coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

आधारभूत शिक्षा प्रभावकारी बनाउन बाल बचतमा अनुदान

आधारभूत तहको अनिवार्य र निःशुल्क शिक्षा प्रभावकारी बनाउँदै बालबालिकाको कक्षा छाड्ने दर घटाउन सूर्याेदय नगरपालिकाले बाल बचत खाताको अवधारणा ल्याएको छ। नगरले सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्मका सबै बालबालिकाको बैंक खाता खोल्ने र त्यसमा नगरले समेत आर्थिक अनुदान दिने कार्यक्रम ल्याउन लागेको हो।  

सामुदायिक विद्यालयप्रति विद्यार्थी आकर्षित गर्दै विद्यार्थीलाई कक्षा ८ सम्मको पढाइमा निरन्तरता दिने उद्देश्यले कार्यपालिका बैठकले समेत बाल बचतको अवधारणा पारित गरेको नगर प्रवक्ता ख्याम भुजेलले जानकारी दिए। ‘बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना भएर कक्षा ८ पूरा गराउन यो कार्यक्रमले उत्प्रेरित गर्नेछ’, प्रवक्ता भुजेलले भने, ‘अवधारणा कार्यान्वयन गर्न कार्यविधि तयार गरिँदैछ।’

यो अवधारणाअनुसार कक्षा १ देखि ८ सम्मका विद्यार्थीले थोरै रकम आफैं बचत गरी बैंकमा खाता खोल्नेछन्। त्यसमा नगरपालिकाले केही रकम अनुदान समेत दिनेछ। जुन बैंकमा बालबालिकाले खाता खोल्नेछन्, ती बैंकले पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत खर्चिनुपर्ने रकम बालबालिकाकै खातामा उपलब्ध गराउन नगरले आग्रह गर्नेछ। बालबालिकाले दिनहुँ ५ वा १० रुपैयाँ अथवा मासिक रूपमा थोरै रकम आफ्नो खातामा बचत गर्नेछन्। नगर र बैंकले दिएको अनुदान चाहिँ बालबालिकाले कक्षा ८ पूरा गरेपछि मात्रै पाउनेछन्।  

मेयर रणबहादुर राईले बालबालिकामा बचत गर्ने बानी विकास गर्ने, उच्च शिक्षा अध्ययनका बेला आर्थिक सहयोग पुग्ने र कक्षा छाड्ने दर घटाउने उद्देश्यले यो कार्यक्रम ल्याउन लागिएको बताए। ‘यसमा बालबालिकाले धेरै लगानी गर्नुपर्दैन, नगरले बोनस वा उनीहरूको बचतमा ब्याज थपका रूपमा अनुदान दिन्छ तर कक्षा ८ पास नगरी पढाइ छाड्न पाइने छैन’, उनले भने, ‘कक्षा ८ अघि नै कोही विद्यार्थी निजी वा पालिकाबाहिरको स्कुल जान्छ भने उसले थप सुविधा लिन पाउने छैन।’  

मेयर राईले बालबालिकाले आधारभूत शिक्षा निःशुल्क र अनिवार्य पाऊन् भन्ने ध्येयले नगरले बाल बचत कार्यक्रम ल्याएको जनाए। ‘बचतमार्फत् नगरले नै अनुदान दिएर प्रोत्साहन गर्ने भएपछि बालबालिका सामुदायिक विद्यालयमै भर्ना हुनेछन्, उनीहरूले कक्षा ८ सम्म अनिवार्य रूपमा अध्ययन पनि गर्नेछन्, उनीहरूको फजुल खर्च घट्ने छ भन्ने विश्वास छ’, मेयर राईले भने, ‘त्यसका लागि कार्यविधि र योजना बन्न बाँकी छ।’

नगरका २४ विद्यालयको कक्षा १ देखि ८ सम्म ४ हजार ५ सय २१ बालबालिका रहेको नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिए। ‘कक्षा छाड्ने विद्यार्थीको दर २–३ प्रतिशतजति छ तर गरिब र जेहेन्दार विद्यार्थीलाई समेत कक्षा ८ सम्मको पढाइमा निरन्तरता दिन यो कार्यक्रमले सहयोग गर्नेछ’, भट्टराईले भने, ‘कार्यक्रम सञ्चालनको विस्तृत खाका तयार हुँदैछ।’

प्रकाशित: १५ भाद्र २०७९ ०९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App