राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु रहेको बताएका छन् ।
२५ औँ सशस्त्र प्रहरी दिवस –२०८२ का अवसरमा शुक्रबार सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसले उच्च व्यावसयिक सीप, क्षमता र कौशलको माध्यमबाट राष्ट्रहितलाई सर्वोपरि राखेर जनताको स्वतन्त्रता, स्वाभिमान र सम्पत्तिको सुरक्षा गर्दै प्रदान गरेको सेवा प्रशंसनीय रहेको बताए ।
“जब राष्ट्रमा सङ्कट पर्छ, विपद् आइलाग्छ, सीमामा चुनौती थपिन्छ र जब राज्यको अर्थतन्त्र कमजोर हुन थाल्छ सबैभन्दा अगाडि उभिने तपाईँहरू नै हो । वास्तवमा, सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु हो,” उनले भने ।
राष्ट्रपति पौडेलले आगामी निर्वाचन हाम्रो संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको बताए । “राजनीतिक दलसहित सबैको निर्वाचन प्रक्रियामा देखिएको चासो र उल्लासमय सहभागितासँगै यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सघाउन सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन भन्ने मैले पूर्ण विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने ।
उनले संविधान, लोकतन्त्र र जनताको भरोसा नै यो सङ्गठनको सबैभन्दा ठूलो शक्ति हो भन्दै नागरिकको आँखामा देखिने विश्वास र राष्ट्रको मनमा बस्ने गर्व यसको साँचो परिचय बनिरहने विश्वास व्यक्त गरे । सङ्क्रमणकालीन अवस्थाको पहिलो संविधान सभाको निर्वाचन २०६४ मा नेतृत्वदायी भूमिका र त्यसपछिका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यस सङ्गठनले मिलाएको सुरक्षा प्रबन्ध र व्यवस्थापनमा खेलेको भूमिका नागरिकले सधैँ स्मरण गर्ने उनको भनाई थियो ।
“यो सङ्गठन बन्दुक बोकेको शक्ति मात्र होइन, सेवाको अनुहार, अनुशासनको प्रतीक र राष्ट्रप्रतिको निष्ठाको ज्वलन्त उदाहरण पनि हो । आजसम्मको यहाँहरूको त्याग, बलिदान र पसिनाको कदर गर्दै तपाईँहरूको ऊर्जा र विश्वास भविष्यमा पनि कायम रहनेछ भन्ने सबै नेपालीको अपेक्षा छ”, राष्ट्रपति पौडेलले भने।
उनले देश र जनताको सुरक्षा, संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा राष्ट्रिय एकताको संरक्षणमा सशस्त्र प्रहरी बल नेपाल सधैं दृढताका साथ कर्तव्यपथमा अविश्राम अग्रसर रहिरहने विश्वास व्यक्त गरे ।
प्रकाशित: ९ माघ २०८२ २०:४१ शुक्रबार





