नारायणी अस्पतालको बन्द आई.सी.यु. संचालन गर्न महानगले सहयोग गर्ने भएको छ।
नारायणी अस्पतालमा बन्द अवस्थामा रहेको २३ बेडको आई.सी.यु. वार्ड वीरगन्ज महानगरपालिकाको सहयोगमा संचालनमा आउने भएको हो।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधबार अस्पतालको अनुगमन गर्दै बन्द अवस्थामा रहेको आई.सी.यु.वार्ड आउँदो आइतबारबाट पूर्ण क्षमतामा संचालनमा ल्याउन आवश्यक जनशक्ति सहयोग गर्ने बताएका हुन्।
मेयर सिंहले सामाजिक संजाल मार्फत पनि वीरगन्ज महानगरको हातेमालो र सहकार्यमा यहीँ आउँदो २४ गते आइतबारदेखि पूर्ण रूपमा संचालनमा ल्याउने जानकारी दिएका छन्।
“आगामी आ.व. देखि प्रसूति गृहमा कसरी सेवाग्राहीलाई सुलभ तरिकाले सेवा प्रदान होस् भन्ने उद्देश्यले वीरगन्ज महानगरको लगानीमा आधुनिक रूपमा प्रसूति गृह को बिस्तार गर्न लागिएको कुरा समपूर्ण वीरगन्जवासीमा जानकारी गराउँछौँ।” उनले लेखेका छन्।
स्तै अस्पतालको प्रसूति गृहमा बिरामीलाई सहज सेवा प्रदानका लागि आवश्यक संरचना निर्माण गर्न पनि महानगरले आउँदो आर्थिक वर्षमा लगानी गर्ने महानगर प्रमुख राजेशमान सिंहले बताए। उनले अस्पतालमा आउने बिरामीहरूलाई उपचारमा कुनै कमी नराख्न पनि उहाँले चिकित्सक, स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन्।
अहिले अस्पतालमा ७ बेडको आई.सी.यु. संचालनमा रहेको डा. उदयनारायण सिंहले बताए। अब २३ बेडको आई.सी.यु. संचालनमा आएपछि बिरामीहरूलाई सहज हुने उनको भनाइ छ।
अनुगमनमा पुगेका नगर प्रमुख सिंहलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले अस्पतालको समसामयिक विषयमा जानकारी गराएका थिए। आई.सी.यु. संचालनमा ल्याउन २८ जना जनशक्ति आवश्यक पर्ने अस्पतालले जनाएको छ।
प्रकाशित: २० वैशाख २०८० १०:१२ बुधबार