिक तथा अल्पसंख्यकहरू कुनै पनि रोग लागेर जाँदा स्वास्थ्य संस्थाले अविभावक खोज्दा घर छोडेर सहर पसेका लैगिक तथा यौनिक अल्पसंख्यकलाई अप्ठेरो परेर स्वास्थ्य सेवा लिनबाटै वञ्चित भएको घलानले बताइन्। ‘घर छोेडेर आएको हुन्छ, अविभावक कोही हुँदैन,’ उनले भनिन्।

घलानका अनुसार जन्मिँदा महिलाको अंग लिएर जन्मेको हुन्छ, पुरुष भएर स्वास्थ्य संस्थामा पुग्दा लैंगिक पहिचानसहितको कागजात खोजिन्छ। यस्तो अवस्थामा थप समस्या पर्ने घलान बताउँछन्।

स्वास्थ्य संस्थामा लैंगिक तथा यौनिक अल्पसंख्यक पुग्दा स्वास्थ्यकर्मीले समेत लान्छन्  लगाउने, हाँसेर उडाउने व्यवहारले धेरैबेर बस्नै नसक्ने स्थिति रहन्छ। सरकारले कानुनमा समान भने पनि अहिलेसम्म व्यवहारमा लागु नगर्दा ठूला अपरेसन गर्दा पैसा र अभिभावकको अभावमा उपचार रोकिएको धेरै घटना रहेको उनले बताइन्।

खर्च र सुरक्षित स्वास्थ्य सेवाको कमीको कारण यौनिकता परिवर्तन गर्नेहरू अत्यन्त कम संख्यामा छन्। स्वास्थ्य संस्थामा जाँदा पहिचान खोज्ने क्रममा नांगो पारेर गोप्य अंग हेरिने सरकारी व्यवस्थाले यौनिक अल्पसंख्यकहरू गोपनीयताको हकबाट वञ्चित हुनुपरेको उनले बताइन्।  

प्रकाशित: २४ पुस २०८० ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App