७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

डाक्टर पढाउँदै ‘स्थानीय सरकार’

कर्णाली राजमार्गसँग जोडिएको दैलेखको आठवीस नगरपालिका स्वास्थ्यका दृष्टीले भने निकै पछाडि छ। १६८ वर्ग किलोमिटरमा फैलिएको नगरपालिकामा एक जना पनि डाक्टर छैनन्। कोही विरामी पर्दा अछाम र सुर्खेतमा पुर्याउनुपर्ने बाध्यता स्थानीयसँग छ। यहीँ बाध्यतालाई बुझेर २०७४ सालमा पहिलो पटक नगरपालिकाले डाक्टरका लागि आवेदन आव्हान गर्यो। आफ्नै गाउँठाउँमा नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले नगरपालिकाले आव्हान गरेको विज्ञापनमा डाक्टरहरुले निवेदन दिएनन्। ‘झण्डै एक वर्षसम्म हामी डाक्टरको खोजीमा लाग्यौं, विज्ञापन गर्यौं, चिनेजानेहरुमार्फत पनि खवर गर्यौं,’ तत्कालीन नगर प्रमुख खड्गराज उपाध्यायले भने, ‘हाम्रो गाउँमा कोही पनि डाक्टर आउन मानेनन्।’

साविकका ६ वटा गाउँ विकास समितिहरु मिलेर बनेको यो नगरपालिका कालिकोट र अछामसँग जोडिएको छ। अहिलेसम्म गाउँमा डाक्टर पढेका जनशक्ति छैनन्। जति विज्ञापन गर्दा पनि डाक्टरहरु आउन नमानेपछि नगरपालिकाले आफै डाक्टर पढाउने निधो गर्यो। चार वर्षअघि कार्यपालिका बैठकले स्थानीयलाई डाक्टर पढाउने कार्यविधि पारित गर्यो। आर्थिक अभावले इच्छा हुँदाहुँदै पनि डाक्टर पढ्ने हिम्मत नगरेकाहरु धमाधम एमवीवीएसको प्रवेश परीक्षामा सहभागी हुन थाले। धेरै अंक ल्याउने एक जनालाई हरेक वर्ष डाक्टर पढाउने नीति अनुसार आठवीस नगरपालिकाका दुई जना युवाहरु अहिले एमवीवीएस अध्ययन गरिरहेका छन्। ‘आन्तरिक स्रोतले डाक्टर पढाउन गाह्रो छ, तर पालिकाका नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा दिनका लागि डाक्टरको आवश्यकता छ,’ पूर्व मेयर उपाध्यायले भने, ‘गाउँमा डाक्टर आउनै नमान्ने अवस्था भएपछि बाध्य भएर पालिका आफैले एमवीवीएस पढाउने र पढाई पूरा गरेपछि कम्तिमा तीन वर्ष गाउँमा निःशुल्क सेवा दिनुपर्ने कार्यविधि बनाएका छौं।’

‘झण्डै एक वर्षसम्म हामी डाक्टरको खोजीमा लाग्यौं, विज्ञापन गर्यौं, चिनेजानेहरुमार्फत पनि खवर गर्यौं,’ तत्कालीन नगर प्रमुख खड्गराज उपाध्यायले भने, ‘हाम्रो गाउँमा कोही पनि डाक्टर आउन मानेनन्।’

आठवीस नगरपालिका–९ का जीवलाल बढुवाल काठमाडौं विश्वविद्यालयमा एमवीवीएस तेस्रो वर्षमा अध्ययनरत छन्।  पढाई पूरा गर्न उनलाई अझै तीन वर्षको समय लाग्छ। यदि पालिकाले छात्रवृत्ति नदिएको भए उनी डाक्टर पढ्न सक्ने अवस्थामा थिएनन्। कारण थियो, घरको आर्थिक अवस्था न्यून।  

पालिकाले छात्रवृत्तिका लागि आव्हान गरेपछि मात्रै उनले एमवीवीएसको तयारी थालेका थिए। नभन्दै नाम पनि निस्कियो। उनले एमवीवीएस उत्तीर्ण गर्दासम्म पालिकाले २९ लाख ८८ हजार रुपैयाँ खर्चिनेछ। ‘७५ प्रतिशत पालिकाले व्यहोर्ने र बाँकी आफैले व्यहोर्ने गरेर पढिरहेको छु,’ उनले भने, ‘पढेर ठाउँमै सेवा गर्नेछु।’

