२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

आयुर्वेद औषधालयको सेवा आफ्नै भवनबाट

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सरावल गाउँपालिकाले सात वर्षदेखि निःशुल्क सेवा सञ्चालन गर्दै आएको आयुर्वेद औषधालयको सेवाप्रवाह अब आफ्नै भवनबाट गर्न लागेको छ। सरावल गाउँपालिका–२ अत्रहटिमा आयुर्वेद औषधालय सेवा केन्द्रको हालै नयाँ भवन निर्माण गरिएको छ।

सरावल गाउँपालिकाको बहुवर्षीय योजनाअन्तर्गत ३० लाख रुपैयाँको लागतमा चारकोठे भवन वडा नं २ अत्रहटिमा निर्माण गरिएको हो।

अबको दिनमा आयुर्वेद औषधालयमा थप सेवा विस्तारका साथै गाउँपालिकामा योगाहल निर्माणको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए। नवनिर्मित भवनबाट आगामी वैशाखदेखि सेवा सञ्चालन हुने छ।

निःशुल्क रूपमा सेवा प्रदान गर्ने भावनाले सरावल गाउँपालिका र नेपाल सरकारको सःशर्त अनुदानबाट स्वास्थ्य सेवा सञ्चालन गरिएको हो। निःशुल्क टिकटको माध्यमबाट सेवा प्रदान गर्ने दैनिक २५ देखि ३५ सेवाग्राही आउने गरेका मनरी आयुर्वेद औषधालयका कविराज निरीक्षक सन्तोषकुमार कहारले बताए।

‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, सुखी र निरोगी नेपाल तथा स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा’ अवधारणाका साथ २०७२ असारमा स्थापना भएको सो औषधालयले सेवाप्रवाह गर्दै आएको छ।

प्रत्येक महिनामा करिब सात सयदेखि आठ सय सेवाग्राही आउने भएकाले औषधि अभाव भएको केन्द्रले जनाएको छ। यस केन्द्रबाट सरावल गाउँपालिका साथै बर्दघाट नगरपालिका, सुनवल नगरपालिका, रामग्राम नगरपालिकाबाट पनि सेवाग्राहीले सेवा लिइरहेका छन्।

धेरैजसो महिला सेवाग्राही बढी आउने गरेको सेवा केन्द्रले जनाएको छ। सेवा केन्द्रबाट हाडजोर्नी दुख्ने, सेतो पानी बग्ने, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, कब्जियत इत्यादि रोगको उपचार गरिंदै आएको छ। चालु आर्थिक वर्षको सात महिनामा तीन हजार दुई जति सेवाग्राहीलाई सेवा प्रदान गरिएको केन्द्रले जनाएको छ।

हाल यस औषधालयमा कविराज, वैध, औषधि कुटुवा र कार्यालय सहयोगी गरी चार कर्मचारी छन्।यस्तै सेवा केन्द्रले आफ्नो स्थापनाकाल २०७२ असारदेखि २०८९ फागुनसम्म एक लाख, एक हजार, ६३ जनालाई सेवा प्रदान गरेको आयुर्वेद औषधालयको तथ्यांकमा उल्लेख छ। रासस

प्रकाशित: १ चैत्र २०७९ ०४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App