खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बच्चादानी (पाठेघर) का बिरामी महिलाको घरघर पुगेर उपचार गर्ने अभियान चलाएको छ। बच्चादानीजस्तो गुप्ताङ्गको रोग भएकाले महिलाहरु खुलेर उपचार गराउन लजाएका कारण उनीहरुको घरमै स्वास्थ्यकर्मीको टोली खटाएर उपचार गरेको नगरपालिकाले जनाएको छ।
महिलाको प्रमुख समस्याको रुपमा रहेको बच्चादानीको मुखको क्यान्सरजस्तो खतरनाक र प्राणघातक रोगबाट बँचाउने उद्देश्यले नगरपालिकाले ११ वटै वडामा उपचार अभियान चलाएको हो। बच्चादानी रोगीको पहिचान गर्दै निःशुल्क उपचार सेवा उपलब्ध गराउन नगरपालिकाले स्वास्थ्यकर्मी टोली खटाएर परिचालन गरेको नगरप्रमुख बिमला राईले बताइन्। बच्चादानीमा हुने क्यान्सर गम्भीर र प्राणघातक रोग हुने हुँदा यसबाट बाँच्न र बँचाउन हरेक वडाका घरघरमा स्वास्थ्यकर्मी टोली पठाएर उपचार गराएको उनको भनाई छ।
नगरपालिकाको स्वास्थ्य शाखाले माघ दोस्रो सातादेखि परिचालन भएको टोलीले नगरभरीका २ सय २५ जना महिला बच्चादानीबाट पीडित भएको पहिचान गरेको छ। यसरी पहिचान भएका बिरामीलाई उनीहरुकै घरसम्म पुगेर स्वास्थ्यकर्मी टोलीले निःशुल्क उपचार सेवा दिएको छ। रोग पत्ता लागेका सवा २ सय महिलामध्ये जटिल समस्या भएका ३२ जनाको बच्चादानीको शल्यक्रिया (अप्रेसन) गर्नुपर्ने देखिएको छ। जस अनुसार उनीहरुको अप्रेसन गर्न आउँदो फागुन १ गतेदेखि काभ्रेपलान्चोकको बनेपा अस्पतालमा गर्ने गरी लाने तयारी भइरहेको छ। बनेपामा उनीहरुको निःशुल्क अप्रेसन गर्नुका साथै उपचारमा लाग्ने खर्चदेखि जाने–आउने र खाने–बस्ने सबै खर्च नगरपालिकाले बेहोरिदिने मेयर राईले बताएकी छिन्।
नगरपालिकाका सबै वडामा गरी हाल १ सय ६ जना महिलाको बच्चादानीको मुखमा ‘रिङ प्रेसरी’ राखिएको छ। क्यान्सरको पूर्वसंकेतको अवस्थालाई बचाउन रिङ प्रेसरी राख्नुपर्ने स्वास्थ्य विज्ञानको नियम भए अनुसार त्यसो गरिएको हो। त्यसैगरी १ सय ४ महिलाको बच्चादानीमा पिआइडी (सङ्क्रामक रोगको उपचार) गरिएको छ।
बच्चाको प्रादुर्भाव (भ्रूण) देखि जन्मने बेलासम्मको ९ महिने अवधिको पहिलो घर महिलाको बच्चादानी भएकाले त्यसको सुरक्षामा सबैले महत्त्व दिनुपर्ने महसुस गर्दै यो अभियान नगरपालिकाले चलाएको जनाइएको छ। यौनजस्तो संवेदनशील र गोप्य विषय भएकाले अधिकतर महिलाहरु बच्चादानीको पीडा बरु लुकाएर राख्ने तर, हतपत कसैलाई नभन्ने समस्याले थाहै नपाई क्यान्सरजस्तो प्राणघातक रोगको सिकार हुने गरेको अध्ययले देखाएको छ।
हलेसी तुवाचुङ नगरपालिकाले गत वर्ष पनि बच्चादानी बिरामी पत्ता लगाएर उपचार गर्ने योजना अनुसार शिविर सञ्चालन गरेको थियो। तर, धेरैजसो महिलाहरु लजाएर शिविरमा जँचाउनै नआएपछि यो वर्ष त्यस्ता बिरामीको पहिचान गरी उपचार गर्न वडा वडामा स्वास्थ्यकर्मी टोली परिचालन गरिएको मेयर राईको भनाई छ। शिविरसम्म आउन लजाउनेहरुलाई यस वर्ष भने घरघरमा आएका स्वास्थ्यकर्मीसँग व्यथा बताएपछि उपचार गर्न सहज भएको हो।
घरघर पुगेको स्वास्थ्यकर्मी टोलीका अनुसार खास गरी सानो उमेरमा विवाह गर्ने तथा असुरक्षित गर्भपतन र छिटो बच्चा पाउने महिलाहरूमा बच्चादानीको रोग संक्रमण भएको पाइएको छ। समग्र खोटाङ जिल्लाका महिलाहरूमध्ये १८ प्रतिशतभन्दा बढीलाई बच्चादानी खस्ने समस्या देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
जनचेतना अभावका कारण खुलेर यौन शिक्षाबारे बोल्न लगाउने तथा भित्री रोगको बारेमा अरुलाई नसुनाई लुकाएर राख्ने कारण नै बच्चादानीको रोगी हुनुको प्रमुख कारण रहेको पनि तथ्यांकले देखाएको छ। महिलाको मुख्य समस्याको रुपमा रहेको बच्चादानीको रोगबाट बाँच्न नगरपालिकाले घरघर पुगेर सेवा प्रदान गरेकोमा खुसी व्यक्त गर्दै स्थानीयले जनप्रतिनिधिको प्रशंसा गरेका छन्।
प्रकाशित: २१ माघ २०७९ १४:११ शनिबार