जीवलालसँगै आठवीस नगरपालिकाका राजकुमार सिजापति पनि एमवीवीएस अध्ययन गर्दैछन्। अवको दुई वर्षमा उनले एमवीवीएसको पढाई पूरा गर्छन्। ‘पढाई सकेर गाउँमै गएर सेवा गर्छु,’ उनले भने, ‘गाउँका नागरिकबाट संकलन गरिएको करबाट पढेकाले त्यसको ऋण तिर्नुपनि छ।’ उनले गाउँमा सेवासँगै विशेषज्ञ चिकित्सक बन्नका लागि पढाईलाई पनि निरन्तरता दिने बताए।

जाजरकोटको कुशे गाउँपालिकाकी जोत्सना कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन गरिरहेकी छन्। उनले एमवीवीएस अध्ययनका लागि प्रवेश परीक्षामा पटक–पटक नाम निकाले पनि आर्थिक अभावका कारण पढ्न पाएकी थिइनन्। ‘प्रवेश परीक्षामा पटक–पटक नाम निकाले पनि रकम अभावले पहिला एमवीवीएस पढ्न भर्ना हुन सकिनँ’, उनले भनिन्, ‘गाउँपालिकाले सहयोग गरेपछि पढ्ने सपना पूरा हुँदै गएको छ।’  

डाक्टर पढाउनका लागि कुशे गाउँपालिकाले प्रथम अध्यक्ष छात्रवृत्ति कोष स्थापना गरेको छ। उक्त कोषमार्फत जोत्सनालाई एमवीवीएस अध्ययनको लागि गाउँपालिकाले ३८ लाख रुपैयाँ सहयोग गरेको छ। केही वर्ष अघिसम्म रहेक वर्ष जाजरकोटमा झाडापखाला फैलिन्थ्यो। झाडापखालाकै कारण जाजरकोटमा धेरैले ज्यान गुमाए। गाउँमा न औषधि थियो, न स्वास्थ्यकर्मी नै। ‘जनप्रतिनिधिका रुपमा हामी निर्वाचित भएर आए लगत्तै डाक्टर, इन्जिनियर पढाउनका लागि आवश्यक रकमको जोहो गर्यौं,’ गाउँपालिका अध्यक्ष हरिशचन्द्र बस्नेतले भने, ‘अहिले गाउँपालिकाले गरेको लगानीले धेरै नागरिकहरुको स्वास्थ्य चेतना बृद्धि गर्न र गाउँमै चिकित्सकीय सेवा प्राप्त गर्न सहज हुनेछ।’कुशेले डाक्टरसँगै इन्जिनियर पनि पढाउँदै आएको छ।  

मुगुको छायानाथ रारा नगरपालिकाले स्थानीय देवीकृष्ण विश्वकर्मालाई बंगलादेशमा चिकित्सा शिक्षा पढाइरहेको छ। नगर प्रमुख विष्णुकुमार भाम जिल्लामै चिकित्सक आउन नमान्ने भएकाले स्थानीयलाई पढाउन थालिएको बताए। ‘हामीले बंगलादेशमा पढ्न पठाएका विद्यार्थी अर्को वर्ष पढाई पूरा गरेर आउँदैछन्, उनले पाँच वर्षसम्म जिल्ला अस्पताल मुगुमा रहेर सेवा गर्नेछन्,’ उनले भने, ‘मुगालीहरु सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ।’  

केही वर्ष अघिसम्म रहेक वर्ष जाजरकोटमा झाडापखाला फैलिन्थ्यो। झाडापखालाकै कारण जाजरकोटमा धेरैले ज्यान गुमाए। गाउँमा न औषधि थियो, न स्वास्थ्यकर्मी नै।

जिल्ला सदरमुकामको नगरपालिका भएकाले डाक्टर पढेर आउनेले जिल्लाभरीका लागि राहत हुने बताए। ‘मुगुमा डाक्टर आउनै मान्दैनन्, आएपनि धेरै समय बस्दैनन्,’ उनले भने, ‘यस्तो समस्या सदाका लागि अन्त्य गर्न नगरपालिकाले गाउँकै नागरिकलाई डाक्टर पढाएको हो।’

देवीकृष्णको परिवार गाउँमै छोरालाई उच्च शिक्षा दिन सक्नेसम्मको आर्थिक हैसियतको होइन्। सदरमुकाममा दैनिक ज्यालादारी गरेर उनको परिवारले दैनिकी चलाउँछ। यस्तोमा बंगलादेशमा गएर चिकित्सक बन्नु उनका परिवारका लागि सपना थियो। ‘त्यो सपना स्थानीय सरकारले पूरा गरिदियो,’ देवीकृष्णकी आमा कालीले भनिन्, ‘अव मेरो छोरो डक्टर भएर आउँदैछ।’

