१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

फेरि हराए बेनी अस्पतालका ठेकेदार, खण्डहरमा परिणत हुँदै ५० शय्याको अस्पताल

बेनी अस्पताल निर्माणको जिम्मा पाएको ठेकेदार नै बेपत्ता हुँदा भवन निर्माणको काम अलपत्र परेको छ। ठेकेदारले अटेरी म्याग्दी सदरमुकाम बेनीमा रहेको ५० शय्याको बेनी अस्पताल खण्डहरमा परिणत हुन थालेको छ।

चौतर्फी दबाबपछि केही कामदार लिएर निर्माणको कामलाई सुचारु गर्ने भनेर फर्केका ठेकेदार अहिले फेरि सम्पर्कबिहीन बनेका छन्। भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने मिति गुज्रिएपनि ठेकेदारले काम सम्पन्न गर्न अटेर गरेपछि ठेक्का तोडेर कालोसूचीमा राख्न दबाब बढेको थियो। चौतर्फी दबाब बढेपछि निर्माणको जिम्मा लिएका नेपाल निर्माण व्यवसायी महासङ्का अध्यक्ष एवम् ठेकेदार रवीसिंह श्रेष्ठ र उनका पार्टनर रबिन जोशी सम्पर्कबिहीन बनेका हुन्।

२० जना मजदुरलाई पठाएर झारा टार्ने काम गरेका अध्यक्ष श्रेष्ठ र उनका पार्टनर जोशीले अलपत्र भवनलाई पूर्णता दिन अटेर गरिरहेका छन् भने विभिन्न बाहना बनाउँदै आएका छन्।

जिल्लाका निर्वाचित प्रतिनिधि तथा प्रदेश सांसद, जिल्ला समन्वय समिति, बेनी नगरपालिका, बेनी अस्पताल, गण्डकी प्रदेश सरकार, सङ्घीय मन्त्रालयमा दबाब दिँदा समेत ठेकेदारले कुनै चासो नदिएको देखिन्छ।

अलपत्र अस्पतालको निर्माण कार्यलाई गति नदिए ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी दिएपनि निर्माण कम्पनीले वेवास्ता गर्दा महादेव खिम्ती, गल्वा रफिना जेभीले मनपरी गरेको छ। अस्पतालको निर्माणस्थलमा रहेका मजदुरलाई ठेकेदारले एक महिनादेखि तलब, खाद्यान्न समेत नदिएपछि समस्यामा छन्।

‘अस्पतालभित्रका मजदुरहरू नै भोकभोकै छन्। अहिले काम रोकिएको छ । नगरपालिकाको कार्य क्षेत्रभित्र पदैन’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने। उनले ठेकेदारलाई काम सम्पन्न नभएसम्म जिल्ला छाड्न नदिने बताए। दैनिक करिब १ सयभन्दा बढी जनशक्ती ल्याउने प्रतिबद्धता जनाएका ठेकेदारले अहिले १० जना मजदुरलाई समेत तलबसुविधा दिन सकेका छैनन्।

निर्माण व्यवसायी हराएको सूचना सहितको तस्विरलाई सार्वजनिक स्थानमा टाँसेर विरोध प्रदर्शन, प्रधानमन्त्रीसहित विभागीय मन्त्रीलाई ध्यानर्कषण, ठेकेदारलाई पटकपटक लिखित ताकेतालाई समेत नेपाल निर्माण व्यवसायी महासङ्का अध्यक्ष श्रेष्ठले अटेर गरेपछि अस्पतालको भवन निर्माणले गति लिन सकेको छैन।

‘ठेकेदारले आँखामा पट्टि र कानमा तेल हालेर सुतेजस्तै गरेको छ’ बेनी अस्पतालका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भने। उनले विभागीय निर्देशनलाई समेत अटेर गरेको भन्दै निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीका कारण जोन अस्पतालसहितको धेरै अवसर गुमेको बताए।

भवन निर्माणको काम समयमै सम्पन्न नहुँदा अस्थायी संरचनाबाट स्वास्थ्य सेवा दिँदै आएको छ। अस्पतालको निर्माणधिन भवन भुत बङ्गला खण्डहर जस्तै देखिन्छ। बेनी अस्पतालमा बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्र लगायत गरी वार्षिक ६० हजारभन्दा बढीले सेवा लिने गरेका छन्।

केही वर्ष अघि बागलुङको धौलागिरी अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा सिफारिश गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको शल्यक्रियामार्फत आमा र बच्चाको ज्यान जोगाएको बेनी अस्पताल जनशक्ती र भौतिक संरचनाको अभावले अहिले सेवा प्रवाहमा सेवाग्राहीले गुनासो गर्ने थलो बन्न थालेको छ। बेनी अस्पतालमा शल्यक्रियामार्फत हुने जटिल प्रसूतिलगायतका शल्यक्रिया सेवाका साथै जोखिम अवस्थामा आएका बिरामी समेत उत्साहित हुने गरेकोमा आजभोलि बिरामीको चाप ह्वात्तै बढेकोमा अहिले भौतिक संरचना र जनशक्ति अभावले घट्न थालेको छ।

वि.सं. २०७३ मङ्सिर २१ गते महादेव खिम्ती–गल्वा–रफिना जेभीले सो भवन बनाउन १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। चार हजार ९६३ वर्गमिटर जमिनमा बनाउन लागिएको चार तले तीन वटा भवन वि.सं. २०७६ मङ्सिर २० गते निर्माण सक्ने लक्ष्य थियो। भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्रीसमेत हुनेछ। भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेसन थियटर, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन राखिने छ।

सघन सहरी तथा भवन डिभिजन कार्यालयले सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र कोरोना सङ्क्रमणका कारण आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत् थपिएको म्याद सकिएपछि अन्तिम अवसरका रुपमा चालु आवमको असारसम्मको म्याद थप गरिएको छ। तीन तला ढलान र प्लास्टर भइसकेको भवनमा टायल राख्ने, रङ्गरोगन, विद्युत्, पानी, फर्निचर जडानलगायत काम बाँकी छन्। साझेदारीमा काम गरेका तीन वटै निर्माण व्यवसायीको लेनदेन विवादले भवन निर्माणमा असर परेको बताइएको छ। ५० शय्याको भवन अलपत्र परेपछि अहिले अस्थायी संरचना बनाएर अस्पतालले बिरामीको सेवा दिइरहेको छ। बेनी अस्पतालमा बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्र लगायत गरी बार्षिक ६० हजारभन्दा बढीले सेवा लिन्छन् ।

प्रकाशित: १८ भाद्र २०८० ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App