२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

उपत्यकामा स्वाइन फ्लु र निमोनिया संक्रमण बढ्दै

चिसो बढेसँगै मौसमी रोगका कारण बिरामी बढ्दै गएको चिकित्सकले औंल्याएका छन्। उनीहरूमा स्वाइन फ्लु (एचवान, एनवान), भाइरल निमोनिया, रुघाखोकी र ब्याक्टेरियल निमोनियाजस्ता बिरामी बढेको उपत्यकाका ठुला अस्पतालले जनाएका छन्। 

सिभिल अस्पताल छाती रोग विभागले अहिले सबैभन्दा बढी ब्याक्टेरियल निमोनियाको संक्रमणका, त्यसपछि भाइरल निमोनिया र तेस्रोमा स्वाइन फ्लु (एचवान एनवान इन्फ्लुएन्जा) का बिरामी आइरहेको बताएको छ। तीमध्ये दुईजना स्वाइन फ्लुका बिरामी उपचाररत छन् भने १० जना अन्य निमोनियाका बिरामी छन्। दैनिक यस्ता बिरामी बहिरंग विभागमा १० देखि १२ जना पुग्ने गरेको विभागले जनाएको छ।  

छाती रोग विशेषज्ञ डा. विदेश विष्टका अनुसार भारत तीर्थ गएर फर्केका यात्रुमा भाइरल निमोनिया बढी देखिएको छ भने ब्याक्टेरियल (कीटाणुजन्य निमोनिया) उपत्यकाभित्रैका बिरामीमा छ। स्वाइन फ्लु पनि मौसमी फ्लुका रूपमा संक्रमण फैलिएको उनले बताए। अन्य निमोनियाको तुलनामा स्वाइन फ्लुको निमोनियामा बढी जटिलता रहेको उनले बताए।

टिचिङ अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा उपचारमा पुग्ने कुल बिरामीमध्ये १५ प्रतिशत बिरामी ज्वरो तथा निमोनियाको रहेको अस्पतालका आकस्मिक कक्ष प्रमुख डा. रमेश महर्जनले जानकारी दिए। महर्जनका अनुसार उनीहरूमा दम र निमोनिया बढी देखिएको छ।

रेफरल बिरामी मात्र आकस्मिक कक्षमा आउने भएकाले सामान्य ज्वरो आएकाहरू जटिल बनेपछि मात्र आकस्मिक कक्षमा पुगेको उनले बताए। यो कक्षमा दैनिक १२० देखि १५० जना बिरामी उपचारका लागि पुग्छन्।  

अस्पताल मेडिकल विभागका अनुसार पछिल्लो दुई सातादेखि खोकी, ज्वरो र निमोनियाका बिरामी आइरहेका छन्। यसबाट संक्रमित हुनेमा वृद्धहरू बढी रहेको अस्पतालका वरिष्ठ फिजिसियन डा. धु्रव गैरेले जानकारी दिए। मौसमी फ्लुको लक्षण देखिएकाले स्वाब परीक्षण गर्दा एक बिरामीमा इन्फ्लुएन्जा ए पोजेटिभ पुष्टि भएको छ। साथै भाइरल निमोनियाका बिरामी जटिल समस्या लिएर आएको उनले बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा साँझ परेपछि श्वास फेर्न गाह्रो भएका र ज्वरो आएका बिरामी पुग्ने गरेको अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले जानकारी दिए। ‘सामान्य हुँदा घरमै आराम गर्ने गरेको देखिन्छ, जटिल बनेपछि अस्पताल आइपुग्दा धेरैलाई ज्वरो र निमोनियाले सताएको हुन्छ,’ उनले भने। यो हिसाबले घरमै आराम गरेर बसिरहेका बिरामी समाजमा धेरै हुन सक्ने उनको अनुमान छ।  

चिकित्सकका अनुसार कुनै भाइरल संक्रमण तथा कुनै पनि संक्रमणका कारण श्वास–प्रणालीमा संक्रमण फैलिएर अवरोध हुने अवस्था हो निमोनिया। निमोेनिया बढ्दै गएर श्वासप्रश्वास नली तथा फोक्सोमा समेत क्षति पुगेमा बिरामीमा जटिल समस्या देखिन्छ। अन्य देशमा निमोनियाविरुद्धको खोप लगाउने अभ्यास रहे पनि नेपालमा अहिलेसम्म आम नागरिकलाई सो खोप वितरण हुन सकेको छैन।  

यदि दुई दिनभन्दा बढी खोकी लागे र ज्वरो आउन सुरु भए तुरुन्त अस्पताल जान डा. गैरेको सुझाव छ। ‘यस्ता कुनै पनि लक्षण देखिए घरमा बस्नुहुँदैन,’ उनले भने। चिसोजन्य कुनैै पनि संक्रमणबाट बच्ने कुनै पनि संक्रमण भइहाले हेलचेक्र्याइँ नगरी समयमै उपचारमा जाने गरे मौसमी फ्लुको कारण हुने निमोनियाको जटिलताबाट बच्न सकिने डा. विष्ट बचाउँछन्।  

यसका लागि चिसोबाट बच्ने, घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्ने, भिडभाडमा नजाने, जानुपरे अनिवार्य मास्क प्रयोग गर्ने, व्यक्तिगत सफाइमा ध्यान दिने गरे यी संक्रमणबाट बच्न सकिने र हरेक वर्ष फ्लुविरुद्धको खोप लगाएमा बच्न सकिन्छ। कुनै पनि फ्लुविरुद्धको खोप लगाएको तीन सातापछि मात्र शरीरमा प्रतिरक्षाको काम गर्ने चिकित्सक बताउँछन्। 

प्रकाशित: ३ पुस २०८० ००:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App