२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

जानकी आँखा अस्पताल: पैसाका अभावमा उपचारबिना फर्किनु पर्दैन

जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पुर्‍याएको छ। यसरी धेरैले सम्झिनलायक आँखा अस्पताल बनाउनमा वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको योगदान अथक छ। उनी ४१ वर्षदेखि अस्पताल भौतिक पूर्वाधार लगायत अन्य क्षेत्रको श्रीवृद्धिमा अनवरत मिहिनतका साथ लागिरहेका छन्।

नेपाल रेडक्रस सोसाइटी धनुषा र जानकी आँखा अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका समाजसेवी सिंहले भने ‘सन् १९८२ मा भिन्न परिवेशमा यो अस्पताल स्थापना भयो। अस्पतालले यो स्तरमा आफ्नो पहिचान बनाउने कुरा धेरैले कल्पना गरेका थिएनन्। तत्कालीन समयमा जनकपुर क्षेत्रमा अन्धोपन निवारण र आँखाका बिरामीका लागि केही सहयोग गर्ने उद्देश्यले आँखा शिविरलाई संस्थागतस्वरूप दिन उपचार केन्द्रका रूपमा सेवा सञ्चालन गरिएको थियो।’

जानकारका अनुसार सन् १९५९ देखि वर्षको एकपटक आँखा शिविर सञ्चालन गरी समस्या समाधान गर्ने ध्येयले जनकपुरमा सुरु भएको अभियानले संस्थागत उपचार सेवा / केन्द्रको स्वरूप ग्रहण गर्न करिब २० वर्ष लागेको थियो।

२०३८ चैत १७ गते प्रतिष्ठित समाजसेवी मकेश्वरप्रसाद सिंह नेतृत्वमा गठित समितिको सोच, योजना र पहलकदमीबाट सुरुआत भएको यो अस्पतालले कालान्तरमा गुणस्तरीय सेवाप्रवाह र आँखा स्वास्थ्यबारे गाउँगाउँमा फैलाएको चेतनाका कारण जनविश्वास आर्जन गरेको उनीहरूको बुझाइ छ।

जानकारका अनुसार सन् १९५९ देखि वर्षको एकपटक आँखा शिविर सञ्चालन गरी समस्या समाधान गर्ने ध्येयले जनकपुरमा सुरु भएको अभियानले संस्थागत उपचार सेवा / केन्द्रको स्वरूप ग्रहण गर्न करिब २० वर्ष लागेको थियो।

‘तत्कालीन समयमा आँखा स्वास्थ्य समस्या अर्थात् अन्धोपन निवारणका लागि नेपालका अरू भूभागमा जस्तै जनकपुरमा पनि आँखा शिविरलाई बृहत् स्वरूप दिई त्यसैलाई संस्थागत गरिएको हो’, अध्यक्ष सिंहले भने, ‘स्थानीय समाजसेवीको पहलकदमीमा रेडक्रसले पनि सहयोग एवं साझेदारी गरेपछि जानकी आँखा उपचार केन्द्रको संस्थागत विकास भएको देखिन्छ।’

अस्पतालका निर्देशक डा. आशिष बोहराले पनि वर्षमा एउटा शिविर सञ्चालन गर्न समेत दाताबाट चन्दा संकलन गर्नुपर्ने बाध्यताबाट मुक्तिका लागि अस्पतालको स्थापना भएको र त्यसमा यहाँका थुप्रै अग्रज तथा सरोकारवालाको योगदान स्मरणीय रहेको बताए।

उनले केही रकम तिर्न सक्ने बिरामीबाट न्यूनतम शुल्क लिएर बाँकी बिरामीकै लागि खर्च गर्ने सिद्धान्त अनुसार आज पर्यन्त सेवा प्रवाह भइरहेको बताए।

तत्कालीन समयमा सामाजिक सेवामा समर्पित अगुवा मकेश्वरप्रसाद सिंह, बौएलाल साह, मेघप्रसाद उपाध्याय, जयवल्लभ दास, मदन गिरी, सर्वोच्च अदालतका पूर्वन्यायाधीश राम नगिना सिंह, वरिष्ठ अधिवक्ता रामजीप्रसाद मैनाली लगायतको विशेष योगदानका कारण यो पवित्र कार्यले मूर्त रूप लिएको निर्देशक डा.बोहराको भनाइ छ।

