१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

सुनसरी उद्योग वाणिज्य संघमा पनि निःशुल्क डेंगु उपचार शुरु

अस्पताल तथा निजी क्लिनिकहरूमा डेंगुका बिरामीहरूको चाप थेग्न गाह्रो भएपछि सुनसरी उद्योग वाणिज्य संघ धरानले पनि निःशुल्क डेंगु उपचार सेवा शुरु गरेको छ। 

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर संघले धरान १ स्थित आफ्नै भवनमा रहेको मिलेनियम हलमा तत्काल २० बेडको उपचार सेवा शुरु गरेको हो।आवश्यक परेमा थप १० बेड पनि विस्तार गर्ने गरि निःशुल्क उपचार शुरु गरिएको संघका अध्यक्ष विजय श्रेष्ठले बताए  अहिले प्रत्येक घरमा २, ३ जना डेंगुका बिरामी छन्, अस्पताल र निजी क्लिनिकमा बिरामीको भिड छ,’उनले भने,‘यस्तो बेला हामीले पनि केही गर्नुपर्छ भनेर उपचार सेवा शुरुवात गरिएको हो । तत्काल २० बेड छ, आवश्यकता परे १० बेड थप्छौँ।’

उपचार सेवाको लागि धरान उपमहानगरपालिका, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, केएचडिसी र पिएसआरएनले पनि सहयोग गरेको हो । बिपी प्रतिष्ठान, केएचडिसी र पिएसआरएनबाट प्राविधिक तथा जनशक्ति सहयोग छ । प्रतिष्ठानका शिक्षाध्यक्ष समेत रहेका वरिष्ठ चिकित्सक प्रा.डा.सञ्जीव शर्मा, हाड जोर्नी विभाग प्रमुख प्रा.डा.विक्रम श्रेष्ठको पनि निगरानी तथा परामर्श हुनेछ। 

उपचार केन्द्रमा चौबिसै घण्टा बिरामीलाई सेवा उपलब्ध हुनेछ।अस्पतालमा हुने उपचार विधि जसरी नै यहाँ बिरामीको उचाइ, तौल, ब्लड प्रेसर, सुगर पनि जाँच हुनेछ भने एक जना डाक्टर हरदम रहेर जाँच गर्नेछन् । साथै, निःशुल्क डेंगु टेष्ट पनि गरिनेछ । रिपोर्ट पोजेटिभ आएमा र स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्नुपर्ने देखिएमा मात्र बेड भर्ना गरिने उपचारमा खटिएकी बिपी प्रतिष्ठानकी स्टाफ नर्स श्वेता भण्डारीले बताइन्।

यसअघि, बिपी प्रतिष्ठान र धरान उपमहानगरपालिकाको सहकार्यमा प्रतिष्ठानले निःशुल्क डेंगु ज्वरो क्लिनिक सञ्चालनमा ल्याएको थियो भने बिरामीको चाप बढेपछि छुट्टै डेंगु वार्ड पनि बिपी प्रतिष्ठानले सञ्चालन गरिसकेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा उपमहानगरपालिकाले पनि पुरानो अस्पतालमा डेंगु उपचार केन्द्र सञ्चालनमा ल्याएको छ।यस्तै, वडा नं १३, १४ र ८ ले नि आफ्नै वडामा डेंगुका बिरामीको उपचार गरिरहेका छन्। धरानमा डेंगुले हालसम्म ९ जनाको मृत्यु भएको छ। हालसम्म ५७८७ जनाको परीक्षण गर्दा ३६२५ जना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य महाशाखाले जनाएको छ। 

प्रकाशित: २३ श्रावण २०८० १४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App