१ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

गर्भधारणले मस्तिष्कलाई परिष्करण गर्छ?

यस्तो पनि!

गर्भेत्तोर मानसिक स्वास्थ्य र अभिभावकीय व्यवहारमा एउटा नयाँ कडी फेला पारिएको बेलायती वैज्ञानिकहरूको एउटा समूहले दाबी गरेको छ। लण्डनस्थित फ्रान्सिस क्रिक इन्स्टिच्युटका डा. जोनी कोल र उनको समूहले गरेको अध्ययन अनुसार जब कुनै महिला गर्भवती हुन्छन्, त्यो बेलादेखि नै उनको मस्तिष्क नयाँ किसिमले ‘रि-वायर’ हुने गर्छ। सो दाबीका लागि उनीहरूले मुसामा गरेको अध्ययन निष्कर्षलाई अघि सारेका छन्।

गर्भवतीको मस्तिष्कले ओस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन सिर्जना गर्छ। जसलाई न्युरोएस्टेरोइडोजेनेसिस भनिन्छ। यो हार्मोन सिर्जनाकै क्रममा महिलाले उसको शिशुलाई कसरी हुर्काउने र लालनपालन गर्ने, कति र किन चिन्ता गर्ने भन्ने विषयमा तयार पार्छ।

 वैज्ञानिकहरूले ती दुई हर्मोन सक्रिय हुँदा गर्भवतीले स्वभावतः स्तनपान गराउनेदेखि सन्तानको चिन्ता गर्ने बनाइदिन्छ। र, यो तयारी शिशु जन्मनुभन्दा धेरैअघिदेखि हुन थाल्छ। यो तयारीका लागि मस्तिष्कले ठूलो भूमिका खेलेको हुन्छ भन्ने दाबी डा. कोलको छ।

यो दाबीका लागि वैज्ञानिकहरूले एउटी मुसीमा प्रयोग गरेका थिए। कुमारी मुसी र सन्तान जन्माएका मुसीहरू एकै ठाउँमा राख्दा ती मुसीहरूले शिशु मुसाका नजिक जाने, तिनीहरूलाई सहलाउने गरेको पाइयो तर कुमारी मुसीहरूलाई भने ती शिशुको कुनै मतलब नभएको पाइयो।

सन्तान भएका मुसीहरूको मस्तिष्क गतिविधि र कुमारी मुसीहरूको मस्तिष्क गतिविधि कम्प्युटरका माध्यमबाट मापन गर्दा यो फरक झन् प्रस्टिएको पाइयो। यसअघि वैज्ञानिकहरूले सन्तान जन्मिएपछि मात्र महिलाहरूमा सन्तान हुर्काउने कला वा तिनको चिन्ता विकास भएको हुनसक्ने विश्वास थियो तर यस अध्ययनपछि भने शिशु जन्मनुअघिदेखि नै मस्तिष्कले त्यसका लागि तयार पार्ने देखिएको हो।

गर्भधारण हुन थालेपछि आउने मस्तिष्कको यो परिवर्तन पछि गएर स्थायी हुन पुग्छ। यो स्थायी सम्बन्धका लागि मस्तिष्कले सम्बन्धित न्युरोनहरूसँग तगडा सम्बन्ध गाँसिसकेको हुन्छ। सन्तान हुर्किसक्दा पनि स्त्री जातिको सन्तान चिन्ता स्थायी रहिरहनुमा यही कारण रहेको वैज्ञानिकहरू बताउँछन्। अध्ययनपछि अब स्त्री जातिमा हुने गर्भेत्तोर अवसाद र मनोविकृति बारे थप जान्न सकिने विश्वास गरिएको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २२ आश्विन २०८० ०१:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App