छायानाथले डाक्टर मात्रै होइन्, चार्टर्ड एकाउन्टेन्ट, एचए र इन्जिनियर पनि पढाउँदै आएको छ। ‘प्राविधिक जनशक्तिमा पालिकालाई अब्बल बनाउनका लागि प्राविधिक उच्च शिक्षामा हामीले जोड दिएका छौं,’ उनले भने, ‘दुई जना सिए, २१ जना इन्जिनियर र केहीलाई एचए पढाइरहेका छौं।’

पढाइमा अब्बल भए पनि आर्थिक अभावले आफ्ना छोराछोरीलाई पढाउन नसक्ने अभिभावकहरू भने स्थानीय सरकारको सहयोगले आफुहरूलाई ठूलो राहत भएको उल्लेख गर्छन्। पाटन अस्पतालमा एमवीवीएस अध्ययरत जाजरकोटको कुशे गाउँपालिकाकी ज्योत्सनाकी आमा सुधा कार्कीले छोरीको डाक्टर बन्ने सपना गाउँपालिकाले पूरा गरिदिएर बताइन्। ‘छोरीको डाक्टर बन्ने चाहना थियो, यसअघि पनि नाम निकालेकी थिइन्, घरको आर्थिक अवस्था कमजोर हुँदा हामीले पढाउन सकेका थिएनौं,’ उनले भनिन्, ‘छोरीको डाक्टर पढ्ने सपना अहिले आएर गाउँपालिकाले पूरा गरिदिएको छ।’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँगै जोडिएको छ, लेकवेशी नगरपालिका। साविकका पाँच वटा गाविसहरु मिलेर बनेको यो नगरपालिका भेरीको सुन्दर फाँटदेखि पहाडसम्म फैलिएको छ। सरकारले नगरपालिका घोषणा गरेपनि यहाँ एक जना पनि एमवीवीएस डाक्टरहरु छैनन्। दशरथपुर स्वास्थ्य केन्द्रका लागि नगरपालिकाले पटक–पटक एमवीवीएस डाक्टरका लागि आवेदन खुल्ला गरेपनि यहाँ कोही आउन मानेनन्।  

डाक्टर आउन नमान्ने भएपछि नगरपालिकाले आफ्नै नागरिकहरुलाई डाक्टर पढाउने निर्णय गर्यो। लेकवेशी नगरपालिकाले चालु आर्थिक वर्षदेखि आर्थिक वर्ष ०८४-८५ सम्म प्रति वर्ष एक जनालाई एमबीबीएस पढ्नका लागि छात्रवृत्ति दिने निर्णय गरेको छ। पाँच वर्षमा आफ्नै लगानीमा पाँच जना डाक्टर उत्पादन गर्ने लक्ष्य नगरपालिकाको हो।

पाटन अस्पतालमा एमवीवीएस अध्ययरत जाजरकोटको कुशे गाउँपालिकाकी ज्योत्सनाकी आमा सुधा कार्कीले छोरीको डाक्टर बन्ने सपना गाउँपालिकाले पूरा गरिदिएर बताइन्।

नगरपालिकाले छात्रवृत्ति पाउन मञ्जुर हुनुपर्ने केही शर्त पनि राखेको छ। जसमध्ये पढाई पूरा भएपछि ‘कम्तिमा दुई बर्ष आफ्नो पालिकामा रहेर काम गर्ने’ हो। स्थानीय तहमा डाक्टर आउन नमान्ने र आएपनि धेरै नटिक्ने भएपछि नगरपालिकाले यो निर्णय गरेको हो। यसरी नगरपालिकाले पढाएका डाक्टरले शर्त पालना गरे आगामी १० बर्षसम्म नियमित रुपमा एक जना भएपनि डाक्टरले पालिकाभित्र सेवा दिन्छन्।

सुरुदेखि नै पढाईमा अब्बल लेकवेशी नगरपालिका–१ का नितेश पौडेलको सपना डाक्टर नै बन्ने थियो। यही सपना बोकेर एसईईपछि उनले विज्ञान विषय पढे। विज्ञान विषयमा पनि उनी अब्बल विद्यार्थी सावित भए।

