१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

'उपचार गर्नै आउँदैनन् पक्षघातका बिरामी'

चितवनको भरतपुर अस्पतालबाट झन्डै १० किलोमिटर टाढा जुटपानीका एक पक्षघातको बिरामी नौ महिनासम्म घरमै थलिए। पक्षघात भएका बिरामीले सरकारी भरतपुर अस्पतालमा एक लाख रुपैयाँसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा आर्थिक अभावमा घरमै थलिनुपर्‍यो। ती बिरामी मात्रै होइन, अरू धेरै पक्षघातका बिरामी धेरै खर्च हुन्छ भन्ने डरले उपचारै नगरी बस्ने गरेका छन्।

कतिपय त्यस्ता बिरामी छुट हुने अस्पताल थाहा नपाउँदा महँगा अस्पतालमा उपचार गर्न बाध्य छन्। स्पाइनल उपचारमा विज्ञता हासिल गरेका भरतपुर अस्पतालका प्रा.डा. कृष्णप्रसाद पौडेल अस्पतालमा एक लाख रुपैयाँसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा बिरामी समयमा नआउने गरेको बताउँछन्।

उनले भने, ‘सामान्य अवस्थाका पक्षघातका बिरामीलाई एक लाख रुपैयाँले सबै खर्च पुग्छ।’ धेरै सामग्री प्रयोग गर्नुपर्ने बिरामीलाई रकम थप लाग्ने भए पनि सामान्य अवस्थाका बिरामीलाई यही खर्चले धान्छ। प्रा.डा. पौडेलले भने, ‘पक्षघात भएर कोही पनि घर नबसोस् भन्नका लागि यो सन्देश प्रवाह गर्नु आवश्यक छ।’

भरतपुर अस्पतालमा २०६९ सालदेखि छुट्टै युनिट बनाएर पक्षघातको उपचार हुँदै आएको छ। अहिलेसम्म ३७ जिल्लाबाट आएर यस अस्पतालको स्पाइनल इन्जुरी युनिटबाट उपचार गराइसकेको प्रा.डा. पौडेलले जानकारी दिए।

अस्पतालमा २० शय्या पक्षघातका लागि छुट्याइएको छ। रोटरीको सहयोगमा नयाँ भवन बन्दै छ। भवन सम्पन्न हुँदै गर्दा ५० शय्याको पक्षघात युनिट हुने छ। अहिले अस्पतालमा सातामा कम्तीमा एउटा शल्यक्रिया गर्ने गरिएको छ। कुनै हप्ता दुई वटासम्म शल्यक्रिया गर्ने गरिएको उनको भनाइ छ।

सबै अस्पतालमा पुनःस्थापना केन्द्र नहुने भएकाले बिरामीको रोजाइ भरतपुर अस्पताल पर्ने गर्दछ। प्रा.डा. पौडेलले भने, ‘भरतपुर अस्पतालमै यसको पूर्णरूपमा उपचार गर्न सक्छौं। राज्यले पनि पक्षघात (स्पाइनल कर्ड इन्जुरी) लाई कडा रोगको सूचीमा राखेर एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क दिएएको छ।’

स्पाइनल कर्ड इन्जुरीपछि पुनःस्थापना महत्वपूर्ण हुने उनी बताउँछन्। पुनःस्थापना केन्द्रमा दैनिक जीवनयापनका क्रियाकलाप÷सीप केन्द्रमा सिकाइन्छ। समयमै उपचारमा जान सके आंशिक रूपमा मात्र स्पाइनल कर्ड इन्जुरी भएको रहेछ भने पूर्ववस्थामै फर्काउन सकिने सम्भावना हुने उनको भनाइ छ। –रासस

प्रकाशित: २ पुस २०८० ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App