८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
शिक्षा

ए लेभलमा छानीछानी पढाइ

ए लेभलमा ६० विषय रहेकोमा नेपालको शिक्षा कानुनअनुसार १५–२० वटा छान्न पाइन्छ

एसइई उत्तीर्ण भएपछि स्वदेशमै विदेशी बोर्डको शिक्षा हासिल गर्नका लागि विद्यार्थीसँग ‘ए लेभल’ राम्रो विकल्प हो। स्वदेश तथा विदेशमा राम्रो अवसर र भविष्यमा रोजगारदाता बन्न पनि पछिल्लो समय विद्यार्थी तथा अभिभावकमा ‘एलेभल’ पढ्ने–पढाउनेप्रति आकर्षण बढ्दै गएको देखिन्छ।

हालै ए लेभल शिक्षा पूरा गरेकी बालाजुकी सिर्जना सुवेदीले अध्ययनपछि आफूमा आत्मविश्वास बढेको बताइन्। ए लेभलको पाठ्यक्रम परम्परागत प्रणालीभन्दा पृथक् तथा सिर्जनशील भएकाले आफ्नो रोजाइमा परेको उनले बताइन्।

‘ए लेभलबाट धेरै कुरा सिक्ने र आफैं उत्तर खोज्ने सिप विकास गर्न सकिन्छ’, सुवेदीले भनिन्’, ‘सैद्घान्तिकभन्दा पनि व्यावहारिक पक्ष नै यसको मुख्य पक्ष हो।’ भर्खरै ए लेभल पढाइ पूरा गरेकी सिर्जनालाई यही शिक्षाले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा समेत राम्रो छात्रवृत्तिमा थप पढाइका लागि सहयोग मिलेको बताइन्। भौतिक विज्ञान, गणित पढ्ने विद्यार्थीले मनोविज्ञान, समाजशास्त्र, अंग्रेजीलगायत विषय पनि पढ्न पाउँछन् तर आफूले अनुवांशिक (जेनिटिक) इन्जिनियर पढ्ने उद्देश्य राखेको उनी बताउँछिन्।

ए लेभल सकेर अमेरिका जाने र त्यहीं स्नातक र स्नातकोत्तर गर्ने उनको सोच छ। सिर्जना मात्र होइन, एसइईपछि ए लेभल पढ्ने अधिकांश विद्यार्थी विदेशमा उच्च शिक्षा हासिल गर्न चाहन्छन्। ए लेभल गर्दा क्याम्ब्रिज विश्वविद्यालयको प्रमाणपत्र पाइने भएकाले यसको दायरा फराकिलो हुन्छ।

माध्यमिक शिक्षामा विज्ञान, मानविकी र व्यवस्थापन संकायअन्तर्गत निश्चित विषय छनोट गरेर अध्ययन गर्नुपर्छ, तर ए लेभलमा आफूले चाहेको विषय छनोट गरेर पढ्न पाइने भएकाले पनि यसप्रति विद्यार्थीको आकर्षण बढेको ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका संस्थापक अध्यक्ष राजेश खड्काको बुझाइ छ।

‘दुई वर्षको माध्यमिक शिक्षा तहमा जति रकम खर्च लाग्छ, ए लेभलमा त्यसभन्दा केही रकम बढी लाग्न सक्छ’, जेम्सका अध्यक्ष खड्काले भने, ‘विद्यार्थीले सिर्जनात्मक तथा गुणात्मक शिक्षा पाउने भएकाले यो खर्चलाई त्यति बढी मान्न मिल्दैन। दुई वर्षको अध्ययनपछि विद्यार्थी सिर्जनशील हुन्छ।’ उनले एसइई नतिजाअगावै ए लेबलमा भर्ना सुरु हुने र एसइई नतिजा कमजोर आए उक्त भर्ना रद्द हुने खड्काले अवगत गराए।

ए लेभल दोस्रो वर्षमा अध्ययनरत अजय पोखरेलले परम्परागत शिक्षाभन्दा पृथक् रहेकाले ए लेभल छनोट भएको बताए। ‘ए लेभल अनुसन्धानमा आधारित छ’, अजयले भने, ‘पाठ्यक्रमभन्दा बाहिर किताब तथा इन्टरनेटमा खोजेर पढ्ने बानीको विकास हुन्छ। पछि विदेशमा पढ्न सजिलो हुन्छ।’ ए लेभलपछि सकेसम्म नेपालमै बसेर एमबिबिएस पढ्ने उनको सोच छ, अन्यथा अमेरिका या अस्ट्रेलियामा गएर पनि उच्च शिक्षा लिने उनको उद्देश्य छ।

कसमस इन्टरनेसनल कलेजका कार्यक्रम म्यानेजर प्रभात क्षेत्रीका अनुसार अमेरिका–युरोपको स्नातक र स्नातकोत्तर अध्यापन विधि ए लेभलसँग मिल्दोजुल्दो भएकाले विदेशमा उच्च शिक्षा लिन सजिलो हुन्छ।

माध्यमिक शिक्षाको दाँजोमा ए लेभलको पाठ्यक्रम तथा शिक्षण पद्घति विकसित स्तरको भएको कार्यक्रम म्यानेजर क्षेत्रीको भनाइ छ। ‘माध्यमिक शिक्षाको पाठ्यक्रम परिवर्तन हुन निकै वर्ष लाग्छ, तर ए लेभलको पाठ्यक्रम भने हरेक दुई–दुई वर्षमा परिवर्तन हुन्छ’, कार्यक्रम म्यानेजर क्षेत्रीले भने, ‘सैद्घान्तिकभन्दा पनि व्यावहारिक ज्ञान बढी हुने भएकाले विद्यार्थीले रुचाएको क्षेत्रमा काम गर्न सजिलो हुन्छ।’ विद्यार्थी आफैंले खोजी गरेर तथा बुझेर पढ्ने भएकाले उनीहरूको क्षमता विकास हुने उनको भनाइ छ।

