प्रधानमन्त्री बालेन्द्र शाहले २५७० औ बुद्ध जयन्तीको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत शुभकामना व्यक्त गर्दै ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो’ भनेका छन्।
उनले शुभकामना दिँदै भनेका छन्, ‘बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।” बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो होस जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।’
उनले अगाडि भनेका छन्, ‘शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्म जयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ। साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो । बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना। अप्प दीपो भवः।’
शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्।
प्रकाशित: १८ वैशाख २०८३ १०:५६ शुक्रबार