अस्पताल प्रशासन शाखा प्रमुख दीपेन्द्रकुमार सिंहले दिएको जानकारीअनुसार सुरुमा जनकपुरको पूरानो बसपार्क नजिक समाजसेवी लक्ष्मणप्रसाद साहले दिएको दुई कट्ठा जमिन र तीन कोठे कच्ची घरबाट आँखा उपचार सेवा सुरु भएको थियो।

पछि जनकपुरधाम–८, रामानन्द चोक (हाल अस्पताल रहेको स्थान) नजिकै गुठी संस्थानबाट प्राप्त एक बिघा, १३ कट्ठा, नौ धुर र केन्द्रले खरिद गरेको चार कट्ठा जमिनमा रहेको संरचनाबाट अस्पतालले सेवा विस्तार गर्‍यो। सन् १९९१ मा स्वीस् रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगपछि २५ शय्याको अस्पतालमा रूपान्तरित भएकोमा हाल एक सय शय्या क्षमतामा सेवा प्रवाह भइरहेको उनले बताए।

तत्कालीन समयमा सामाजिक सेवामा समर्पित अगुवा मकेश्वरप्रसाद सिंह, बौएलाल साह, मेघप्रसाद उपाध्याय, जयवल्लभ दास, मदन गिरी, सर्वोच्च अदालतका पूर्वन्यायाधीश राम नगिना सिंह, वरिष्ठ अधिवक्ता रामजीप्रसाद मैनाली लगायतको विशेष योगदानका कारण यो पवित्र कार्यले मूर्त रूप लिएको निर्देशक डा.बोहराको भनाइ छ।

‘आँखा शिविरबाट आँखा उपचार केन्द्रमा रूपान्तरण भई सेवा सुरु गरेको अस्पताल हाल एक सय शय्यामा सञ्चालित छ। अहिलेकै संरचना र शय्याले बिरामीको चाप धान्न मुस्किल भइरहेको छ’, उनले भने,‘आर्थिक रूपमा कमजोर, विपन्न नागरिकले पैसाकै अभावमा उपचारबिना फर्केर जानु नपर्ने अवस्था सुनिश्चित गरिएको छ। यसमा सरकारको पनि केही सहयोग रहेमा सेवामा थप प्रभावकारिता ल्याई नागरिकको माग सम्बोधन र बिरामीको चापलाई धान्न सकिन्छ।’

एक्काइस लाखभन्दा बढी लाभान्वित

अस्पताल स्थापना भएयता ४१ वर्षमा २१ लाख ६२ हजार चार सय २९ नागरिक बहिरङ्ग (ओपिडी) सेवाबाट लाभान्वित भएको र दुई लाख दुई हजार २२ जनाले शल्यक्रिया सेवा लिएको अस्पतालको तथ्याङ्क छ।

‘शिविरबाट कति जना लाभान्वित भए भनेर यकिन तथ्याङ्क छैन तर अस्पतालको ओपिडी सेवा लिनेको सङ्ख्या हालसम्म २१ लाख ६२ हजारभन्दा बढी छ’, अस्पताल निर्देशक डा बोहरा भन्छन्, ‘सीमित स्रोतसाधन, दक्ष जनशक्तिको अभाव र अन्य समस्याका बाबजुत अस्पतालले दृष्टिविहीनमा दृष्टि र आम नागरिकमा खुसी फर्काउन एकसाथ काम गरिरहेको छ।’

समितिका अध्यक्ष सिंहले जनकपुरमा सरकारी अस्पतालमा आँखा विभाग र अरु सात अस्पताल सञ्चालनमा रहे पनि धेरै नागरिकले सर्वसुलभ र गुणस्तरीय सेवा दिएकै कारण अस्पतालप्रतिको आकर्षण निरन्तर बढिरहेको बताए।

