६ चैत्र २०८० मंगलबार
स्वास्थ्य

भक्तपुरमा कुष्ठरोगी: तथ्यांकमा छ, वास्तविकतामा छैन

सरकारी तथ्यांक अनुसार भक्तपुर जिल्लाभरि हाल तीनजना कुष्ठरोगीहरु रहेका छन्। तर ती कुष्ठरोगीहरु भक्तपुरका नभएको जनाइएको छ।

७० औ विश्व कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आइतबार यहाँं गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लामा तीनजना कुष्ठरोगीहरु रहेको तथ्यांक प्रस्तुत गरियो। भक्तपुरको भक्तपुर नगरपालिका क्षेत्रमा ती कुष्ठरोगी रहेको कार्यक्रममा बताइयो।

त्यस लगतै कार्यक्रममा सहभागी ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरका प्रमुख डा. रत्नसुन्दर लासिवाले भक्तपुर नगरमा रहेका भनिएका ती तीनजना कुष्ठरोगीहरु स्थानीय नभएको बताए। उनीहरु बाहिर जिल्लाका भएको उनले सुनाए। खाली भक्तपुरमा बसेर औषधि लिइरहेको मात्रै भएको उनले बताए। यस अर्थमा भक्तपुर कुष्ठरोगी विहीन जिल्ला भएको उनको भनाई थियो। 

जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले भक्तपुरका कति कुष्ठरोगीहरुले पनि आनन्द बनमा पुगेर कुष्ठरोगको औषधि खाने गरेको जनाए। त्यस कारण ती कुष्ठरोगीहरु भक्तपुरका कुष्ठरोगीहरु भनी सरकारी तथ्यांकमा गणना नभएको उनले जनाए। कुन जिल्लाका कुष्ठरोगी भन्दा पनि कुन ठाउँबाट औषधि खाइरहेको छ भन्ने सरकारी तथ्यांकले स्थानगत रुपमा वास्तविक तथ्यांक नआएको उनले जानकारी गराए।

आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा नयाँ संक्रमितको संख्या दुई हजार दुई सय ८५ रहेका थिए भने दुई हजार तीन सय ७३ जना उपचारको क्रममा थिए।

वरिष्ठ कुष्ठ तथा छाला रोग विशेषज्ञ डा रमेश शर्माका अनुसार छालामा लाटो, फुस्रो दाग देखिने, स्नायु (नशा) सुन्निने, छालामा नदुख्ने, नचिलाउने गिर्खा देखा पर्ने, हात गोडा झमझम गर्ने, हात गोडा लाटो हुने, पोलेको थाहा नहुने, शरीरमा दुख्ने, पोल्ने, सुन्निएको रातो दाग देखा पर्ने, शरीरमा रातो, दुख्ने गिर्खा देखा पर्ने साथै ज्वरो आउने, जोर्नी दुख्ने, हात गोडा लुलो तथा बाङ्गो हुने, आँखा पूरा बन्द गर्न नसक्ने आदि यस रोगका लक्षणहरू हुन्।

सन् २०२१ को तथ्यांक अनुसार विश्वभरमा एक लाख ३३ हजार सात सय ८१ कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेका थिए। त्यसमध्ये धेरै संक्रमण भारत, ब्राजिल तथा इन्डोनेसियामा       (७४%, स्रोत: विश्व स्वास्थ्य संगठन) भेटिएको जनाइएको छ।

छिमेकी राष्ट्र भारतमा यसको ठुलो प्रभाव रहेकाले पनि नेपालबाट निकट भविष्यमा कुष्ठरोगको पूर्ण उन्मूलन चुनौतीपूर्ण रहेको चिकित्सकहरू बताउँछन्।

कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे नामक किटाणुले गराउने एक प्रकारको कम सर्ने रोग हो। यसले मुख्यगरी छाला, स्नायु (नसा) तथा मांसपेशीमा असर गर्दछ। कतिपय अवस्थामा भने यसले आँखा ,कलेजो, मिर्गौला तथा जोर्नीमा पनि असर गर्ने र ज्वरो आउने हुने गर्दछ।

कुष्ठरोग पनि क्षयरोग जस्तै खोकी, हाछ्युँद्वारा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। तर क्षयरोगको भन्दा कुष्ठरोगको किटाणु धेरै कमजोर हुने हुनाले कुष्ठरोग संक्रमित व्यक्तिसँगको लामो सम्पर्क (प्रतिहप्ता २० घन्टा बढी) बाट यो रोग सर्न सक्ने जनाइएको छ। उपचार सुरू गरिसकेपछि भने कुष्ठरोग सङ्क्रमितबाट अर्को व्यक्तिमा यो रोग सर्दैन। 

कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ भन्ने मूल नाराका साथ आइतबार देशभर दिवस मनाइएको छ।

प्रकाशित: १५ माघ २०७९ १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App