२० पुस २०८२ आइतबार
image/svg+xml
शिक्षा

जुम्ला क्याम्पसमा तीन संकाय विस्तार

साविक कर्णाली क्षेत्रमा उच्च शिक्षाको मेरुदण्डका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एक मात्र आङ्गिक क्याम्पस जुम्ला बहुमुखी क्याम्पसले शैक्षिक रूपान्तरणको नयाँ चरणमा प्रवेश गर्ने तयारी गरेको छ।

दशकौँदेखि सीमित संकायमै शिक्षण गर्दै आएको क्याम्पसमा स्नातक तहका तीन नयाँ संकाय र बहुप्रतीक्षित विषयहरू थपिने निर्णय भएको छ। जुम्ला बहुमुखी क्याम्पसको आयोजना तथा जिल्ला समन्वय समितिको पहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, शिक्षाविद्, नागरिक समाज, पत्रकार र सरोकारवालाको सहभागितामा वर्तमान समयको मागअनुसार संकाय विस्तार गर्ने साझा निर्णयमा पुगिएको हो।

यस निर्णयलाई कर्णालीमै उच्च शिक्षा मजबुत बनाउने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।निर्णयअनुसार स्नातक तहमा कानुन संकाय, मानविकी संकाय र व्यवस्थापन संकाय थपिने छन्। कानुन संकायअन्तर्गत कानुन विषय सञ्चालन गरिनेछ। मानविकी संकायमा आमसञ्चार तथा पत्रकारिता, पर्यटन तथा हेरिटेज, सामाजिक कार्य र मनोविज्ञान परामर्श विषय समावेश गरिने छन्।

यस्तै व्यवस्थापन संकायअन्तर्गत विज्ञान तथा सूचना प्रविधि विषय सञ्चालन गर्ने तयारी गरिएको छ। यी विषयहरू सञ्चालनमा आएपछि जुम्ला र आसपासका जिल्लाका विद्यार्थीहरू कानुन, पत्रकारिता, पर्यटन, सूचना प्रविधि जस्ता समकालीन र रोजगारमुखी विषय अध्ययनका लागि देशका ठूला सहर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। स्थानीय स्तरमै उच्च शिक्षा प्राप्त गर्न पाउने अवसरले कर्णालीको शैक्षिक र सामाजिक रूपान्तरणमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ।

नयाँ संकाय तथा विषय सञ्चालनका लागि सुरुवाती वर्षको आर्थिक दायित्व स्थानीय तहले लिने निर्णय गरिएको छ। प्रारम्भिक चरणमा आवश्यक पर्ने ९४ लाख ५० हजार रुपैयाँ स्थानीय तहले सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्। चन्दननाथ नगरपालिकाले १५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ भने जिल्लाका अन्य सातवटा गाउँपालिकाले जनही १०–१० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।

चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत, हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही, तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई, कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्य र पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले उच्च शिक्षामा लगानी गर्नु जिल्लाको दीर्घकालीन विकाससँग जोडिएको विषय भएको बताएका छन्। अन्य गाउँपालिकाले पनि एकीकृत रूपमा सहयोग गर्ने सहमति जनाएका छन्।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जुम्ला बहुमुखी क्याम्पसलाई कर्णालीको शैक्षिक धरोहरको रूपमा उल्लेख गर्दै यसको स्तरोन्नतिका लागि स्थानीय तह, क्याम्पस र सरोकारवालाबीच देखिएको एकताले सकारात्मक सन्देश दिएको बताए। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले प्रशासनका तर्फबाट आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाए।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष नेत्रबहादुर शाहीले विषय अभावकै कारण जुम्लाका विद्यार्थीहरू आर्थिक र मानसिक दुःख बोकेर सहर पस्न बाध्य भएको उल्लेख गर्दै अब जिल्लामै गुणस्तरीय उच्च शिक्षा सुनिश्चित गर्न स्थानीय तहले देखाएको सक्रियतालाई निरन्तरता दिनुपर्ने बताए। यस्तै नेपाली कांग्रेसका उपसभापति कार्मा बुढा, नेकपा एमालेका नेता आदिप्रसाद न्यौपाने, शिक्षाविद् लोकराज चौलागाई, स्ववियूका निवर्तमान अध्यक्ष महेश हमाल, बुद्धिजीवी तथा पत्रकारहरूले संकाय विस्तारलाई समयसापेक्ष र अपरिहार्य कदम भन्दै सुझाव दिएका थिए।

क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले लामो समयदेखि उठ्दै आएको संकाय विस्तारको मागले अब मूर्त रूप लिने आशा जागेको बताए। उनले भने, 'यो निर्णयले जुम्ला बहुमुखी क्याम्पसलाई नयाँ उचाइमा पुर्याउनेछ, अब ढिलाइ नगरी प्रक्रिया अगाडि बढाउनुपर्छ।'

अन्तरक्रियाबाट संकाय तथा विषय थप्ने कामलाई प्रभावकारी रूपमा अघि बढाउन जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको संयोजकत्वमा पहल समिति गठन गरिएको छ। समितिमा स्थानीय तहका प्रमुख, राजनीतिक दल, नागरिक समाज, पत्रकार र बुद्धिजीवीको सहभागिता रहनेछ।

शिक्षामा लगानीलाई विकासको आधार मानिएको कर्णालीमा जुम्ला बहुमुखी क्याम्पसको यो विस्तारले स्थानीयस्तरमै सक्षम जनशक्ति उत्पादन गर्ने र क्षेत्रीय असमानता घटाउने दिशामा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १४ पुस २०८२ १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App