अस्पताल स्थापना भएयता ४१ वर्षमा २१ लाख ६२ हजार चार सय २९ नागरिक बहिरङ्ग (ओपिडी) सेवाबाट लाभान्वित भएको र दुई लाख दुई हजार २२ जनाले शल्यक्रिया सेवा लिएको अस्पतालको तथ्याङ्क छ।

आँखा उपचारबाहेक बर्सेनि यस क्षेत्रका एक सय विद्यालयमा आँखा स्वास्थ्यबारे सचेतना, एकसय स्वास्थ्य स्वयंसेविकालाई प्राथमिक आँखा उपचारबारे जानकारी दिनुका साथै सात वर्षदेखि करिब चार सय धामीझाँक्रीलाई शिक्षा दिने काम पनि भएको विवरण छ।

अस्पतालले तीन तरिकाबाट नागरिकलाई सेवा दिइरहेको छ। मुख्य अस्पताल जनकपुरबाट दैनिक शल्यक्रिया, अन्तरङ्ग, बहिरङ्ग, आकस्मिक सेवा, छ वटा शाखाका रूपमा रहेका मातहतका सामुदायिक आँखा उपचार केन्द्र (महोत्तरीको गौशाला, धबौली, धनुषाको यदुकुवा, सबैला, सल्र्लाहीको लालबन्दी र सिन्धुलीको सिन्धुलीगढी) बाट समेत थप सेवा प्रवाह भइरहेको छ। तीमध्ये सिन्धुली, लालबन्दी, यदुकुवा र धबौलीलाई शल्यक्रिया केन्द्रको रूपमा समेत विकास गरिएको छ।

त्यसैगरी सामान्यतः प्रतिवर्ष एकसय आँखा शिविर सञ्चालन गरी आँखा उपचार तथा शल्यक्रियाको काम भइरहेको अस्पतालका सूचना अधिकारी एवं बाह्य कार्यक्रम इञ्चार्ज रुदलप्रसाद साहले बताए।

यसरी सञ्चालन हुने शिविरबाट पहिचान भएका समस्याका आधारमा तत्काल र पछि जनकपुर अस्पताल ल्याएर शल्यक्रिया लगायतका सेवा निःशुल्क प्रदान गर्ने गरिएको सिंहले बताए।

‘यो अस्पतालको सुरुआत नै शिविरबाट भएको हो। त्यसलाई निरन्तरता दिइरहेका छौं। जसबाट जनकपुर र अन्य ठाउँमा गई उपचार गर्न नसक्ने ग्रामीण क्षेत्रका लाखौं नागरिक लाभान्वित भएका छन्’, उनले भने।

स्रोत अभावले विशिष्टकृत सेवा विस्तारमा समस्या

यस अस्पतालले विशेष गरी धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र छिमेकी जिल्लाका साथै सीमावर्ती भारतीय नागरिकलाई पनि सेवा दिइरहेको छ। करिब तीसदेखि चालिस प्रतिशत भारतीय नागरिक उपचारका लागि यहाँ आउने गरेको अस्पतालको तथ्यांक छ।

अस्पतालबाट सामान्य अवस्थामा दैनिक करिब सात सय र असामान्य अवस्थामा करिब १२ सय जति बिरामीले बहिरङ्ग सेवा लिने गरेको तर त्यसलाई धान्न भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभाव रहेको विकास समितिका अध्यक्ष सिंहको भनाइ छ।

‘नेपालीहरू टाउको दुखे पनि दरभङ्गा लगायत भारतीय अस्पतालमा जाने परिपाटी छ तर आँखा उपचारका लागि भने भारतबाट धेरै मान्छे उपचारका लागि यहाँ आउँछन्, यो हाम्रो लागि गौरवको विषय हो। यदि अस्पताललाई थप व्यवस्थित, सुविधासम्पन्न बनाउन सक्ने हो भने अझ धेरै काम गर्न सकिन्छ तर हाम्रो मात्रै स्रोतले धेरै काम गर्ने अवस्था छैन’, सिंहले भने।