ए लेभल पढाइ सुरु भएपछि नेपालको उच्च शिक्षाको स्तर वृद्घि भएको यस क्षेत्रका सम्बद्ध व्यक्तिहरू बताउँछन्। जेभियर इन्टरनेसनलका संस्थापक अध्यक्ष भण्डारी भन्छन्, ‘ए लेभल पढेका नेपाली विद्यार्थीले विश्व बजारमा अन्य विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्छन्। धेरै विद्यार्थी छात्रवृत्ति पाएर बाहिर गएका छन्।’  

ए लेभलपछि नेपालमै उच्च शिक्षा अघि बढाउन चाहेमा पनि यसले माध्यमिक शिक्षा बराबर मान्यता पाउने उनको धारणा छ। ए लेभल अध्ययनका क्रममा मेहनत तथा खोज गर्ने बानीको विकास हुने भएकाले उच्च शिक्षामा राम्रो नतिजा ल्याउन सकिने उनी बताउँछन्।

ए लेभल पढाइ महँगो हुन्छ भन्ने मान्यता रहे पनि यथार्थमा यो सही नभएको ए लेभल कलेज सञ्चालकको भनाइ छ। ए लेभलको परीक्षा प्रणाली लचक र सजिलो छ। परीक्षामा राम्रो ग्रेड ल्याउन नसकिए पुनः परीक्षा दिन सकिन्छ। कुनै विद्यार्थीले ए लेभल र एटु लेभलको तयारी एकै वर्षमा गरेमा पनि एकैपटक परीक्षा दिन मिल्छ।

माध्यमिक तथा उच्च शिक्षा सञ्चालक संघ नेपाल –हिसानका अध्यक्ष एवं ह्वाइट हाउस कलेजका सञ्चालक युवराज शर्माका अनुसार ए लेभलमा समाविष्ट सैद्घान्तिक तथा व्यावहारिक अभ्यासले विद्यार्थीको सिकाइ प्रभावकारी हुन्छ। ‘उच्च शिक्षाका क्रममा विदेश गई प्रतिस्पर्धा गर्न धेरै सजिलो हुन्छ’, अध्यक्ष शर्माले भने, ‘बाहिर जानेक्रममा भिसाका लागि आवेदन दिँदा पनि इन्टरनेसनल मान्यता क्याम्ब्रिज भन्नेबित्तिकै पक्कै सजिलो हुन्छ।’ ए लेभलपछि उच्च शिक्षाका लागि विदेश जाने मेधावी विद्यार्थीलाई धेरै अवसर प्राप्त हुन्छ। नेपालभन्दा पनि बाहिरी मुलुकमा ए लेभलमा समाजशास्त्र, मनोविज्ञान र व्यवस्थापनको ‘अवसर’ राम्रो भएको उनले बताए।

‘ए लेभलमा रचनात्मक तरिकाबाट पढाइका साथै वैज्ञानिक पद्घतिबाट विद्यार्थीको मूल्यांकन गरिने भएकाले यसप्रति आकर्षण बढेको हो’, उनले थपे, ‘वर्षमा दुईपटक मे–जुन तथा अक्टुबर–नोभेम्बरमा ए लेभलको परीक्षा दिन पाइन्छ। आफ्नो ग्रेड सुधार्न पुनः परीक्षा दिन पाउनु यसको सुन्दर पक्ष हो।’

मुलुकभर ए लेभल पढाउने शिक्षण संस्थाको संख्या बढ्दै गएको ब्रिटिस काउन्सिलले जनाएको छ। नेपालमा कलेज तथा इन्स्टिच्युट गरी ३२ वटा संस्थामा ए लेभल पढाइन्छ। उपत्यकामा २६ र उपत्यकाबाहिर पोखरामा ३, बुटवल, विराटनगर र चितवनमा १–१ गरी ६ वटामा ए लेभलको पढाइ सञ्चालन हुँदै आएको छ। ‘ब्रिटिस काउन्सिलसँगको पार्टनरमै सञ्चालनमा रहेको ए लेभलका १४ वटा शैक्षिक संस्था सञ्चालनमा छन्’, ब्रिटिस काउन्सिलकी क्लस्टर सञ्चालक प्रबन्धक सुचित्रा श्रेष्ठले भनिन्, ‘विश्वका १९० देशमा ए लेभलको पठनपाठन हुन्छ।’

ए लेभल पढाउने कलेजको अनुगमन, परीक्षा सञ्चालन र मूल्यांकन काउन्सिलले गर्दै आएको छ। ए लेभलको पाठ्यक्रम निर्माण तथा मूल्यांकन क्याम्ब्रिज विश्वविद्यालयले गर्दै आएको छ। काउन्सिलले जनाएअनुसार एक सय ७० वटा देशमा ए–लेभलको पढाइ हुन्छ। विश्वको प्रतिष्ठित विश्वविद्यालय तथा कलेजले मान्यता दिएका ए लेभलको जनरल सर्टिफिकेट अफ एजुकेसन (जिसिई) अन्तर्गत पठनपाठन हुन्छ।

प्रकाशित: ८ जेष्ठ २०८३ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App