१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

मधुमेह लागेकामध्ये २० प्रतिशतलाई दृष्टिमा असर

पछिल्ला वर्षमा मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै गएको छ।

मधुमेहका बिरामीको आँखाको पर्ने असरबारे सन् २०२० मा गरिएको अध्ययन प्रतिवेदन अनुसार १९.४ प्रतिशत मधुमेहका बिरामीको आँखामा पनि असर परेको पाइएको हो। तीमध्ये ५० प्रतिशतमा गम्भीर असर परेको पाइएको छ।

मुलुकका मुख्य आँखा अस्पताल पुगेका बिरामीमा गरिएको अध्ययनबाट यस्तो तथ्यांक आएको हो। नेपाल अन्धोपना सर्वेक्षण १९८५ अनुसार मुलुकमा विभिन्न कारणले आँखाको दृष्टि गुम्नेको संख्या तीन प्रतिशत थियो भने सन् २०११ मा यो संख्या बढेर नौ प्रतिशत पुगेको छ।

नेपालमा अन्धोपनाको संख्या बढ्नुका पछाडि मधुमेह मुख्य कारण भएको तिलगंगा आँखा अस्पतालकी आँखाको पर्दा विशेषज्ञ डा. एली प्रधान बताउँछिन्। ‘उपचारको सहजता र चेतनाका कारण रोगीको संख्या घटनुपर्नेमा उल्टै बढ्नका पछाडि मधुमेह नै मुख्य कारण हो,’ उनले भनिन्।

आरमदायी जीवनशैली र गलत खानपानका कारण पछिल्ला वर्षमा मधुमेह रोगीको संख्या बढिरहेको उनको भनाइ छ।

तथ्यांकअनुसार मधुमेह भएका तीनमध्ये एकजनाको दृष्टिमा समस्या हुन्छ। तिलगंगा अस्पतालकी रेटिनोप्याथिक विशेषज्ञ डा. रवा थापाका अनुसार मधुमेहले शरीरसहित आँखाका दृष्टि नलीमा असर गर्दा विस्तारै दृष्टि गुम्छ। ढिला उपचारमा पुगेको कारण उनीहरूको आँखाको दृष्टि गुमेको आँखाको पर्दा विशेषज्ञ डा. थापाले बताइन्। समयमै उपचारमा पुगे पनि सही उपचार नहुँदा पनि आँखाको दृष्टि गुमिसक्छ।

डा. प्रधान अनुसार मधुमेहले रगतका नशाहरूमा चिनीको मात्रा बढ्दै जान्छ। यो क्रम आँखाका दृष्टि नलीमा पनि हुन्छ। मधुमेहले आँखाका नली साँघुरो हुने, संक्रमण हुँदा चिनीको मात्रा आँखाको पर्दामा रुक्तश्राव हुने, रगत सञ्चालन कम हुने जस्ता समस्या हुन्छ। यस्तो अवस्थामा आँखाको पर्दा फुटेर दृष्टि गुम्छ। मधुमेह छिप्पिएको अवस्थामा आँखाको पर्दा नै च्यातिन्छ।

मधुमेह भएका बिरामीले चिकित्सकको सुझावअनुसार नियमित आँखा जाँच गर्ने, हरेक स्वस्थ व्यक्तिले वर्षमा एकपटक आँखाको पर्दाको जाँच गर्ने गरेमा मधुमेह र यसले आँखामा पार्ने असरबारेमा समयमै जानकारी पाउन सकिने डा. प्रधान बताउँछिन्।

 ‘समयमै मधुमेह पत्ता लगाउन सके र लगत्तै आँखाको जाँच गरेमा दृष्टि गुमिहाल्दैन,’ उनले भनिन्। मधुमेहको कारण आँखाको दृष्टि गुमेमा पुनः दृष्टि फर्काउन सम्भव नभएकाले सकेसम्मम समयमै आँखाको जाँच र मधुमेह नियन्णत्रमा राख्ने गर्नु नै उचित उपाय भएको डा. प्रधानको भनाइ छ।

मधुमेहको कारण आँखाको दृष्टिमा समस्या आउन लागेमा आँखा धमिलो देखिने, नजिकको पढ्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन्। तर, धेरैजसो लक्षण आँखाको दृष्टिमै असर परेपछि मात्र देखिने हुनाले मधुमेहले सुटुक्क आँखा बिगार्ने चिकित्सकहरू बताउँछन्।

आँखाको दृष्टि गुमेपछि उपचारले पनि निको नहुने भएकाले मधुमेहको समयमै जाँच र नियन्त्रण मुख्य उपाय भएको चिकित्सक सुझाव दिन्छन्।

मधुमेह भइसकेको छ भने यसलाई नियमित औषधि या अन्य प्रक्रियाबाट नियन्त्रण राख्ने र स्वस्थ्य व्यक्तिले समेत वर्षमा एकपटक आँखा जाँच गरेमा दृष्टि बचाउन सकिने उनीहरूको सुझाव छ।

अन्तर्राष्ट्रिय मधुमेह तथ्यांकअनुसार प्रत्येक १० जनामध्येमा एकजनालाई मधुमेह हुन्छ। आयस्रोत कम भएका देशमा प्रत्येक चारजनामध्येमा एकजनामा मधुमेह हुन्छ।  

प्रकाशित: ४ मंसिर २०८० ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App