उनका अनुसार स्वीस् रेडक्रसको सहयोगमा धेरै पहिले बनेका बहिरंग विभाग तथा प्रशासनिक भवनबाट सेवाप्रवाह भइरहेको छ। त्यसबाहेक बिरामी तथा कुरुवालाई राख्ने पर्याप्त संरचना छैन। डाक्टरलाई आवासीय भवन छैन।

प्रशासन शाखाले दिएको विवरणमा अस्पतालमा हाल ५५ जना कर्मचारी कार्यरत छन्। डा. बोहराले नेतृत्व गरिरहेको अस्पतालमा डा. अमित यादव र डा. रञ्जना ठाकुर गरी तीन जना मात्रै डाक्टर छन्।

अस्पतालबाट सामान्य अवस्थामा दैनिक करिब सात सय र असामान्य अवस्थामा करिब १२ सय जति बिरामीले बहिरङ्ग सेवा लिने गरेको तर त्यसलाई धान्न भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभाव रहेको विकास समितिका अध्यक्ष सिंहको भनाइ छ।

दक्ष जनशक्ति र अन्य उपकरणको अभावमा ४१ वर्ष इतिहास भएको अस्पतालमा मोतिविन्दुबाहेक अन्य रोगको शल्यक्रिया सेवा विस्तार गर्नसकिएको छैन।

‘सेवा उपलब्ध गराउन भौतिक पूर्वाधार, प्रविधि र दक्ष जनशक्तिको अभाव छ। सुरुमा वार्षिक २५ सयलाई सेवा दिने यस अस्पतालले हाल एक लाख २५ हजारलाई सेवा दिन्छ। सुरुदेखि नै हामीले मोतिबिन्दुको मात्रै शल्यक्रिया गरिरहेका छौ। बाँकी बिरामीलाई विराटनगर र काठमाडौं रेफर गर्नुपर्ने बाध्यता छ। त्यसकारण छिट्टै नै थप सेवा विस्तार गर्नुपर्ने आवश्यकता छ’, डा बोहराले भने।

ठूलो संख्यामा भारतीय नागरिक पनि उपचारका लागि आउने भएकाले भारतीय पक्षबाट पनि आवश्यक सहयोगका लागि सहजीकरण गर्नुका साथै संघ, प्रदेश र स्थानीय तहले पनि सेवा विस्तारका लागि सहयोग गर्न जरुरी रहेको अस्पताल विकास समितिका अध्यक्ष सिंहको निष्कर्ष छ।

प्रशासन प्रमुख सिंह पनि आँखाजस्तो संवेदनशील अंगबारे अब तीनै तहका सरकार संवेदनशील हुनपर्ने अन्यथा दाताको भरमा चल्नुपर्ने संस्था जतिसुकै बेला समस्यामा पर्नसक्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउँछन्।

आवश्यक सहयोग प्राप्त भएमा मोतिविन्दु र मासु पलाएको सामान्य शल्यक्रियामा सीमित रहेको अस्पतालबाट विशिष्टीकृत सेवा दिन टेवा पुग्ने र यसले यस क्षेत्रका बिरामीलाई अन्यत्र रेफर गरी महँगो उपचार गर्नुपर्ने बाध्यताबाट समेत मुक्ति दिन सघाउने निर्देशक डा. बोहराको विश्वास छ।

प्रशासन प्रमुख सिंह पनि आँखाजस्तो संवेदनशील अंगबारे अब तीनै तहका सरकार संवेदनशील हुनपर्ने अन्यथा दाताको भरमा चल्नुपर्ने संस्था जतिसुकै बेला समस्यामा पर्नसक्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउँछन्।

उनी भन्छन्, ‘विभिन्न समस्याका बाबजुत आँखा उपचारको भरपर्दो माध्यमका रूपमा अस्पताल परिचित छ। दाताबाहेक यसको थप विकास र विस्तारका लागि तीनै तहका सरकारबाट आवश्यक सहयोग र साझेदारी भएमा विशिष्टकृत सेवासहित यस क्षेत्रकै ‘रेफरल’ आँखा उपचार केन्द्र बनाउन सकिन्छ।’

प्रकाशित: ४ भाद्र २०८० ०५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App