७ वैशाख २०८१ शुक्रबार
शिक्षा

शिक्षामा सुधारका लागि मेयर बालेनका ६ सूत्र

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरभित्रका सार्वजनिक शिक्षा सुधारका ६ सूत्रीय योजना कार्यान्वयनमा ल्याउन महानगर शिक्षा विभागलाई निर्देशन दिएका छन्।  

जेठ २३ गते मेयर बालेनले महानगर शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी, निजी तथा सरकारी विद्यालय हेर्ने विभागीय प्रमुख, परीक्षाका कर्मचारी, लेखा र प्रशासन प्रमुखलगायत शिक्षासँग सम्बन्धित सबै विभागका कर्मचारीलाई भेटेर दुई घन्टा शिक्षा सुधारकै विषयमा छलफल गरेका छन्।

छलफलमा सार्वजनिक विद्यालयका शौचालय स्तरोन्नतिदेखि विद्यालयमै सीपमूलक शिक्षा उपलब्ध गराउनुपर्ने योजना बनाएर बजेटमा प्रस्ताव गर्न प्रमुख सुवेदीलाई मेयर बालेनले निर्देशन दिएका छन्। छलफलमा मेयर उपमयेर सुनिता डंगोलको पनि सहभागिता रहेको शिक्षा विभाग प्रमुख सुवेदीले बताए।

मेयर बालेनको निर्देशनअनुसार शिक्षा विभागले बुधबारै बजेटमा प्रस्ताव गर्ने नयाँ कार्ययोजना तयार गरेको छ, जसअनुसार महानगरभित्रका कुल ५९ माध्यमिक विद्यालयमा कक्षा हप्ताको एक दिन सीपमूलक शिक्षा उपलब्ध गराइने छ। यी विद्यालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रबाट मान्यताप्राप्त ६ महिने सीपमूलक तालिम व्यवस्था गरिने छ।

‘महानगरभित्र कुल ८९ सार्वजनिक विद्यालय छन्; जसमध्ये ५९ मावि र ३० आधारभूत तह सञ्चालनमा छन्। मेयर साबको निर्देशनअनुसार शिक्षा विभागले यो वर्ष कक्षा ९ का विद्यार्थीका लागि १० वटा सीपमूलक तालिम छनोट गरेको छ।

प्रमुख सुवेदीले नागरिकसँग भने, ‘विभागले पहिचान गरेका हाउस वेल्डिङ, ब्युटिसियन, फेसन डिजनाइजर, सावरीसाधन मर्मत, मोबाइल रिपेयरिङ, डल तथा कुसन मेकिङ, टेलरिङ, प्लम्बिङ, इलेक्ट्रिकल एपेयरेन्स र फर्निचर विषय छनौट गरी प्रस्ताव तयार पारिएको छ।’ उनले थपे, ‘हप्ताको एक दिन नियमित कक्षा सकिएपछि २ घन्टाको समय तालिम दिइने छ।’

सार्वजनिक विद्यालयबाट मावि शिक्षा हासिल गरेका विद्यार्थीले साधारण शिक्षाका साथै सीप पनि सिक्ने छन्। साथै उनीहरू स्वदेश तथा विदेशमा रोजगारका लागि योग्य बन्ने छन्। विद्यालय शिक्षामा सीपमूलक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने मुख्य लक्ष्य नै हो।’

छलफलमा मेयर बालेनले सार्वजनिक विद्यालयका भौतिक अवस्था, पूर्वाधार विकास तथा शैक्षिक स्तरबारे जानकारी लिएका थिए। यसबाट मेयर बालेनले शिक्षा नियमावलीअनुसार देशभरि प्रत्येक वडामा एक नमुना विद्यालय बनाउने नीतिबारे थाह पाए। यो नीतिमा मेयर बालेनले असन्तुष्टि जनाउँदै भने, ‘किन ३२ वडामा एउटारएउटा मात्र नमुना विद्यालय बनाउने ? महानगरका सबै विद्यालय नमुना बनाउने योजना बजेटमा राख्नुस्।’

मेयर बालेनको निर्देशनअनुसार शिक्षा विभाग प्रमुख सुवेदीले ८९ विद्यालयलाई नमुना बनाउने योजना बजेट कार्यक्रममा प्रस्ताव गरेका छन्। मेयर बालेनले महानगरभित्रका सबै सार्वजनिक विद्यालयका शौचालयलाई स्तरोन्नति गरी पाँचतारे होटलका शौचालयजस्तै बनाउन निर्देशन दिएका छन्, जसअनुसार शिक्षा विभागले बजेटको तयारी गरिरहेको छ।

