२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

चौदण्डीगढीमा सुविधा सम्पन्न नयाँ स्वास्थ्य चौकी भवन

उदयपुरको चौदण्डिगढी नगरपालिका ९ मा एकै दिन ४ योजनाको उद्घाटन भएको छ। सो वडामा सम्पन्न आर्थिक वर्ष ०७९/८० मा निर्मित ४ वटै योजनाको शनिबार नगरप्रमुख कालुमान तामाङ र उपप्रमुख मणिकादेवी दुलालले संयुक्त रुपमा उद्घाटन गरे।

उनीहरुले नवनिर्मित स्वास्थ्य चौकी भवन, बिपी चौक–शुक्रबारे हटिया, १० नम्बर वडा कार्यालय हुँदै पश्चिम वकनिया देवधार जोड्ने ४.५ किलोमिटर कालोपत्रे, स्थानीय बगुवा खोला र मर्ले खोलामा निर्मित कल्भर्ट पुलको उद्घाटन गरेका हुन्। वडाध्यक्ष प्रकाश राउतका अनुसार स्वास्थ्य चौकी भवन ७९ लाख ९६ हजार ७ सय ३५ रुपैयाँ लागतमा निर्माण भएको हो।

झण्डै ३ कठ्ठा क्षेत्रफल जमिनमा निर्मित स्वास्थ्य चौकी भवनमा औषधि (फार्मेसी) कक्ष, बिरामी जाँच, ड्रेसिङ, गर्भवती जाँच, प्रयोगशाला, कार्यालय प्रमुख कक्ष, कर्मचारी कक्ष, बिरामी करुवाका अलग–अलग कक्षहरुसहित रहेका छन्। चालु आर्थिक वर्षदेखि एमबिबिएस चिकित्सकको सेवा सुचारु गर्ने गरी भवन निर्माण गरिएको वडाध्यक्ष राउतले बताए। चालु आर्थिक वर्षमा माथिल्लो तला थपेर कर्मचारी निवास बनाउने र २४ सै घण्टा स्वास्थ्य सुविधा उपलब्ध गराउने योजनाका साथ भवन बनाइएको उनको भनाई छ।

त्यस्तै २ करोड लागतमा वडाभित्र आउजाउ र नगरपालिका केन्द्र बेल्टार जोडिएको कालोपत्रे सडक निर्माण भएको छ। त्यसैगरी वडाकै बगुवा खेलामा ७ लाख लागत र मर्ले खोलको ३ लाख लागतमा कल्भर्ट पुल निर्माण सम्पन्न भएको वडाध्यक्ष राउतले बताए। २ वटा खोलामा कल्भर्ट पुल निर्माण भएपछि वडाको शुक्रबारे हटियादेखि हडिया बस्ती हुँदै वडावासीलाई वर्षायाममा एउटा बस्तीबाट अर्कोमा आउजाउ गर्न धेरै सहज भएको छ।

योजना उद्घाटन गर्दै मेयर तामाङले निर्वाचनताका गरेको प्रतिबद्धता अनुसार विकास निर्माणले गति लिएको बताए। हिजो चुनावमा भोट माग्दै आउँदा जनतासँग गरेको वाचा र प्रतिबद्धता अनुसार काम भइरहेको भन्दै उनले त्यसमा रत्तीभर विचलित नभई, तलमाथि नगरी काममा लागिरहेको बताए। 

सुशासन र विकास निर्माणका काममा नीति बनाएरै अघि बढिरहेको भन्दै मेयर तामाङले केही मुठ्ठीभर व्यक्तिहरुले आफूलाई घेराउ गरेर काममा बाधा दिइरहेको गुनासो मेयर तामाङको थियो।

उनले संघीय सरकारलेसमेत आफ्नो काममा अंकुश लगाउने गरेको भन्दै ३ तहका सरकार मिलेर विकास निर्माणमा अघि बढ्नुको विकल्प नभएको बताए।

मेयर तामाङले नगरपालिकाभित्र रहेका थोरै संख्याका विद्यार्थी भएका विद्यालयलाई मर्ज गर्ने, कक्षा घटुवा गर्ने र कामै नगरी सेवा सुविधा खाँदै आएका शिक्षकलाई सरुवा गरेर शैक्षिक सुधारको प्रयास थाल्दा सबैतिरबाट घेराबन्दी हुन थालेको दुखेसो गरे। नगर शैक्षिक क्षेत्रमा आमूल परिवर्तन भएको दाबी गर्दै उनले नतिजा आउन भर्खर सुरु भएको बताए। आफू चौतर्फी घेराबन्दीमा परे पनि गर्नेवाला नभएको भन्दै विद्यमान नीतिलाई टेकेर नगरपालिकाको गुणात्मक सुधारका लागि लडिरहने प्रतिबद्धता जनाए।

प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुप्रति लक्षित गर्दै मेयर तामाङले चालु आर्थिक वर्ष चौदण्डिगढी नगर क्षेत्रमा संघ र प्रदेशको बजेटले आफ दुःखी भएको सुनाए। यस वर्षको बजेटमा संघ र प्रदेश दुवैतर्फको अवस्था झण्डै झण्डै शून्य रहेको भन्दै उनले चुनावको बेला पुल, सडक बनाइदिन्छु भन्दै शिलान्यास गर्दै हिँड्ने, चुनाव जितेपछि बेपत्ता हुने लत कसैकसैलाई लागेको भन्दै काम गर्ने भए चुनावअघि योजना सम्पन्न गर्न र नगर्ने भए चुनावी फण्डा मच्चाएर गलत प्रचार नगर्न सुझाए।

कार्यक्रममा उपमेयर मणिकादेवी दुलालले एउटा गाउँबाट अर्को गाउँ जोड्ने खोला खहरेमा कल्भर्ट र ट्रष्ट पुल निर्माण गर्ने नगरपालिकाको नीति अनुरूप गत आर्थिक वर्ष १७ वटा पुल पुलेसा बनाइएको बत्ताइन्।

शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता राखी विकास निर्माणलाई तीव्रता दिएको भन्दै दुलालले त्यसको नतिजा अव जनताले देख्न थालेको दाबी गरिन्।

‘स्वास्थ्य क्षेत्रमा नगर अस्पताललाई सुविधा सम्पन्न बनाई विशेषज्ञ सेवा उपलब्ध गराउने र स्वास्थ्य चौकीलाई सुधार गरिने नीति लिएका छौं’ उपमेयर दुलालले भनिन् ‘त्यस्तै कृषि क्षेत्रमा जमिनहरू बाँझो राख्न नदिने र नियमित उत्पादनसँग जोडिने गरी पाँच बर्से कार्यक्रम बनाएर अघि बढिरहेका छौं।’

प्रकाशित: ८ श्रावण २०८० ०९:३० सोमबार