२३ पुस २०८२ बुधबार
image/svg+xml
शिक्षा

उत्साह र त्रास बोकेर विद्यालयमा विद्यार्थी

भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आन्दोलनबाट प्रभावित शिक्षा क्षेत्र सोमबारदेखि सुरु भएको छ। एक सातादेखि घरमा उकुसमुकुस रहेका विद्यार्थी विद्यालय आउन पाउँदा फुरुङ्ङ देखिएका छन्।

काठमाडौंको डिल्लीबजारमा रहेको पद्म कन्या विद्याश्रम माध्यमिक विद्यालयमा सोमबार विद्यार्थी, शिक्षक तथा कर्मचारीले बिहानैदेखि भरिभराउ देखिन्थ्यो। विद्यार्थीहरू साथी तथा शिक्षकसँग भेटघाट र रमाइलो गर्न पाउँदा फुरुङ्ङ मुद्रामा देखिन्थे।

विद्यालयले पनि बालबालिकालाई पहिलो दिन, सिधै पढाइ मात्र गराएन, विद्यालयका प्रधानाध्यापक रीता तिवारीले बालबालिकासँग आएका अभिभावकलाई सचेतनामूलक परामर्श समेत दिइन्। शिक्षकहरूले बालबालिकालाई मनोसामाजिक परामर्श, लेखाइ, सान्दर्भिक गफगाफ र कक्षाकोठामा पठनपाठन समेत गराए।

कक्षा ८ अध्ययनरत शिवानी घिमिरे, सोमबार साथी अरुणा महतसँग विद्यालय पुगेकी थिइन्। उनले घरमा बस्नुभन्दा विद्यालय नै रमाइलो लाग्ने गरेको सुनाइन्।

‘साढै नौ बजे विद्यालय प्रवेश गर्नासाथ मनै खुसी भयो। एकसातापछि गुरुहरूसँग भेट्दा र साथीहरूसँग पढाइबारे कुरा गर्दा रमाइलो लाग्यो। स्कुलमा मिसहरूले अब शैक्षिक भ्रमणबारे छलफल पनि गर्नुभयो। घरभन्दा स्कुलै रमाइलो लाग्छ,’ शिवानीले भनिन्, ‘म १३ वर्षकी जेन–जी हुँ। आन्दोलनमा जान पाइनँ। तर आन्दोलन किन र केका लागि भएको हो भन्नेबारे जानकार छु।’

पद्मकन्याकै कक्षा ९ की छात्रा आस्था खनालले सार्वजनिक सम्पति, व्यक्तिगत सम्पत्ति, विद्यालय, कलेज, होटल र घरहरू जलाइएकोमा नमजा लागेको सुनाइन्।

विद्यालय बिहानै पुगेर गरिएको प्रार्थनापछि शिक्षकहरूले बालमनोविज्ञानमा सकारात्मक असर पर्नेगरी खेलकुद गराउँदा स्फूर्त महसुस भएको उनले सुनाइन्।

‘केही बेरको खेलकुदपछि हामीलाई शिक्षकहरूले म्याथ, साइन्स र अंग्रेजी पढाउनुभयो,’ दिदीसँग विद्यालय पुगेकी आस्थाले नागरिकन्यूजसँग भनिन्, ‘अरू बेला म एक्लै स्कुल आउने गर्छु। तर जेन–जीको आन्दोलनपछि स्कुलका मिसहरूले अभिभावकसँग आउनू भनेकाले दिदीसँग आएँ। जेन–जीको भ्रष्टाचार विरोधी अभियान देश र जनताको हितमै छ। तर पछि यो आन्दोलनलाई अरूहरूले अन्य रूप दिएको मलाई राम्रो लागेन।’

उनले थपिन्, ‘किताब र झोला बोकेर गएका साथीहरूको के दोष थियो ? देशलाई भ्रष्टाचारमुक्त बनाउनका लागि उहाँहरू आन्दोलनमा जानुभएको थियो। तर ज्यान गुमाउनुपर्दा मलाई पीडा भयो। अर्कातिर नेताका घर र पैसा जलाउँदा, सिंहदरबार, स्कुल, अदालतलगायत थुप्रै ठाउँ जलाएको मलाई मन परेन। नेताको पैसा र सुनलाई देशविकासमा लगाउनुपथ्र्यो।’

