कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएपछि खल्लास्थित भीमदत्त स्मृति आधारभुत विद्यालयमा पठनपाठन बन्द भएको हो ।
विभिन्न स्थानमा सडकमाथिबाट आएको पहिरोका कारण विद्यार्थीलाई विद्यालय आवागमनमा समस्या हुने भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका शिक्षक सुरज जोशीले जानकारी दिए । ‘सडकका विभिन्न स्थानमा पहिरो आएको छ, आवतजावत गर्न निकै समस्या छ’ उनले भने, ‘नियमित सडक सञ्चालन नभएसम्म विद्यालयमा पठनपाठन गर्न सकिने अवस्था छैन ।’
‘यहाँको दुर्गम बस्ती खल्ला, मसेट्टी र टुँडिखेलको भौगोलिक बनावट पहाडी भेगको जस्तै छ । महेन्द्रनगर सदरमुकामबाट यहाँ पुग्न चुरे भएर बग्ने १३ वटा खहरेखोला तर्नु पर्दछ । यहाँ वर्षा हुँदा खोलामा आउने बाढीका कारण पनि विद्यार्थीहरूलाई आवागमनमा सास्ती हुन्छ’ जोशीले भने ।
आइतबारदेखि भारी वर्षा भइरहेकाले सडकमाथिबाट आएको पहिरोले भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी जाने सडक र विद्युत सेवा अवरुद्ध भएको भीमदत्त–९ का वडाध्यक्ष गगन सिंह कार्कीले जानकारी दिए ।
कञ्चनपुरको दुर्गम भेगका रूपमा चिनिने भीमदत्त नगरपालिका–९ को खल्ला, मसेट्टी र टुँडिखेल विकासका पूर्वाधारबाट पछाडि परेको छ । उक्त बस्तीमा चार सय ७० परिवारको बसोबास छ । वर्षातमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा यहाँका स्थानीयले सास्ती खेप्दै आएका छन् ।
प्रकाशित: १८ भाद्र २०८२ २१:३४ बुधबार





