काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।
विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो।
समितिद्वारा जारी सूचनाअनुसार पहिलो पटक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन पेस गर्नुपर्नेछ।
आवेदकहरूले शिक्षा तथा खेलकुद मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको लिंकमार्फत अनलाइन दरखास्त दिन सक्ने व्यवस्था मिलाइएको छ।
उपकुलपति नियुक्ति प्रक्रियालाई ‘काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८३’ बमोजिम पारदर्शी ढंगले अघि बढाइएको समितिले जनाएको छ।
यसअघि गत जेठ १९ गते बसेको काठमाडौं विश्वविद्यालयको सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो।
उक्त उच्चस्तरीय समितिमा राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुंगाना र काठमाडौं विश्वविद्यालयका संस्थापक एवं पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा सदस्यका रूपमा रहेका छन्।
समितिले प्राप्त आवेदनहरूको प्राज्ञिक योग्यता, अनुभव र कार्यक्षमताका आधारमा सूक्ष्म अध्ययन गरी योग्य उम्मेदवारहरूको नाम उपकुलपति नियुक्तिका लागि सिफारिस गर्नेछ।
प्रकाशित: ३ असार २०८३ १५:५८ बुधबार





