१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँँदै

सरकारले आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा  कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। तर, यस वर्ष कात्तिक २ र ३ मा दसैँ परेका कारण पहिलो चरणको कार्यक्रम आज र भोलिका लागि तय गरेर सञ्चालन गर्न लागेको हो।

मन्त्रालयका अनुसार दुई दिने अभियान अन्तर्गत ६ महिनादेखि ५९ महिनाका करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ भने १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाइने छ।

सरकारले सबै अभिभावकलाई आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि अनिवार्य खुवाउन आग्रह गरेको छ।  

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो।

कार्यक्रम लागि देशभर ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ।

प्रकाशित: १७ कार्तिक २०८० ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App