त्यसपछि उनी काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साईन्सले एमबीबीएस पढाईका लागि लिएको प्रवेश परीक्षामा सहभागी भए। जसमा उनले १५५ स्कोरसहित उत्तीर्ण भए। एमबीबीएसको प्रवेश परीक्षामा नितेशले ल्याएको यो स्कोर नगरपालिकाबाट छात्रवृत्ति पाउन उत्कृष्ट योग्यता बन्यो।

यही चालु आर्थिक बर्षमा लेकवेशी नगर कार्यपालिकाले पाँच बर्षसम्म प्रत्येक बर्ष एक÷एक जनालाई नगरपालिकाबाटै छात्रवृत्ति रकम व्यहोरेर एमबीबीएस पढाउने निर्णय गरेको थियो। पहिलो बर्ष ०७९-८० मा पालिकाभित्रका ३ जनाले छात्रवृत्तिका लागि आवेदन दिएका थिए।

तीन जनामा नितेश उत्तीर्ण भएका छन्। उनी काठमाडौं विश्वविद्यालयमा अहिले एमबीबीएस पहिलो बर्षमा अध्ययनरत छन्। उनले यो अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने छन्।

‘छोराले पहिलेदेखि नै डाक्टर पढ्ने भनेर जिद्दी गरिरहेको थियो, सन्तानले ईच्छा गरेपछि जसरी पनि पढाउनै पर्ने थियो,’नितेशका बुवा नेत्रप्रसाद पौडेलले भने, ‘मैंले त ऋण–सापट वा थोरै जमिन बेचेर भएपनि पढाउने सोचेको थिएँ, अब नगरपालिकाले सबै छात्रवृत्ति दिने भएपछि ढुक्क भयो।’ पौडेल सहकारी क्षेत्रमा काम गर्छन्।

नगरपालिकाले दिने छात्रवृत्ति रकम चार किस्तामा उपलब्ध गराईनेछ। जस मध्येको पहिलो किस्ता वापतको रकम १३ लाख ७७ हजार ८५ रुपैयाँ सबै कागजात पूरा गरेपछि उनले पाईसकेका छन्।

नगरपालिकाले विश्वविद्यालयले पढाईका लागि लिने सबै खर्च छात्रवृत्ति स्वरुप व्यहोर्ने भए पनि होस्टेल लगायतको बाह्य खर्च भने उनले आफैं जुटाउनुपर्ने छ।

आफूले नगरपालिकाको सहयोग खेर जान नदिने नितेशले बताए। ‘हुन त बुवाले जसरी भएपनि पढाउँछु भनेर हौसला दिनुभएकै थियो, अब स्थानीय सरकारले छात्रवृत्ति दिएपछि परिवारलाई भार परेन,’ उनले भने, ‘सकेको मेहनत गरेर सरकारले गरेको लगानीलाई सदुपयोग गर्छु।’

आफ्नो अध्ययनपछि पनि नगरपालिकासँगको शर्त पूरा गर्ने नितेशले बताए। ‘यति धेरै लगानी गरेपछि दुई बर्ष आफ्नो पालिकामा बसेर काम गर्न समस्या नै छैन, आफ्नो ठाउँमा बसेर सेवा गर्न पाउनु त खुसीको कुरा हो नि।’ उनले भने।

नगरपालिकाले यसरी छात्रवृत्ति दिँदा प्रतिस्पर्धीलाई स्कोरका आधारमा छनोट गर्ने गरेको छ। बर्षमा जतिले नगरपालिकामा छात्रवृत्तिका लागि आवेदन दिन्छन् उनीहरु मध्ये एमबीबीएसको प्रवेश परीक्षामा सबैभन्दा धेरै स्कोर ल्याएको आवेदकलाई नगरपालिकाले छनोट गर्ने गरेको छ।

कर्णालीमा ३१६ वटा स्वास्थ्य चौकीहरु छन्। १५ देखि २५ बेडसम्मका २६ वटा अस्पतालहरु छन्। नेपाल चिकित्सक संघ कर्णाली प्रदेशका अध्यक्ष डा. नवराज केसी स्थानीय तहले डाक्टर पढाउने भन्दा पनि संघ र प्रदेशले राम्रो नीति बनाउनुपर्नेमा जोड दिनुपर्ने बताउँछन्। ‘संघीय सरकारले एमवीवीएस अध्ययन गरेका चिकित्सकहरुलाई दुई वर्षसम्म स्थानीय स्वास्थ्य चौकीमा अनिवार्य सेवा गर्नुपर्ने नीति बनाइदिनुपर्छ,’ उनले भने, ‘दुई वर्षसम्म स्वास्थ्य चौकीमा बसेर सेवा दिएका चिकित्सकहरुलाई एमडी अध्ययनका लागि प्रदेश सरकारले सहयोग गरिदिए गाउँमा डाक्टरहरुको कमि हुँदैन्।’ उनले डा. गोविन्द केसीसँग भएको सहमतिपछि अहिले दुर्गममा सेवा गर्न आउने डाक्टरहरुको लहरनै चलेको बताउँदै प्रदेश र संघीय सरकारले राम्रो नीति बनाएर कार्यान्वयन गर्नुपर्नेतर्फ जोड दिनुपर्ने बताए।

