त्रिभुवन विश्वविद्यालयको सिनेट प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएपछि सत्तारूढ दल नेपाली कांग्रेसकै विद्यार्थी संगठनले आपत्ति जनाएको छ। कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) एक विज्ञप्ति निकाल्दै आपत्ति जनाएको हो।
नेविसंघले विद्यार्थीको सहभागिताबिनै बालुवाटारमा बस्ने सिनेट बैठक अमान्य हुने भनेको छ। यस्तै मेरिटोक्रेसीबिनै उपकुलपति नियुक्त गरेको विषयमा पनि नेविसंघले निन्दा गरेको छ।
‘देशभरका क्याम्पसहरूमा छात्रछात्राले मेरिटोक्रेसी प्रणालीको समर्थन गरिरहेकै बेला प्रधानमन्त्री तथा कुलपति ज्यूले सिफारिसको भरमा उपकुलपति नियुक्त गर्नु निन्दनीय छ । उपकुलपति नियुक्त हुनु आश्चर्यजनक छ,’ नेविसंघले भनेको छ, ‘विश्वविद्यालयको सुधारमा कुलपति, सहकुलपतिको मात्रात्मक भूमिकाको अपेक्षा गरिराखेको समयमा उहाँहरूको ध्यान आफ्नो नियन्त्रण कायम गर्नमा मात्र देखिनु दुःखद विषय हो ।’
यस्तै विद्यार्थीको अधिकार कुण्ठित गर्ने नियतले डाकिएको विश्वविद्यालय सभा बैठक न त विद्यार्थीको पक्षमा हुने र न त शैक्षिक वातावरण निर्माण वा गुणस्तरीय अनुसन्धानमा केन्द्रित हुने नेविसंघले टिप्पणी गरेको छ ।
‘विश्वविद्यालयको प्रमुख सरोकारवाला विधिवत् निर्वाचित प्रतिनिधिहरूलाई सहभागी नगराई गरिएको यस्तो बैठक केबल अलोकतान्त्रिक र अपारदर्शी मात्र नभई सम्पूर्ण विद्यार्थी समुदायप्रतिको गम्भीर अपमान पनि हो,’ नेविसंघ अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
विद्यार्थीहरूका आवाजलाई बेवास्ता गरिए चरणबद्ध सशक्त आन्दोलनमा उत्रने पनि नेविसंघले चेतावनी दिएको छ।
प्रकाशित: २६ असार २०८२ १३:५३ बिहीबार





