६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

धूमपान नगर्नेमा पनि फोक्सोको क्यान्सर बढ्दै

धेरैजसो फोक्सोको क्यान्सर धुमपान गर्नेलाई हुन्छ। पछिललो समयमा नेपालमा पनि धुमपान नगरेकाहरूमा समेत फोक्सोको क्यान्सर बढ्दोदरमा पाइएको विशेषज्ञ चिकित्सकहरूले बताएका हुन्।  

कहिल्यै धुमपान नगरेका, प्रदूषणको सम्पर्कमा पुगेका, धुमपान नगर्ने ( तर अरूको गरेको धुमपानको सम्पर्कमा पुगेका) आन्तरिक तथा बाह्य प्रदूषण र प्रदूषित वातवरणको सम्पर्कमा काम गर्नेहरूमा फोक्सोको क्यान्सर देखिएको चिकित्सकहरूको जनाएका छन्। चिकित्सकका अनुसार नेपालमा यो समूहमा हुने क्यान्सरको यकिन अध्ययन अनुसन्धान भएको छैन। तर अस्पतालमा आउने बिरामीहरूको क्रम हेर्दा र उनीहरूमा गरिएको सर्वेक्षणले समेत कहिल्यै धुमपान नगरेका मानिसहरूमा फोक्सोको क्यान्सर उल्लेखनीय संख्यामा भेटिएको हो।  

सन् २०१८ मा नेसनल क्यान्सर हस्टिपल तथा रिसर्च सेन्टरका छातीरोग तथा फोक्सो क्यान्सर विशेषज्ञ डा. एमके पियाले गरेको सानो अध्ययनमा कुल फोक्सोका विरामी मध्येमा २० प्रतिशत कहिल्यै धुमपान नगरेका हुन्। उनीहरू बढी मात्रामा नेवार तथा मंगोलियन जातिका छन्। धुमपान नगरी क्यान्सर भएका बिरामीमध्येमा ५० प्रतिशत महिला छन्।  

पछिल्लो समय धुमपान प्रयोग नगर्नेहरूमा फोक्सोको क्यान्सर उल्लेखनीय मात्रामा भेटिएको तर कति र किन भन्ने विषयमा छुट्टे अध्ययन नभएको वीर अस्पताल छातीरोग बिभागका प्रमुख डा. अशेष ढुंगाना बताउँछन्। धुमपान नगर्ने भएर पनि फोक्सोको क्यान्सर लागेकाहरू युवा उमेरकै रहेको डा. ढुंगाना बताउँछन्। उनका अनुसार फोक्सोको क्यान्सर ५५ देखि ६० वर्षपछि देखिनु पर्नेमा धुमपान नगरेकामा त्यो भन्दा कम उमेरमै देखिएको डा. ढुंगाना बताउँछन्। उनीहरू कुनै न कुनै प्रदूषण या वंशाणुगत सम्बन्धमा पुगेका हुन्छन्। वीर अस्पतालमा धुमपामन नगरी फोक्सोको क्यान्सर भएर पुग्नेहरू २२ देखि ४० वर्षभित्रका रहेका छन्।  

कुल फोक्सोको क्यान्सरमध्येमा १० देखि १५ प्रतिशत धुमपान प्रयोग नगर्नेहरू छन्। ग्लोबोक्यानको सन् २०२० मा प्रकाशति तथ्यांकअनुसार नेपालमा हरेक वर्ष २५ सय ५ जना अर्थात् कुल क्यान्सर भारको १२.२ प्रतिशत फोक्सोको मात्र क्यान्सर हुने गरेको छ। विश्व स्वास्थ्य संगठनको तथ्याकं अनुसार नेपालमा कुल क्यान्सरको १६ देखि २० प्रतिशत फोक्सोको क्यान्सर छ। फोक्सोको क्यान्सरका बिरामी मध्ये धेरै जसो तेस्रो तया चौथो तहमा पुगेपछि मात्र पहिचान हुने गरेको छ।  

धुमपान नगर्नेमा किन हुन्छ फोक्सोको क्यान्सर ?

