१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

अंगदानमा महिला नै किन अघि ?

तस्बिर सौजन्यः नानी महर्जन

धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा गत जेठमा मोरङकी ३४ वर्षीया जमुनादेवी श्रेष्ठलाई आफ्नै ३९ वर्षीया दिदी दुर्गा श्रेष्ठले मिर्गौला दान गरेर नयाँ जीवन दिइन्। दिदी दुर्गाको मिर्गौला प्रत्यारोपणपछि जमुनाको स्वास्थ्य स्थिति सहज बनेको छ। दुर्गा पनि नियमित काममा फर्केकी छिन्।

आठ वर्षदेखि बिस्तारै समस्या देखिँदै जाँदा गत वर्ष जमुनाको मिर्गौला काम नलाग्ने बनेको थियो। आफ्नै मिर्गौला दिएर बहिनीलाई बचाउने निधो गरेको दुर्गा बताउँछिन्। परिवारमा बुवाआमा, दाजुभाइ भए पनि दुर्गा नै मिर्गौला दान गर्न अघि सरिन्। आमाबुवा बुढो भइसकेकाले आफैंले मिर्गौला दिने निधो गरेको दुर्गाको भनाइ छ। उनका अनुसार बहिनीलाई मिर्गाैला दिन आफैं तम्सिनुको कारण दाजुभाइ विदेशमा हुनु पनि हो। दीनदुःखीको सेवामा खटिएकी अविवाहित दुर्गाले आफ्नै बहिनीलाई पर्दा मिर्गौला दिन पाउनु खुसीको विषय भएको प्रतिक्रिया दिइन्। ‘परिवारका सदस्यलाई आवश्यक परे मैले दिन मिल्ने केही अंग रहेछ भने फेरि पनि दिन्छु,’ उनले भनिन्।

तथ्यांक भन्छ– अंगदान गर्नेमा ७८ प्रतिशत महिला छन्। यसबाट बुझिन्छ, दानमध्येको सबैभन्दा ठुलो मानिएको अंगदानमा पनि महिला नै पहिला छन् तर लिनेमा जहिल्यै पुरुष।

ललितपुर च्यासलका ५० वर्षीय अशोककाजी महर्जनले पनि पत्नीले मिर्गौला दिएकाले नयाँ जीवन पाएका छन्। धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका चिकित्सकले गत पुसमा ४९ वर्षीया नानी महर्जनको मिर्गौला पति अशोककाजीमा प्रत्यारोपण गरेका थिए। मिर्गौला प्रत्यारोपणअघि डायलोसिस गर्दा र आकस्मिक रूपमा आउने समस्याले कैयौंपटक अस्पताल धाउनुपरेका कष्टपूर्ण दिन उनीहरू सम्झन्छन्। मिर्गौला प्रत्यारोेपणपछि अशोकाजी स्वस्थ छन्। मिर्गौला दिने नानी पनि स्वस्थ छिन्। ‘मैले उहाँलाई मिर्गौला नदिएको भए दिनहुँ अस्पताल धाउनुपथ्र्यो,’ नानीले भनिन्। घरमा अन्य सदस्य भए पनि पतिलाई निको पार्न आफूले मिर्गौला दिने निर्णय गरेको नानी बताउँछिन्। ‘छोरीहरूले दिन मिल्थ्यो, सानै उमेरका भएकाले देऊ भन्न मन लागेन। मैले नदिए मेरा पति रहनुहुन्थेन,’ उनले भनिन्। मिर्गौला बिगे्रर पति थलिएपछि कुनै पनि बेला जीवन सकिन्छ भन्ने चिन्ता उनमा थियो। आफू नरहे बरु केही नहोला, पति नभएको घरमा आफू बाँच्नुप¥यो भने समाजले पनि हेला गर्ला भन्ने सोचले आफैंले मिर्गौला दिएको उनको भनाइ छ।

म नरहे बरु केही नहोला तर उहाँ (पति अशोककाजी महर्जन) रहनुभएन भने समाजले हेला गर्ला भन्ने सोच आयो। त्यसैले आफैंले मिर्गौला दिने निर्णय गरें। -नानी महर्जन  

तीन वर्षअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा दोेस्रोपटक मिर्गौला प्रत्यारोेपण गरेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिने पनि महिला नै थिइन्। ओलीलाई भान्जी नाता पर्नेले मिर्गौला दिएकी हुन्। पहिलोपटकको प्रत्यारोपणमा पनि ओलीले महिलाकै मिर्गाैला लिएका थिए। त्यतिबेला भाइबुहारी नाता पर्नेले उनलाई मिर्गौला दान गरेकी थिइन्। उनलाई मिर्गौला दान गर्ने दुवै महिला वयस्क थिए। कसैलाई आफ्नो शरीरकोे अंग झिकेर दिनु सामान्य विषय होइन। हरेक व्यक्तिलाई आफ्नो जीवन अत्यन्त प्यारो हुन्छ। तर पनि आफन्तजनको जीवन बचाउन जोखिम मोलेर अंग दिने गरिएको छ।  

