इटहरी उपमहानगरपालिका–२० स्थित किड्स ह्याप्पी होमका साना विद्यार्थीहरू मंगलबार फरक भूमिकामा देखिए।
सधैं किताब र कापीमा व्यस्त रहने विद्यार्थीहरू मंगलबार भने तरकारी व्यापारीको रूपमा स्कुल परिसरमै तराजु र ढक लिएर बसेका थिए।
विद्यार्थीलाई किताबी ज्ञानका अलवा व्यावहारिक सीप सिकाउने र श्रमप्रति सम्मान जगाउने उद्देश्यले विद्यालयले मंगलबार ‘तरकारी बिक्री’ कार्यक्रम आयोजना गरेको हो।
अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले आफैंले बजारबाट तरकारी खरिद गरी ल्याएर अभिभावक तथा स्थानीय बासिन्दालाई बिक्री गरेका हुन्।
विद्यालयकी प्रिन्सिपल रिता भुसालले विद्यार्थीलाई उत्पादनसँग जोड्न र स्थानीय पाठ्यक्रमको मर्म अनुसार व्यावहारिक ज्ञान दिन यस्तो अभ्यास गराइएको बताइन्।
‘पढाइ सकेपछि विद्यार्थीहरू काम गर्न सक्षम होऊन् र व्यवहारमा लागू गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो,’ प्रिन्सिपल भुसालले भनिन्।
दिउँसो १ बजेदेखि ३ बजेसम्म विद्यालय परिसरमै राखिएको तरकारी बजारमा अभिभावक र गाउँलेको बाक्लो उपस्थिति रहेको थियो।
विद्यार्थीहरूले उत्साहका साथ तरकारीको मोलमोलाइ र बिक्री गरेका थिए। बजारबाट खरिद गरेर ल्याइएको सबै तरकारी छोटो समयमै बिक्री भएको थियो।
कक्षा ३ मा अध्ययनरत छात्र आयन न्यौपानेले विद्यालयको समन्वयमा आफूहरूले तरकारी बिक्री गरेको र यसबाट नयाँ कुरा सिक्न पाएको अनुभव सुनाए।
हेराैं तस्बिरहरु, सबै तस्बिर: अमर खड्का







प्रकाशित: ८ पुस २०८२ १९:४५ मंगलबार





_-600x400.jpg)