चिकित्सकका अनुसार कुनै न कुनै क्यान्सरजन्य धुलो वा धुवाँको सानो कण श्वास÷प्रश्वासको माध्यमबाट फोक्सोमा पुगेमा त्यहाँका कोषहरूमा प्रभाव परी फोक्सोको क्यान्सर हुन्छ। डिजेल,पेट्रोलबाट निस्कने धुवाँ सहितको प्रदूषण, दाउरा तथा प्लास्टिकको धुवाँवाट निस्कने प्रदूषण, रसायनयुक्त अन्य प्रदूषण र धुमपान गर्नेको सम्पर्कमा रहेका व्यक्तिहरूमा फोक्सोको क्यान्सर हुन्छ। तर यीमध्ये कुन चाहिँ निश्चित कारण हो भन्ने विषयमा कुनै अध्ययन नभएको चिकित्सकहरू बताउँछन्। पछिल्लो समय धुमपान नगर्नेमा क्यान्सर हुनुको पछि क्यान्सरको जोखिमपूर्ण पेशा, प्रदुषण, निस्क्रिय धुमपान प्रयोगकर्ता छन्।  

नेपालमा बढ्दो वायु प्रदूषण पनि यसको कारण हुन सक्ने चिकित्सकहरूको अनुमान छ। बस्तीमा रहेका उद्योगधन्दा, बढ्दो सवारीसाधनबाट निसकने धुवाँ, ओजोन ग्याँस, नाइट्रोजनयुक्त तत्व, मोलियरोमेटिक कार्वन जस्ता कार्सोजेनिक तत्वहरू हामीले श्वास फेरिरहेको हावामा हुनुले नेपालमा पनि वायु प्रदूषण फोक्सोको कारक भएको डा. ढुंगाना बताउँछन्। ‘यी तत्वहरू काठमाडौमा निस्किरहेको वायुप्रदुषणमा पनि छ, यसले क्यान्सर साथै दम तथा अन्य श्वास-प्रश्वासका रोग लाग्नमा भूमिका खेलेको हुन्छ,’ उनले भने।

चिकित्सकका अनुसार ग्रामिण तथा बिकट जिल्लाहरूमा घरभित्र दाउरावाट निस्कने धुवाँ पनि फोक्सोको क्यान्सरको कारक देखिएको डा. ढुगाँनाले बताए। ‘कर्णाली भेगमा चुल्होवाट निस्कने धुवाँवाट फोक्सोमा बिभिन्न रोग निस्केको देखिन्छ’डा. ढुंगानाले भने। चिकित्सकका अनुसार धुमपान गर्ने व्यक्तिको नजिक लामो समय बस्ने, कारखानामा दैनिक चार घण्टाभन्दा निरन्तर काम गर्ने व्यक्ति अर्थात् लामोसमयसम्म प्रदुषित धुवाँमा सम्पर्कमा रहने व्यक्तिहरूमा धुमपान प्रयोग नगरेपनि फोक्सोको क्यान्सर भएको देखिन्छ। नेपालमा धुमपान नगर्ने तर अरूको धुमपानको सम्पर्कमा परेका धेरै मानिस छन्।  

काठमाडौ तथा अन्य भेगमा सहरीकरणसँगै प्रदूषण बढेको छ। नेपालमा वायु प्रदूषण घटाउनको लागि सरकारले बेलाबखत कानुनी व्यवस्थासमेत गरेको भएपनि कार्यान्वयन प्रभावकारी नहुँदा अहिले पनि प्रदुषण नियन्त्रण हुन नसकेको उनीहरूको आरोप छ। जोखिम घटाउन सरकारी तहको भूमिका प्रभावकारी हुनुपर्छ नै यसको लागि पुराना गाडीलाई प्रतिबन्ध लगाउने, हावालाई सफा गर्ने, स्वस्थ हावा निर्माणको लागि घरनजिक रूख बिरुवा रोप्ने, घरवाहिर निस्कनु परेमा सुरक्षित मास्कको प्रयोग गर्ने, सकेसम्म प्रदूषित ठाउँमा नजाने, कलकारखानाहरू सहरको नजिक नराख्ने, दाउरा तथा गुइँठाको बिकल्प अन्य इन्धनवाट खाना पकाउने बैकल्पिक व्यवस्था गर्ने जस्ता सावधानी अनपाउनुपर्ने उनीहरूको सुझाव छ।

प्रकाशित: २ फाल्गुन २०७९ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App