विकसित मुलुका अंगदानमा महिला र पुरुष दुवैको बराबरी सहभागिता देखिन्छ। नेपालको हकमा भने आफ्नो अंग दान दिएर धेरैलाई नयाँ जीवन दिनेमा महिला अगाडि देखिन्छन्। यस्तो किन हुन्छ भनेर आम चासोको विषयसमेत बन्ने गरेको छ। अंग प्रत्यारोपणमा संलग्न चिकित्सक नेपालको सामाजिक संरचना, भावनात्मकता सम्बन्ध, स्वास्थ्य अवस्थालगायत कारणले अंगदानमा महिला बढी हुने गरेको बताउँछन्।  

७८ प्रतिशत अंगदान महिलाबाट पुरुषमा

अंग प्रत्यारोपण गर्ने अस्पतालले राखेको तथ्यांकअनुसार अंगदान गर्नेमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छन्। दान गरिएका मिर्गौला लिनेमा भने ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला छन्। पुरुषलाई मिर्गौला दिनेमा बढीजसो आमा र पत्नी छन्। त्यसपछि दिदीबहिनी र छोरीले पनि मिर्गौला दिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जकी डिन तथा मिर्गौला विभाग प्रमुख डा. दिव्या सिंह बताउँछिन्।  

त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपण शाखाका अनुसार हालसम्म १० जनामा कलेजो प्रत्यारोपण भएको छ। ७ जना महिला र ३ जना पुरुषले कलेजो दान गरेका छन्। कलेजो दान गर्ने महिलामा धेरै आमा र छोरी नाताभित्रकै छन्। अस्पतालका कलेजो प्रत्यारोेपण शाखा प्रमुख डा. रमेशसिंह भण्डारीका अनुसार पतिको कलेजो बिग्रिएपछि पत्नीले कलेजो दिने गरेका छन्। सानो उमेरका बच्चाको कलेजो बिग्रिएको अवस्थामा आमाले दिएर बचाएका छन्।

एक दशकदेखि कलेजो तथा मिर्गौला प्रत्यारोेपण सेवा दिँदै आएको धर्मभक्त अंग प्रत्यारोपोपण केन्द्रले हालसम्म ११ सय जनामा मिर्गौला र ११ जनामा कलेजो प्रत्यारोण गरेको छ। मिर्गौला प्रत्यारोपण भएका मध्येमा ७८ प्रतिशत महिला दाता र २८ प्रतिशत पुरुष दाता छन्।

अहिले नेपालमा धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, किस्ट मेडिकल कलेज, ग्रान्डी अस्पताल र वीर अस्पतालमा नियमित रूपमा मिर्गौला प्रत्यारोपण हुन्छ। शिक्षण अस्पताल महाराजगन्जमा मात्रै १० जनामा कलेजो र नौ सय जनामा मिर्गौला प्रत्यारोपण भएको छ। यो अस्पतालले सन् २००८ देखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको हो। ११ वर्षअघि मिर्गौला प्रत्यारोेपण सेवा सुरु गरेको धर्मभक्त अंग प्रत्यारोपण केन्द्रले सात वर्षदेखि कलेजो प्रत्यारोपण सेवा पनि दिइरहेको छ।  

चिकित्सक के भन्छन्  

नेपालमा अंग प्रत्यारोपणमा संलग्न चिकित्सकहरूका अनुसार विकसित देशहरूको तुलनामा नेपालसहित दक्षिण एसियामा अंग दान गर्नेमा महिला बढी छन्। विकसित देशमा मृत्युपछि अंगदान बढी हुन्छ। तर नेपालमा जीवित अवस्थामै अंगदान बढी हुने गरेको छ। जीवित अवस्थामा गरिने अंगदानमा महिला दाता बढी रहेको तथ्यांक छ। विकसित राष्ट्रहरूमा जीवित दातामा पुरुष र महिलाको अन्तर धेरै छैन।

