१७ फाल्गुन २०८० बिहीबार
स्वास्थ्य

‘सरसफाइ सभ्यतासँग जोडिएको छ’

‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको छ।सोही दिवसको सन्दर्भमा आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवम् नेकपा९माओवादी केन्द्र०का सचिव गणेश साहले मानिसको स्वास्थ्य आफू बस्ने वातावरणसँग अभिन्न रूपमा जोडिने भएकाले सरसफाइलाई उत्तिकै महत्त्व दिँदै आएको बताए।

साहले सरसफाइ मानिसको सभ्यता र संस्कारसँग पनि जोडिएको बताए। हरेक वर्ष १९ नोभेम्बरमा विश्वभर विभिन्न कार्यक्रममा साथ शौचालय दिवस मनाउने गरिएको छ। सन् २०१३ देखि सो दिवस मनाउन थालिएको हो।बढ्दो सहरीकरण र सार्वजनिक खुला स्थानको अभावले सहरी क्षेत्र वा बाक्लो मानवबस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौती बढेर गएको छ।

मानव समुदायलाई मानवजन्य दिसापिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्रसङ्घले विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको पूर्वमन्त्री साहले जानकारी दिए। यस वर्ष  पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ। यस वर्षको नारा ‘परिवर्तको गति बढाउँदै’ भन्ने तय गरिएको छ।

संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ।दिगो विकास लक्ष्यको छैठौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ।तर २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने र पूर्ण रूपमा सरसफाइ हुने अवस्थामा पुर्‍याउने कार्यमा प्रगति भने सुस्तगतिमा भइरहेको छ।यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्रसङ्घले यस वर्षको नारा तय गरेको हो। 

राष्ट्र सङ्घका अनुसार विश्वका साँढे तीन अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन्।त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुलास्थानमा दिसापिसाब गर्छन्।खुला दिसापिसाबका कारण फैलने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ।

सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न हामीसँग अब सात वर्षमात्र बाँकी छ।यो लक्ष्य हासिल गर्न हामीले अहिले गरेको कामको गति पाँच गुणा तीव्र बनाउनु आवश्यक रहेको इञ्जिनीयर रामदीप साहको भनाइ छ।नेपालले  १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा गरेको छ।

सरकारले सन् २०११ देखि हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न थालेको थियो।सबैभन्दा पहिला कास्की खुला दिसामुक्त घोषणा भएको थियो। झण्डै नौ वर्षको अनवरत प्रयासपछि २०१९ को सेप्टेम्बर ३० मा यो उपलब्धि हासिल भएको थियो।नेपालमा पूर्ण सरसफाइको अवधारणालाई सन् २००० देखि राष्ट्रिय सरसफाइ सप्ताहका रूपमा कार्यान्वयनमा ल्याइएको थियो।सन् २००३ देखि समुदायको अगुवाइमा यो अभियान बढाइएको थियो।

सन् २००८ लाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय सरसफाइ वर्षका रूपमा घोषणा गरेपछि यसले व्यापक जनजागरण ल्याएको तथ्य पेस गर्दै इञ्जिनीयर साहले सन् २०११ मा सरसफाइ गुरुयोजना नै बनाएर सरसफाइका सूचक र चरण निर्धारण गरिएको जानकारी दिए।

सोही गुरुयोजनाअनुसार आधारभूतस्तरको सरसफाइ सुनिश्चित गर्ने उद्देश्यले सन् २०१७ सम्म प्रत्येक घरमा चर्पी बनाउने अभियान सञ्चालन गरिएको थियो।नेपाललाई सन् २०१७ मा नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य दुई वर्ष ढिलो गरी २०१९ सेप्टेम्बर ३० मा हासिल हुनसक्यो। दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेर नेपालले शौचालय निर्माणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।तर, पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने विषयमा अझै धेरै काम गर्न बाँकी रहेको इञ्जिनीयर  साहको भनाइ छ।

संयुक्त राष्ट्रसङ्घको खानेपानी तथा सरसफाइ हेर्ने निकाय युएन वाटरले सार्वजनिक गरेको विवरणअनुसार नेपालको ५१ प्रतिशत जनसङ्ख्याले मात्र सुरक्षित सरसफाइ सेवा उपयोग गरेका छन्।आगामी सात वर्षभित्रमा झण्डै आधा जनसङ्ख्यालाई यस्तो सेवा पुर्‍याउनुपर्ने पर्ने अवस्था छ।नेपालका ६४ प्रतिशत जनसङ्ख्यामा साबुन पानीले हात धुने सुविधा प्राप्त छ। यसलाई पनि शतप्रतिशत पुर्‍याउनुपर्नेछ । घरबाट निस्कने फोहर पानीको प्रशोधन तथा सही व्यवस्थापन ३९ प्रतिशतमात्र हुनसकेको छ। बाँकी ६१ प्रतिशत फोहर पानीको प्रशोधन र सही व्यवस्थापन गर्ने चुनौती बाँकी नै छ।

नेपालमा सहरीकरण तीव्र गतिमा बढेको तर त्यही गतिमा सहरी पूर्वाधार खास गरेर ढल र नालीका पानी बग्ने संरचनाको उचित व्यवस्थापनको काम गर्न बाँकी रहेको उहाँको भनाइ छ । विश्व शौचालय दिवस १९ नोभेम्बरको अवसर पारेर स्मार्ट वास सोलुसनले  वाटर एड नेपाल र एसएनभी नेपालसँगको सहकार्यमा शुक्रबार एक कार्यक्रमको आयोजना गरिएको पूर्वमन्त्री साहले जानकारी दिए।

संयुक्त राष्ट्रसङ्घले तय गरेको मूल नारा तीव्र परिवर्तनलाई सहयोग पुग्ने गरी तय गरिएको सार्वजनिक शौचालयको व्यवस्थापन विषयको सेरोफेरोमा रहेर सो कार्यक्रममा विज्ञले पाँच वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।छलफलबाट प्राप्त निष्कर्ष र सुझाव सरकार र सरसफाइमा संलग्न राष्ट्रसङ्घीय निकाय समक्ष प्रस्तुत गरिनेछ।यसले राष्ट्रसङ्घद्वारा निर्धारित गरिएको दिगो विकास लक्ष्य प्राप्त गर्ने नेपालको कार्यक्रमलाई गति दिन सघाउने विश्वास व्यक्त गरिएको छ। नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउने, सहर र मानव बस्ती स्वच्छ र सफा राख्ने, मानव सभ्यता र संस्कार विकसित गर्ने अभियानलाई घरघर र जनजनमा पुर्‍याउनु जरुरी रहेको पूर्वमन्त्री साहले उल्लेख गरे।  

प्रकाशित: ३० कार्तिक २०८० १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App