म १९ वर्षको भएँ । राति सुतेको समयमा सपनामा राम्री युवतीसँग सम्भोग गरेको देख्छु । यस्तो सपना हप्तामा दुईतीन पटक देख्छु । सपनामा यौनसम्पर्क गरेको देखेको कारण होला, बिउँझदा वीर्य स्खलित भएको हुन्छ । यो कस्तो समस्या हो ? यसबाट कसरी जोगिन सकिन्छ ?
सी
तपाईंको उमेरका अधिकांश युवालाई यस्तो हुने गर्छ । यो कुनै रोग होइन । यो त एउटा शारीरिक प्रक्रिया हो । सपनामा सम्भोग गरेको देखेर वीर्य निस्कने भएकाले यसलाई स्वप्नदोष भनिन्छ ।
स्वप्नदोषको अर्थ निदाएको बेलामा विनासम्भोग क्रिया वीर्य स्वतः स्खलित हुनु हो । तपाईंको हकमा पनि यस्तै भएको हो । धेरैजसो स्वप्नदोष कामुक सपनाको कारणबाट नै हुन्छ । विवाह नगरेका युवा तथा लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगरेकामा स्वप्नदोष हुने गर्छ । स्वप्नदोष सामान्य प्राकृतिक प्रक्रिया भएकाले डराउनुपर्दैन ।
यसको उपचारका लागि चिकित्सककहाँ जान पनि आवश्यक छैन । यस्तो समस्या भएकाले राति पिसाब रोकेर बस्नु हुँदैन । कब्जियत छ भने तुरुन्त उपचार गर्नुपर्छ । किनभने, कब्जियतले पनि स्वप्नदोषको मात्रालाई बढाउन सघाउँछ । विवाह भएपछि हुने नियमित सम्भोगले यो समस्या आफैँ हटेर जान्छ । हस्तमैथुनले पनि यसलाई हटाउन मद्दत गर्छ । अश्लील साहित्य नपढ्नु, ब्लू फिल्म नहेर्नु, स्त्रीहरूको सम्पर्कमा धेरै नबस्नु, प्रेम र यौनसम्बन्धी कल्पना नगर्नु स्वप्नदोषबाट बच्ने उपाय हुन् ।
प्रकाशित: ३१ श्रावण २०७३ ०६:४४ सोमबार





