शीतलहरसँगै बढ्दो जाडोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै खजुरा गाउँपालिकाले यहाँका विद्यालयमा तीन दिन पठनपाठन बन्द गर्ने भएको छ।
गाउँपालिका शिक्षा समितिको मंगलबार बसेको बैठकले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
विद्यालयका प्रशासनिक काम भने सञ्चालन गर्ने व्यवस्था गरिएको छ। १२ गते शनिबार पर्ने भएकाले यहाँका विद्यालय आइतबारदेखि सञ्चालन हुने छन्।
पछिल्लो केही दिनदेखि खजुरा क्षेत्रमा बाक्लो हुस्सु र अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ। बिहान–साँझ यात्रुका साथै विद्यालय जाने बालबालिकाहरूलाई आवतजावतमा निकै कठिनाइ हुँदै आएको अभिभावकहरूले बताएका छन्।
बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विद्यालय बन्द गर्ने निर्णय लिइएको गाउँपालिकाले जनाएको छ।
वरिष्ठ शिक्षा अधिकृत खगेन्द्रबहादुर मल्लका अनुसार चिसोका कारण बालबालिकामा स्वास्थ्यसम्बन्धी जोखिम बढ्ने अवस्था देखिएकोले अस्थायी रूपमा पठनपाठन रोकिएको हो।
‘विद्यालयमा आउने–जानमा समस्या भएको र ज्वरो, रुघाखोकीजस्ता समस्या देखिन थालेपछि विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो,’ मल्लले जानकारी दिए।
यसबीच विद्यालय प्रशासनलाई आवश्यक प्रशासनिक काम निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ। अभिभावकलाई पनि बालबालिकाको स्वास्थ्यमा ध्यान दिन र अत्यधिक चिसोमा घरबाहिर नझिक्न अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ।
शीतलहरका कारण विद्यालय बन्द हुने क्रम पश्चिम तराईका विभिन्न स्थानीय तहमा निरन्तर भइरहेको छ। स्थानीय तहहरूले आवश्यकताअनुसार थप व्यवस्था मिलाउने जनाएका छन्।
प्रकाशित: ८ पुस २०८२ २०:०९ मंगलबार





