कपिलवस्तुमा बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ।
केन्द्राध्यक्ष केन्द्रमा खटी सकेका छन् भने प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित स्थानमा पुगी सकेको छ। शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख चोपलाल बेल्बासेले एसइईको सबै तयारी पूरा भएको जानकारी दिए।
प्रश्न पत्र जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयमा पठाइसकेको छ भने उत्तर पुस्तिका केन्द्रमा पुगिसकेको उनले बताए। सदरमुकाम तौलिहवामा ६ र सदरमुकाम बाहिर २९ वटा केन्द्र छन्। जिल्ला परीक्षा समन्वय समिति र केन्द्राध्यक्षको अभिमुखीकरण सम्पन्न भइसकेका छन्।
जिल्लामा १ सय ७१ विद्यालयका ९ हजार ८ सय ८२ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन्। जसमध्ये नियमिततर्फ ८ हजार ४ सय ३२ र ग्रेडवृद्धितर्फ १ हजार ४ सय ५० जना परीक्षार्थी रहेका छन्।
परीक्षा सुरक्षित निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी समेत परिचालन गरिने जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रजिअ जर्नादन गौतमले बताए।
परीक्षामा ३५ केन्द्राध्यक्ष, ७० सहायक केन्द्राध्यक्ष, ५ सय निरीक्षक लगायत साढे ७ सय जनशक्ति परिचालन हुने छन्।
परीक्षामा मोबाइलसहित डिजिटल सामग्री निषेध गरिएको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख चोपलाल बेल्बासेले बताए। यस्तै चिट, गेस पेपर, गाइड लगायतका सामग्री लगेको पाइएमा परीक्षा रद्द समेत गरिन सकिने उनले बताए।
प्रकाशित: १७ चैत्र २०८२ १८:४३ मंगलबार





