२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
शिक्षा

भरतपुर महानगरपालिकाका ४ सय ३८ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

भरतपुर महानगरपालिकाका संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार महानगरपालिकाका ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका हुन् ।  

संस्थागत विद्यालयले विद्यार्थीलाई अनिवार्य दिने छात्रवृत्ति मार्फत भरतपुर महानगरपालिकाले संयोजन गरेर छात्रवृत्ति वितरण गरिएको हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको थियो ।  

यस वर्ष महानगरका विद्यालयले सबैभन्दा बढी छात्रवृत्ति उपलब्ध गराएका छन् ।  भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृत्ति वितरण गरिएको बताइन् ।  

‘विद्यार्थीलाई महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८२ (संशोधनसहित) को दफा ११ को उपदफा (४) बमोजिम छात्रवृत्ति प्रदान गर्न छनोटका लागि इच्छुक विद्यार्थीबाट १५ दिनको समयावधि दिएर अनलाइन आवेदन माग गरिएको थियो,’ उनले भनिन् ‘फारमको आधारमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई निष्पक्ष रुपमा छनोट गरिएको छ ।’ छात्रवृत्तिमा एक जना विद्यार्थीको पनि भनसुन नगरी छनोट नगरिएको उनको भनाई थियो ।

वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको उनले बताइन् । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उनले भनिन् ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसइईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गरे । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेन्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए ।

महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान सङ्कायतर्फ ८ सय ७७ र अन्य सङ्कायका लागि २८४ आवेदन परेको थियो ।

शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छनोट भएका संस्थागत तथा सामुदायिक विद्यालयमा पढेका विद्यार्थीले छात्रवृत्ति पाएका हुन् । आचार्यका अनुसार छनोट भएका ४ सय ३८ विद्यार्थीले कक्षा ११ र १२ दुवैमा छात्रवृत्ति पाउनेछन् । गत वर्ष २ सय ६६ जनाले मात्र कक्षा ११ र १२ मा छात्रवृत्ति पाएका थिए ।

कार्यविधिअनुसार जेहेन्दार एक सय ६२, गरिब तथा विपन्न एक सय ६२, आदिवासी जनजाति ५३, दलित २६, सीमान्तकृत नौ, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते, बेपत्ता परिवार र मधेस आन्दोलनका घाइते १३ जना विद्यार्थी छनोट गरिएको प्रमुख आचार्यले बताए । छात्रवृत्ति पाएका विद्यार्थीले भर्ना र मासिक शुल्क बुझाउन पर्दैन भने अन्य सबै शुल्क विद्यार्थी आफैँले बुझाउनुपर्ने हुन्छ ।

प्रकाशित: २२ श्रावण २०८२ १८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App