१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

विपन्न र जेहेनदारलाई मौकैमौका

शिक्षा साेपान

एसइई नतिजा प्रकाशनसँगै यतिबेला मुलुकभरका विद्यार्थी कक्षा ११ मा अध्ययन गर्ने तयारीमा छन्। कुन विषय पढ्ने र कुन शैक्षिका संस्था रोज्ने भन्ने अन्योल विद्यार्थीमा अझै कायमै देखिन्छ। अझ दूरदराजका विद्यार्थी त आफ्ना अभिभावकको आर्थिक पाटो केलाउँदै कलेज छान्नुपर्ने बाध्यतामा छन्।

तर उनीहरूका लागि थोरै भए पनि खुसीको खबर छ। ग्रामीण भेगबाट काठमाडौं आई कक्षा ११ मा अध्ययन गर्न चाहने एसइई उत्तीर्ण विद्यार्थीहरूका लागि काठमाडौं उपत्यकाका विभिन्न शैक्षिक संस्थाहरूले छात्रवृत्तिका थुप्रै अवसरहरू उपलब्ध रहेको बताएका छन्।

शिक्षामा पहुँच र समावेशीता विस्तार गर्ने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, काठमाडौं महानगरपालिका र महानगरपालिका भित्रका केही निजी तथा सामुदायिक शैक्षिक संस्थाहरूले ग्रामीण क्षेत्रका जेहेन्दार, आर्थिक रूपमा कमजोर, विपन्न र सामाजिक रूपमा सीमान्तकृत विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

सामुदायिक विद्यालयहरूले पूर्ण शुल्क छुटसहित छात्रवृत्ति उपलब्ध गराउने गरेका छन् भने निजी शिक्षण संस्थाहरूले सरकारी कोटाका १० प्रतिशतका अलावा शैक्षिक प्रदर्शनको आधारमा २५ देखि १०० प्रतिशतसम्म छात्रवृत्ति दिने प्रचलन छ।

यस्तै छात्रवृत्ति काठमाडौंको रिलायन्स कलेजमा उपलब्ध रहेको प्रधानाध्यापक रवीन्द्र जंग थापाले बताए। उनले कलेजमा भर्ना भएका कुलमध्ये १० प्रतिशत विद्यार्थीहरूलाई छात्रवृत्ति दिइरहेको बताए। ‘हाम्रो कलेजमा भर्ना भएका कुल विद्यार्थीको संख्यामध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिँदै आइरहेका छौँ,’ उनले भने।

शैक्षिक संस्थाका साथै सरकारको तर्फबाट राष्ट्रिय परीक्षा बोर्ड र काठमाडौं महानगरपालिकाले पनि छात्रवृत्ति दिँदै आएका छन्। उनले बोर्ड र महानगरबाट छनोट भएर आएका विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध हुने जानकारी दिए। उनले भने, ‘छात्रवृत्तिहरू सरकारले पनि दिइरहेको छ। राष्ट्रिय परीक्षा बोर्ड र काठमाडौं महानगरपालिकाले पनि दिने गरेको छ,’ प्रधानाध्यापक थापाले भने, ‘यिनै माध्यमबाट छनोट भएर आएका विद्यार्थीहरूलाई हाम्रो कलेजमा छात्रवृत्तिको सुविधा छ।’

उनले कलेजको छात्रवृत्ति नीति मुख्यतः आर्थिक, सामाजिक तथा भौगोलिक दृष्टिले पिछडिएका वा कमजोर वर्गमा केन्द्रित रहेको बताए। जसमध्ये दलित, अपाङ्ग, महिला, आदिवासी–जनजाति, पछि परेका क्षेत्रका विद्यार्थी, संघर्ष प्रभावित र शहीद परिवारका सदस्यहरूलाई विशेष प्राथमिकता दिइएको थापाको भनाइ छ।

यस्तै पिनाकल एकेडेमीले पनि कक्षा ११ बाटै आफ्ना विद्यार्थीलाई छात्रवृत्तिको विशेष व्यवस्था गरेको छ। एसइईको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, कलेजले लिने प्रवेश परीक्षामा सफल विद्यार्थी, गरिव, जेहेन्दार, पिछडिएका क्षेत्र, दलित तथा जनजाति आदि विद्यार्थीलाई समेत छात्रवृत्ति दिने गरेको पिनाकलका प्रधानाध्यापक डा. ऋषि तिवारीले जानकारी दिए।

 उनका अनुसार एसइई परीक्षामा जिपिए ४ ल्याउने सबै विद्यार्थीलाई कक्षा ११ र १२ को परीक्षामा शतप्रतिशत छात्रवृत्ति प्राप्त हुन्छ। त्यस्तै एसइईको परीक्षामा जिपिएका आधारमा ३० देखि १०० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था हुन्छ।

त्यसैगरी कलेजले लिने इन्ट्रान्स परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्तिको व्यवस्था हुन्छ। इन्ट्रान्स परीक्षामा आएको अंकका आधारमा मेरिट लिस्टका आधारमा अन्य विद्यार्थीलाई पनि छात्रवृत्तिको व्यवस्था गर्ने गर्छन्। साथै भौगोलिक विकटता र आर्थिक अवस्था कमजोर भएकाहरूलाई पनि कागजातका आधारमा छात्रवृत्ति दिने गरेको उनले बताए।

त्यस्तै दलित, जनजाति सीमान्तकृत र पिछडिएका जातजातिका विद्यार्थीलाई पनि छात्रवृत्तिको व्यवस्था गरिएको हुन्छ। स्थानीय तहको नियमानुसार प्राप्त हुने अन्य छात्रवृत्ति पनि कलेजले उपलब्ध गराउने प्रधानाध्यापक तिवारीले बताए। छात्रवृत्तिलाई विद्यार्थीको परीक्षाको अंकमा मात्र सीमित राख्न नहुने उनको भनाइ छ।

छात्रवृत्तिका लागि पहिलो प्राथमिकतामा सामुदायिक विद्यालयका विद्यार्थी रहने उनले बताए। ‘सबै विद्यार्थी सहर बजारको हुन्छन् भन्ने हुँदैन। कोही विद्यार्थी दुर्गमबाट आउला तर उसले प्राप्त गरेको अंक कम छ भने उसले छात्रवृत्ति नपाउन सक्छ,’ तिवारीले भने, ‘यस कारण विद्यार्थीले एसइईमा कति अंक ल्यायो भने मात्र हेर्न हुँदैन। परीक्षालाई मात्र आधार मान्न हुँदैन।’

यस्तै प्रधानाध्यापक तिवारीले छात्रवृत्ति उपलब्ध गराउने माध्यम एउटै बनाउने पर्ने बताउँछन्। परीक्षालाई मात्र आधार नमानेर क्लस्टर छुट्याएर छात्रवृत्ति दिनुपर्ने उनको सुझाव छ। उनी भन्छन्, ‘परीक्षालाई आधार मान्ने भए दुर्गमका विपन्न तथा कमजोर बालबालिकाले राम्रो कलेजहरूमा पढ्ने अवस्था नरहन सक्छ।’

यसैबिच काठमाडौं महानगरपालिकाले निजी शैक्षिक संस्थाहरूले उपलब्ध गराउँदै आएको छात्रवृत्ति लक्षित वर्गसम्म पुर्‍याउन र पारदर्शी बनाउन पहल गरिरहेको छ।

प्रकाशित: ३० असार २०८२ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App