१२ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मितेरी बर्थिङ सेन्टरः पाँच वर्षपछि गाउँपालिकालाई हस्तान्तरण

मितेरी बर्थिङ सेन्टर हस्तान्तरण गरेको तस्बिर गोल्डेन बुढा जुम्ला ।

 सिँजा गाउँपालिका – ६ दाँतमा बनेकाे मितेरी बर्थिङ सेन्टर गाउँपालिकालाइ हस्तारन्तण गरिएकाे छ। एक्सन वर्कर्स नेपालको सहयोगमा २०७५ सालमा स्थापना भएकाे उक्त मितेरी बर्थिङ सेन्टर अब गाउँपालिका अन्तर्गत रहने छ। 

साविकको शनिगाउँ गाविस संघीयतापछि जुम्लाको सिँजा गाउँपालिका –५ र ६ नम्बर वडामा पर्ने जोडु,भाडगाउँ, फुङ्ग्र, काडागाउँ, रुघा ,शनिगाउँ र गोेरा लगायत गाउँबस्ती छन्। दुर्गम गाउँ बस्तीमा पुग्ने कच्ची बाटो पुगेको छ। तर, सवारी साधन भने नियमित आवतजावत हुदैनन्, सडकको स्तरवृद्धि गर्नुपर्ने आवश्यकता छ। ६ वडाका तत्कालिन वडाध्यक्ष कालीबहादुर बुढाका अनुसार यो ठाउँमा २०७५ बर्थिङ सेन्टर स्थापना नहुदा गर्भवती महिलालाई बोकेर शनिगाउँ, नराकोट, खलंगा लिनु पर्ने अवस्था थियो। एक जना गर्भवती महिला बाटोमै सुत्केरी भइन्। नवजात शिशुको मृत्यु भयो। अर्की गर्भवती महिला बर्थिङ सेन्टरमा लैजादा लैजादै बाटोमा बच्चाको हात निस्कियो । नराकोट बर्थिङ सेन्टरमा शल्यक्रिया गर्नु पर्ने अवस्था आयो। बच्चाको मृत्यु भयो। यहाँका महिलाले धेरै दुःख पाएपछि एक्सन वर्कर्स नेपालको सहयोगमा २०७५ सालमा सिँजा गाउँपालिका – ६ दाँतमा मितेरी बर्थिङ सेन्टर स्थापना भएको हो।

बर्थिङ सेन्टर स्थापनादेखि एक्सन वर्कस् नेपालले एक जना स्वास्थ्यकर्मी (अनमी) राखेर गर्भवती महिलालाई चेकजाँच देखि सुत्केरी गराउदै आएको तत्कालिन वडाध्यक्ष बुढाले बताए। बर्थिङ सेन्टरकी अनमी सारादा रोकायाले स्थापना भएदेखि ०८० बैशाख मसान्तसम्म ८५ जना गर्भवती महिला सुत्केरी भएको बताइन्। 

उनले भनिन् 'यहाँबाट दुई जना गर्भवती महिलालाई मात्रै रेफर गरिएको हो। गर्भ चेकजाँच गर्न नमान्ने, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुनु पर्छ भन्ने जानकारी नै नआएका महिलाहरु पछिल्लो समय सचेतीकरण भएर नियमित चेकजाँच र प्रसुति गर्न स्वास्थ्य संस्थामा आउने गरेका छन्। अहिलेसम्म नियमित सञ्चालनमा आएको बर्थिङ सेन्टर गाउँपालिकालाई हस्तान्तरण पछि बन्द नहोस र यहाँका गर्भवती महिलाले सेवा पाईराखुन'। 

सिँजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले दुर्गम ठाउँमा बर्थिङ सेन्टरले सेवा प्रवाह गर्दा आमा सुरक्षा सूचक बृद्धि भएको बताए। अहिले पनि कतिपय गर्भवती महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका छन्। आवश्यकता ठानेर स्थापना गरेको बर्थिङ सेन्टर पाँच वर्षपछि सिँजा गाउँपालिकालाई हस्तान्तरण गरेको एक्सन वर्कर्स  नेपालकी अध्यक्ष सम्झना पौडेलले बताइन्। उनले भनिन्, 'स्थानीय स्तरबाटै माग भएपछि सरोकारवाला निकायको समन्वयमा स्थापना भएको हो। बर्थिङ सेन्टरको व्यवस्थापन, संरक्षण सवै गाउँपालिकाले गर्ने गरी हस्तान्तरण गरेका हाैं।'

सिंजा गाउँपालिका-२ वडाध्यक्ष तीर्थ वडाले दुर्गम क्षेत्रमा गर्भवती महिलाको सेवाका बर्थिङ सेन्टर स्थापना गर्नु सबल पक्ष भएको बताए ।एक्सनले बर्थिङ सेन्टर संचालनका लागि भौतिक संरचना निर्माण, प्रसुति स्वास्थ्य सामग्री, सोलार प्रणाली र एक जना स्वास्थ्यकर्मी अनमी समेत पाँच वर्षदेखि व्यवस्थापन गर्दै आएको थियो । ६ का वडाध्यक्ष लालबहादुर बुढाका अनुसार हस्तान्तरणपछि सवै जिम्मेवारी पालिकाको काँघमा आएको छ । उनले भने यसको व्यवस्थापन देखि संरक्षणको गाउँपालिका देखि समुदायको भुमिका रहने छ।

प्रकाशित: ५ जेष्ठ २०८० ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App