पश्चिमा देशहरूमा मृत्युपछि अंगदान बढी हुने भएकाले पनि महिला र पुरुष दाताबीच अन्तर धेरै नभएको डा. सिंह बताउँछिन्। ‘नेपालसहित दक्षिण एसियामा विद्यमान सामाजिक संरचनाका कारण पनि अंग दान गर्ने धेरै महिला छन्। यो लैंगिक विभेद तथा पितृ सत्तात्मक संरचनाको उपज हो,’ उनले भनिन्। अहिले पनि नेपाली समाजमा पति या छोरालाई घरको आयआर्जन गर्ने मुख्य व्यक्तिका रूपमा लिइन्छ र परिवारका अन्य सदस्य उनीहरूमाथि आश्रित छन्। ‘जुनसुकै रूपमा पनि पुरुषलाई आयआर्जन गर्ने शक्तिका रूपमा हेरिन्छ, त्यो व्यक्ति पीडित भयो भने परिवार नै पीडित हुन्छ भन्ने मान्यता छ। पुरुषलाई परिवारको संरक्षकका रूपमा हेरिन्छ,’ उनले भनिन्। पुरुषसत्तात्मक समाजले पनि पुरुषलाई अंगदान गर्न भावनात्मक रूपमा नै निरुत्साहन गर्छ। अर्थात् अंगदानका लागि महिलालाई घरपरिवार या समाजले नै घुमाउरो रूपमा दबाब दिएको हुन्छ।  

धर्मभक्त अंग प्रत्यारोपण केन्द्रकी मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठ पनि अंग दानमा महिला अगाडि हुनुमा नेपालमा विद्यमान लैंगिक विभेद कारक पनि एक कारण भएको बताउँछिन्। डा. श्रेष्ठको अनुभवमा घरको मुख्य मान्छेमा गणना हुने पुरुषलाई अंगदान गर्न परिवार र समाजले प्रेरित नगरेको देखिन्छ। ‘पुरुषको स्वास्थ्य कमजोर भयो भने कसले कमाउला भन्ने मानसिकता कायमै छ,’ उनले भनिन्। अंगदान गर्न महिला सजिलै तयार हुने गरेको र पुरुष हत्तपत्त तयार नहुने गरेको उनको अनुभव छ। नेपालको तुलनामा विकसित देशमा अंगदान गर्ने पुरुष र महिलाको संख्यामा धेरै अन्तर नहुने उनले बताइन्। ‘विकसित देशमा यति धेरै फरक छैन, अझ बेलायतमा त अंगदाता बढी पुरुष नै देखिन्छन्,’ उनले भनिन्। यस अर्थमा पितृसत्तात्मक समाजका कारण पनि मिर्गौला दान गर्नेमा महिलाको संख्या बढी हुन गएको हो।

तीन कारण:

पुरुषसत्तात्मक समाज

भावनात्मक कोमलता

राम्रो स्वास्थ्य अवस्था  

डा. सिंहका अनुसार पुरुषभन्दा बढी महिला दाताको संख्या हुनुमा भावनात्मक कोमलता महिलामा बढी हुनु पनि हो। अंगदानमा महिला बढी हुनुमा यो दोस्रो कारण बनेर रहेको छ। ‘आफ्नो बच्चालाई आमाले नै बढी माया गर्छन्। सबैको हितमा महिला पुरुषको तुलनामा बढी संवेदनशील हुन्छन्,’ उनले भनिन्, ‘यिनै कारणले गर्दा पनि अंगदानमा महिलाको संख्या बढी हुन गएको हो।’  

महिला अंगदाता बढी हुनुको तेस्रो कारण महिलाको स्वास्थ्य पुरुषको तुलनामा राम्रो हुनु पनि हो। महिलाले पुरुषले जस्तो धूमपान, मद्यपान नगर्ने भएकाले उनीहरूको स्वास्थ्य राम्रो हुन्छ। कुलतमा नलाग्ने भएकै कारण धेरै महिलामा मुुटु, मिर्गौला, फोक्सो, उच्च रक्तचाप, कलेजोसम्बन्धी रोग देखा पर्दैनन्। अंग प्रत्यारोपणका लागि अंगदान गर्ने व्यक्ति स्वस्थ हुनु जरुरी छ। ‘महिला स्वस्थ हुने भएकै कारण पनि जुनसुकै अंग महिलाको मिल्न जान्छ,’ डा. सिंहले भनिन्, ‘त्यसपछि स्वाभाविक रूपमा मिर्गौला दान गर्नेमा महिलाको संख्या बढी हुने गर्छ।  

केही वर्षदेखि कलेजो प्रत्यारोपण सुरु गरेको त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण विशेषज्ञ डा. भण्डारी भने १० वटा मात्र कलेजो प्रत्यारोपण भएको अवस्थामा अहिल्यै लैंगिक स्थितिको विश्लेषण गर्ने स्थिति नभएको बताउँछन्। सयौंको संख्यामा प्रत्यारोपण भइसकेपछि मात्र लैंगिक स्थितिको अनुपात छुट्ट्याउन सकिने डा. भण्डारी बताउँछन्। तर हालसम्मको कलेजो प्रत्यारोपणको स्थिति हेर्दा ७० प्रतिशत महिला नै दाता रहेको तथ्यांक छ।

प्रकाशित: १७ भाद्र २०८० ००:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App