काठमाडौं महानगरपालिका नगर शिक्षा समितिले २०७४ साल यता गरेका निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्ने भएको छ। समितिले सामाजिक परीक्षणलाई आगामी कार्यक्रम तर्जुमाको आधार बनाउन जोड दिएको छ।
सोमबार बसेको बैठकले शैक्षिक तथा प्रशासनिक सुव्यवस्थाका लागि ६ वटा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति जनाएको छ। साथै, विद्यालय व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको छ।
नाम परिवर्तनका लागि निवेदन दिएका ६, स्थान परिवर्तनका लागि ४ र स्वामित्व परिवर्तनका लागि ३ वटा विद्यालयका विषयमा हकदावीका लागि सार्वजनिक सूचना प्रकाशित गर्ने विषयमा छलफल गर्दै ३५ दिनभित्र कुनै दावी वा उजुरी नआए मागअनुसार अनुमति दिने निर्णय गरिएको छ।
बैठकले शिक्षा अधिकारीको अध्यक्षतामा संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क निर्धारणका लागि ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।
यसैगरी बैठकमा शिक्षक दरबन्दी मिलान तथा स्थानान्तरण, विषय थप अनुमति, महानगरपालिकाले उपलब्ध गराएका स्मार्ट बोर्डको प्रभावकारी प्रयोग, प्रयोगकर्ता शिक्षकलाई ‘क्रियटर’ बनाउने तथा बोर्ड प्रयोग निर्देशिका तयार गर्ने विषयमा छलफल भएको थियो।
सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अंग्रेजी भाषाको सिकाइ र प्रयोग बढाउने, ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमलाई कक्षा १०, ११, १२ तथा कक्षा १, २ र ३ सम्म विस्तार गर्ने विषयमा पनि छलफल गरिएको छ।



प्रकाशित: १० चैत्र २०८२ ०७:४८ मंगलबार





