१ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

भरतपुर अस्पतालमा आएका नयाँ बिरामी मध्ये २० प्रतिशतमा क्यान्सर, सबैभन्दा बढी फोक्सोका

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार गर्न आएका नयाँ बिरामी मध्ये २० प्रतिशतमा क्यान्सर रोग पुष्टि भएको छ।

हालसालै अस्पतालले प्रकाशन गरेको तथ्यांक अनुसार, सन् २०२२मा ३२ हजार ३१४ जना नयाँ बिरामी ओपिडिमा आएका थिए। त्यसमध्ये मध्ये ६ हजार ४ सय ४६ जनामा क्यान्सर रोग पुष्टि भएको क्यान्सर अस्पतालले जानकारी दिएको छ। क्यान्सर अस्पतालमा अघिल्लो आर्थिक वर्ष १ लाख ६५ हजार ५० जना बिरामी आएका थिए। त्यसमध्ये ३१ हजार बिरामीले आकस्मिक सेवा लिएका छन्। भर्ना भने १० हजार २ सय ७५ जना भएका छन्। ठूलो शल्यक्रिया ४ हजार ८ सय ५० वटा गरिएको अस्पतालले जानकारी दिएको छ। यो अघिल्लो आर्थिक ३ हजार ३ सय बिरामीको ठुलो शल्यक्रिया गरिएको थियो।

नेपालमा वार्षिक १५ हजारको हाराहारीमा क्यान्सरका बिरामी थपिने गरेको बताइन्छ। तीमध्ये प्रत्येक वर्ष आधाको क्यान्सरका कारण मृत्यु हुने आंकलन गरिएको छ। सुरुवाती चरणमा क्यान्सर लागे पनि थाहा नपाउने र हेलचेक्र्याइँ गर्ने तथा अन्तिम चरणमा मात्र अस्पताल आउंँदा बिरामी बचाउन नसकिएका कारण पनि नयाँ क्यान्सरका बिरामीसँगै मृत्युदर बढेको अनुमान गरिएको छ।

हाल नेपालमा ९० हजारको हाराहारीमा क्यान्सरका बिरामी रहेको अनुमान छ। तर उपचार गराउन अस्पताल आउने बिरामीको संख्या धेरै कम रहेको छ। उपचार गर्न आउनेमध्ये सबैभन्दा धेरै भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ५० देखि ५५ प्रतिशत बिरामी आउने गरेको बार्षिक प्रतिवेदन समितिका संयोजक डा योगेश रेग्मीले बताए। यहाँ आउने मध्ये सबैभन्दा बढी चितवनका २० हजार २ सय २२ जना बिरामी छन्। त्यसपछि रुपन्देही ९ हजार ६ सय ५८, नवलपुर ७ हजार ४  सय १९, बारा ६ हजार ७१, तनहुँ ५ हजार १ सय ९९ दाङ ४ हजार ९ सय ७७, मकवानपुरका ४ हजार ७ सय ९३ जना छन्। यहाँ आउने मध्ये अधिकांश फलोअपमा आउने बढी छन्।  

सबैभन्दा बढी क्यान्सर बिरामी फोक्सोका  

बीपी कोइरालामा आएका बिरामीमध्ये सबैभन्दा बढी फोक्सो क्यान्सरका बिरामी भएको पाइएको छ। सुर्ती तथा मदिराजन्य पदार्थको बढी प्रयोगका कारण अन्य अंंगका क्यान्सरमध्ये फोक्सो क्यान्सरका बिरामी बढी देखिएको डा रेग्मीले बताए।

‘नेपालमा सुर्ती तथा मदिराजन्य पदार्थको प्रयोग पनि बढेको छ,’ अस्पतालका उनले भने, ‘विषादी छरिएका खाना र प्रदूषणले पनि क्यान्सरका बिरामी बढेका हुन्।’ फोक्सो क्यान्सरका बिरामी बढी हुने र उपचार पनि जटिल हुने भएकाले मृत्युदर पनि उही अनुपातमा हुने गरेको रेग्मीको भनाइ छ। सन् २०२२मा मात्रै ८ सय ३२ जनालाई क्यान्सर रोग पुष्टि भएको छ। फोक्सोको क्यान्सर हुनेमा महिलाभन्दा पुरुष बढि छन्। ४ सय ४५ जना पुरुषमा फोक्सोको क्यान्सर पुष्टि हुँदा ३ सय ८७ जना महिलालाई देखिएको छ। पुरुषले बढी मध्यपान र धुम्रपान गर्दा क्यान्सर देखिएको चिकित्सकको अनुमान छ।

फोक्सोको क्यान्सरपछि पाठेघर क्यान्सर ७ सय २० जना, स्तन क्यान्सर ७ सय २ जनालाई देखिएको छ। स्तनक्यान्सर देखिनेमा २३ जना पुरुष पनि रहेका छन्। रक्त क्यान्सर ४ सय १०, आन्द्राको क्यान्सर ३ सय ३७, हड्डी र जोइन्ड क्यान्सर ३ सय १८, पित्त थैलीमा २ सय ७५ जनालाई क्यान्सर भएको छ।

सबैभन्दा बढी फोक्सो, रक्तक्यान्सर, हड्डी, मुखको क्यान्सर, मुत्रथैली र पेटको क्यान्सर पुरुषलाई देखिएको छ। त्यस्तै पाठेघरको मुखको क्यान्सर, स्तनक्यान्सर, अण्डासय, फोक्सो र पेटको क्यान्सर महिलालाई बढी हुने गरेको छ।  

बालबालिकामा हुने रक्त क्यान्सरको दर पनि बढ्दो  

पछिल्ला वर्षहरूमा बालबालिकामा हुने रक्त क्यान्सरका बिरामीहरू पनि बढेका छन्। एक अध्ययानुसार पहिले विश्वमा १० लाख बालबालिकामध्ये १ सय २० जनामा रक्त क्यान्सर देखिन्थ्यो। पछिल्ला वर्षहरूमा १० लाखमध्ये १ सय ४० बालबालिकामा क्यान्सर रोग देखिने गरेको छ। क्यान्सर सरुवा रोग नभएता पनि वंशाणुगत गुण, खानपान र जीवनशैलीका कारण हरेक किसिमका क्यान्सरका बिरामी बढेको बाल क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर शर्माले जानकारी दिए।

प्रकाशित: १२ आश्विन २०८० १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App