त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयकी कक्षा ६ मा अध्ययनरत छात्रा रिया श्रेष्ठले आन्दोलनका आडमा कारागारबाट भागेका कैदी छिटोभन्दा छिटो कारागारमै फर्काउन आग्रह गरेकी छन्।

१३ वर्षीया रियालाई जेन-जीको आन्दोलनबारे खासै थाहा नभए पनि आफ्नै आँखाअगाडि सुनधारा कारागारबाट कैदी भागेको देख्दा उनी मनोत्रासमा छिन्। ‘आज स्कुलमा खेलकुद र पढाइ भयो। पढाइपछि साथीहरूसँग कुरा गरेर रमाइलो गर्‍यौं,’ उनले भनिन्, ‘तर मेरो दिमागमा भने आँखाअगाडि नै कारागारबाट कैदी भागेका र नजिकैका पसलमा समान लुटेको देख्दा अझै डर लागिरहेको छ।’

कालीमाटीस्थित नीलवाराही माध्यमिक विद्यालयकी कक्षा १० अध्ययनरत छात्रा रञ्जिता योन्जनले आफू विद्यालय आउँदा बालदिवसको उपलक्ष्यमा चकलेट पाएको कुरा खुसीसाथ सुनाइन्।

१५ वर्षीया रञ्जिता जेज–जी आन्दोलनकी सहभागी पनि हुन्। उनले आन्दोलन शान्तिपूर्ण हुने विश्वास लिएकी थिइन्। तर जब भदौ २४ गते व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमाथि आक्रमण र तोडफोड भयो, उनको मनमा पीडा थपियो र आन्दोलनबाट बाहिरिन्।

‘भदौ २३ मा साथीहरूको हत्याले पीडा दिएको थियो। जब भदौ २४ मा स्वयम्भू पुग्दा आफ्नै आँखाले प्रहरी चौकी जलिरहेको देख्दा मनमा पीडा महसुस भयो र म घर फर्कें,’ उनले भनिन्।

नीलवाराही विद्यालयकै कक्षा ७ अध्ययनरत १३ वर्षीय कुन्दन सिंह पनि सोमबार कक्षाकोठामा शिक्षक र साथीहरूसँग भेटेर छलफल गर्न पाउँदा खुसी लागेको अनुभव सुनाए।

‘स्कुलको पहिलो दिन अलिअलि पढाइ र खेलाइका साथै आन्दोलनबारे छलफल भयो,’ उनले सुनाए, ‘आन्दोलनले देशका भ्रष्टाचारी नेताबारे सबैलाई थाह भयो। यसकारण आन्दोलन जरुरी थियो भन्ने हाम्रो विश्लेषण हो।’

पद्मकन्या विद्यालयकी प्रधानाध्यापक रीता तिवारीका अनुसार सातापछि विद्यालय खुल्दा विद्यार्थी, अभिभावक र शिक्षक सबै रमाएका छन्।

‘घरमा बस्दा दिनभरि समाचार हेर्दा नकारात्मक भावना बढेको थियो। हाम्रो विद्यालयमा कक्षा १२ सम्म आठ सय विद्यार्थी अध्ययनरत रहेकामा पहिलो दिन ७० प्रतिशत विद्यार्थीको उपस्थितिले विद्यार्थीहरू पढाइप्रति र अभिभावकहरू आफ्ना नानीको शिक्षाप्रति सचेत रहेको महसुस भयो।’

नीलवाराही विद्यालयकी प्रधानाध्यापक जानुका नेपालका अनुसार सोमबार विद्यालयमा सबै विद्यार्थी हौसिएर उपस्थित भएका थिए। ‘अभिभावकसाथ आएका बाबुनानी र तिनका अभिभावकलाई हामीले सचेतनामूलक परामर्श दियौं,’ उनले भनिन्, ‘घरमा उकुसमुकुस भएर बसेका विद्यार्थी स्कुलमा रमाएका छन्। साथीहरूसँग खेल्न र शिक्षकसँग आत्मीयता साट्न पाएर फुरुङ्ङ बनेका छन्।’

प्रकाशित: ३० भाद्र २०८२ २०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App