आफ्नो अध्ययनपछि पनि नगरपालिकासँगको शर्त पूरा गर्ने नितेशले बताए। ‘यति धेरै लगानी गरेपछि दुई बर्ष आफ्नो पालिकामा बसेर काम गर्न समस्या नै छैन, आफ्नो ठाउँमा बसेर सेवा गर्न पाउनु त खुसीको कुरा हो नि।’ उनले भने।

‘एउटा डाक्टर पढाउनका लागि ५० लाखको हाराहारीमा खर्च आउँछन्, स्थानीय तहले पढाएका एमवीवीएस डाक्टरहरु सधैं पालिकाभित्र सेवा गर्न सक्ने अवस्था रहँदैन्,’ उनले भने, ‘एकातर्फ स्थानीय तहको खर्च बढिरहेको हुन्छ भने अर्कोतर्फ केही समय बसेर एमडी गर्न बाहिर जानुपर्ने बाध्यता रहन्छ।’ उनले स्वास्थ्य चौकीमा सेवा दिने डाक्टरको ग्रेड बृद्धिका लागि अंकभार थप्ने नीति लिएको खण्डमा पनि कर्णालीमा डाक्टरहरुको कमि नहुने बताए। हाल कर्णालीमा १०० को हाराहारीमा एमवीवीएस र एमडी गरेका डाक्टरहरु छन्।

प्रदेश सरकार पनि डाक्टर पढाउँदै

कर्णाली प्रदेश सरकारले हरेक वर्ष ५० जना डाक्टर उत्पादन गर्ने भएको छ। स्वास्थ्यका दृष्टिकोणले पछाडि परेको कर्णालीमा बाह्य जिल्लाका विशेषज्ञ चिकित्सकहरु आउन मान्दैनन्। प्रदेश सरकारले कर्णालीकै नागरिकहरुलाई चिकित्सक बनाएर कर्णालीमै सेवा गर्ने वातावरण बनाउने उद्देश्यले डाक्टर पढ्न छात्रवृत्ति दिने निर्णय गरेको छ।  

सामाजिक विकास मन्त्रालयका उपसचिव विनोद आचार्यका अनुसार कर्णालीका १० जिल्लाबाट पाँच–पाँच जनाका दरले डाक्टर उत्पादन गर्न बजेट छुट्याइएको छ। ‘अहिले बाहिरबाट आउने चिकित्सकहरु कर्णालीमा बस्न मान्दैनन्, दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच पुर्याउन प्रदेश सरकारले आफै जनशक्ति उत्पादन गर्दैछ,’ उनले भने, ‘चालू आर्थिक वर्षदेखि १० वटै जिल्लाबाट पाँच–पाँच जनालाई छात्रवृत्तिमा डाक्टर पढाउँदैछौं।’  

प्रदेश सरकारको छात्रवृत्तिबाट पढेका चिकित्सकहरुले कम्तिमा पाँच वर्ष कर्णालीमै बसेर सेवा गर्नुपर्ने छ। प्रदेश सरकारले यसका लागि ‘कर्णालीको जनशक्ति, कर्णालीमै सेवा’ भन्ने नारा तय गरेको छ। संघीय सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरु कर्णालीमा आउन नमान्ने र आएपनि तोकिएको अवधिसम्म नबस्ने भएकाले प्रदेश सरकारले डाक्टर पढ्न छात्रवृत्तिको व्यवस्था गरेको हो। ‘जहाँको जनशक्ति, त्यहीँ सेवा भन्ने उद्देश्य यो कार्यक्रमको छ,’ उनले भने, ‘यो कार्यक्रममार्फत केही वर्षभित्रै नागरिकको घर–घरमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने प्रदेश सरकारको लक्ष्य पूरा हुन्छ।’

प्रकाशित: ६ जेष्ठ २०८० ०५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App