प्रस्तावित कार्यक्रमबारे बताउँदै सुवेदीले भने, ‘महानगरभित्रका १५ विद्यालय जसको आफ्नो जग्गा रहेको र पर्खालबाहिर पनि शौचालय बनाउन सकिने छ। अर्थात् विद्यालयमा दोहोरो शौचालय व्यवस्था गर्न सकिने छ।’ उनले थपे, ‘बाहिरको शौचालय सार्वजनिक हुने छ भने विद्यालय पर्खालभित्रको शौचालय विद्यालयको हुने छ।’

महानगरले हरेक वडामा सामुदायिक सिकाइ केन्द्र स्थापना गर्ने कार्यक्रम स्वीकृत गरिसकेको छ। यो योजनाअन्तर्गत प्रौढ शिक्षा, महिला सीप विकास, सिलाइबुनाइ तालिम, लैंगिक हिंसाबारे चेतनामूलक कार्यक्रम स्थानीय पालिकाहरूले नै सञ्चालन गर्ने छन्। यसअघि यी कार्यक्रम गैरसरकारी संस्थाहरूले सञ्चालन गर्दै आएका थिए।

छलफल भएअनुसार बालबालिकाको किताब राख्ने व्यवस्था स्कुलमै गरिने छ। यसका लागि विद्यालयमा लकरको व्यवस्था गर्नसमेत बजेट निर्माण गर्न महागर मेयर बालेनले निर्देशन दिएअनुसार काम अघि बढेको विभागले जनाएको छ।

काठमाडौं महानगरका सामुदायिक माविमा पढाइका साथै सीपमूलक तालिम अनिवार्य

सबै सामुदायिक नमुना बनाइने

सार्वजनिक विद्यालयको शौचालय स्तरोन्नति गर्ने,

बालबालिकालाई किताबको भारी नबोकाउन लकरको व्यवस्था गरिने

इतिहास, योग, आयुर्वेदजस्ता पौराणिक शिक्षाका साथै विश्वस्तरमा जोड्न सकिने प्रविधिसहितको शिक्षामा जोड

निजी विद्यालयको पनि अडिट गरिने।

‘साना बालाबलिकाले आफ्नो भारभन्दा बढी किताब बोक्नुपर्ने अवस्था कम गर्न सबै सार्वजनिक विद्यालयमा लकरको व्यवस्था गरिने छ’, सुवेदीले भने, ‘बालबालिकाको किताब–कपी लकरमै रहने छन्। गृहकार्यका केही कपी मात्र उनीहरूले घर लैजाने छन्।’ उनले थपे, ‘महानगरभित्रका खेल मैदान नभएका सार्वजनिक विद्यालयका बालबालिकालाई खेल मैदान भएका अन्य विद्यालय वा स्थानीय क्लबसँग सहकार्य गरी खेलकुदमा जोड दिइने छ। यसले बालबालिकाको चौतर्फी विकासमा योगादान पुग्ने छ।’

मेयर बालेनको शिक्षा सुधारको अर्को सूत्र हो– इतिहास, योग, आयुर्वेदजस्ता पौराणिक शिक्षासँग जोड्न सकिने खालको उच्चस्तरीय प्रविधिसहितको कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गर्ने।

‘निजी विद्यालयले मासिक शुल्क असुलेअनुसारको गुणस्तरीय शिक्षा दिएको छ वा छैन; यसको पनि अडिट गरिने छ। मापदण्ड पूरा गर्न नसक्ने निजी विद्यालय बन्द गरिने छ’, सुवेदीले भने, ‘महानगरभित्रका विद्यालयमा प्रारम्भिक बाल्यकाल शिक्षादेखि सूचना प्रविधि शिक्षाको परिचय गराइने व्यवस्था कार्यान्वयन हुन्छ।’ सुवेदीले थपे, ‘अन्तर्राष्ट्रिय विद्यालयलाई राष्ट्रिय विद्यालयसँग सहकार्य गरिने र संस्कृति, जीवनशैली र शिक्षा प्रणाली आदि आदानप्रदान गर्न भगिनी सम्बन्ध सुरु गरिने तयारी पनि शिक्षा विभागले गरिरहेको छ। मेयर बालेनले शिक्षा क्षेत्र सुधारका लागि पर्याप्त बजेट व्यवस्था गरिने प्रतिबद्धता जनाउनु भएको छ।’

प्रकाशित: २६ जेष्ठ २०७९ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App