२९ मंसिर २०८२ सोमबार
image/svg+xml
शिक्षा

आर्थिक अभावले क्याम्पस सञ्चालन गर्नै सकस

विकट गाउँका विद्यार्थीलाई उच्च शिक्षा दिन स्थापना भएको निसीभूजी जनता क्याम्पस आर्थिक अभावमा गुज्रिरहेको छ।

सरकारी निकायबाट पर्याप्त बजेट नपाउँदा क्याम्पस सञ्चालनमा समस्या भएको हो। समुदायबाट चन्दा सङ्कलन गरेर सञ्चालित क्याम्पसमा विद्यार्थी पनि घट्दै गएका छन्। ढोरपाटन नगरपालिका-१ खप्तरीबाङमा विसं २०४८ मा स्थापना भएको क्याम्पसमा ग्रामीण क्षेत्रका विद्यार्थी मात्र अध्ययन गर्छन्।

पश्चिम बागलुङको एकमात्र क्याम्पसका रूपमा रहेको यो क्याम्पस आर्थिक अभावका कारण सञ्चालनमा समस्या परिरहेको क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले बताए। क्याम्पसको आन्तरिक स्रोत निकै कम र सरकारी निकायबाट सहयोग नहुँदा सञ्चालनमा समस्या भएको उनको भनाइ छ। क्याम्पस सञ्चालनका लागि मासिक ४ लाख ५० हजार खर्च हुने र आम्दानी निकै कम रहेको आचार्य बताउँछन्।

क्याम्पसको आम्दानी विद्यार्थीबाट उठ्ने शुल्क मात्र हो। ढोरपाटन नगरपालिकाले ९ लाख ६० हजार अनुदान दिए पनि अन्य निकायबाट सहयोग नपाएको उनको गुनासो छ। अहिले क्याम्पसमा शिक्षा, समाजशास्त्र र व्यवस्थापनमा १२० विद्यार्थी छन्, तर उनीहरूबाट उठ्ने शुल्कबाहेक आम्दानीको स्रोत नभएको उनको भनाइ छ। हाल आंशिक २२ र पूर्णकालीन २ गरी २४ प्राध्यापक कार्यरत छन् र तलब खुवाउन निकै समस्या हुने आचार्य बताउँछन्।

क्याम्पस सञ्चालक समिति अध्यक्ष शान्तराज शर्मा न्यौपानेले पश्चिम बागलुङका निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाले बर्सेनि सहयोग गरे व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने बताए। चारवटै पालिकाको केन्द्रमा पर्ने यो क्याम्पसलाई ढोरपाटन नगरपालिकाबाहेक अन्य पालिकाले चासो नदिएको उनको गुनासो छ। बजेट अभावमा राम्रो शिक्षक राख्न नसकेको भन्दै केन्द्र र प्रदेश सरकारलाई सहयोगका लागि अपिल गरेको न्यौपाने बताउँछन्।

जिल्लाका अन्य क्याम्पस विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुग्दा निसीभूजी जनता क्याम्पसमा भने विद्यार्थीको कमी छैन। क्याम्पसको आर्थिक स्रोत नहुँदा विद्यार्थीले महँगो शुल्क तिर्नुपर्ने अवस्था छ। रासस

प्रकाशित: ११ आश्विन २०८२ ०८:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App