८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

बिमा बोर्डले भुक्तानी नदिँदा समस्यामा आँखा अस्पताल

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सर्वसाधारणको उपचारवापतको बिमा बोर्डबाट आउनुपर्ने रकम उपलब्ध नहुँदा हेटौंडा सामुदायिक आँखा अस्पताल समस्यामा परेको छ। अस्पतालले बोर्डसँग ३ करोड ६७ लाख १२ हजार १६९ रूपैयाँ रकम लिन बाँकी रहेको छ। बिमा बोर्डबाट प्राप्त हुनुपर्ने रकम नआएपछि अस्पतालको दैनिक सेवा नै प्रभावित हुने अवस्थामा पुगेको हो।

बोर्डबाट अन्तिमपटक गत माघ १९ मा ५२ लाख ८७ हजार ४७५ रूपैयाँ प्राप्त भएको हेटौंडा सामुदायिक आँखा अस्पतालले जनाएको छ। रकम नआएपछि अस्पतालले यही चैत मसान्तसम्म रकम निकासाको माग गर्दै बिमा बोर्डलाई पत्र नै पठाएको छ। अस्पतालमा आर्थिक वर्ष २०७४-०७५ देखि स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको छ। बिमा रकम नआउँदा अस्पतालको दैनिक सेवा तथा बिरामीको उपचार एवं शल्यक्रियामा प्रयोग हुने औषधि तथा अन्य सामग्री खरिद गर्न रकम अभाव हुनुका साथै कर्मचारीको तलब व्यवस्थापनमा समेत समस्या भएको अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले जानकारी दिए। स्वास्थ्य बिमा कार्यक्रमबाट विपन्न वर्गका आँखाका बिरामी लाभान्वित हुँंदै आएका छन्। हेटौंडा सामुदायिक आँखा अस्पताल तिलगंगा आँखा प्रतिष्ठानको शाखा हो। अस्पतालको सञ्चालन खर्च आफ्नै आम्दानीको स्रोतबाट जुटाउँदै आएको छ। हाल दैनिक करिब १५० जना स्वास्थ्य बिमा गरेका बिरामी आँखा जाँच गर्न आउने गरेको अस्पतालको तथ्यांकले देखाएको छ। दैनिक बिरामी जाँच, औषधि र चस्मा गरी ५० हजारदेखि १ लाख ५० हजारसम्म बिमा रकम दाबी हुँदै आएको छ।

अस्पतालले दैनिक सेवा सञ्चालन खर्च अभावका कारण तिलगंगा आँखा प्रतिष्ठानसँग सहयोग रकम लिई खर्च गर्दै आएको श्रेष्ठले बताए। बिरामीको सेवाका लागि तय गरिएका निर्माण कार्य अधुरै रहेको जानकारी दिँदै अस्पतालका प्रमुख डा. सुनिल थकालीले रकम निकासा नहुँदा समस्या खेप्नुपरेको बताए। अस्पतालले स्वास्थ्य बिमा बोर्डलाई पठाएको पत्रमा हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय र बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई समेत बोधार्थ दिइएको छ।

प्रकाशित: ८ चैत्र २०७९ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App